Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ साधारणसभा : मेगा बैंकसँग मर्जर प्रस्ताव पारित


1.3k
Shares

काठमाडौं । आज बिहान प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औँ साधारणसभाले मेगा बैंक लिमिटेडसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावमा मेगा बैंकको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुनेगरी मर्जर सम्झौता भएको हो ।

मेगा बैंक इन्भेष्टमेन्ट बैंकमा मर्जर भएपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । आजको साधारणसभालाई सम्बोधन गर्नुहुँदै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरु ठूलो, बलिया र सवल हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । ठूला र बलिया बैंकहरुले मात्रै दिगो वृद्धि हासिल गर्न सक्ने र नयाँ कार्यक्षेत्रमा व्यवसाय तथा लगानी विस्तार गरी सेवाग्राहीहरुलाई नवीनतम प्रविधि तथा न्यून लागतमार्फत प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सरोकारवालाहरुको लागि उचित मूल्य सिर्जना गर्न सक्ने विश्वास हामीले लिएका छौं भन्नुभयो ।

उहाँले विगत केही वर्षदेखि बैंकहरुको पूँजीमा प्रतिफल घट्दै गएको र केही वर्ष अगाडिसम्म २० प्रतिशतभन्दा माथि रहेको पूँजी प्रतिफल गत वर्ष ११÷१२ प्रतिशतमा झरेको बताउनुभयो । यस्तो अवस्थामा पूँजीमा उचित प्रतिफलको लागि ठूलो आकारमा व्यापार विस्तारको विकल्प देखिँदैन अध्यक्ष पाँडेले भन्नुभयो ।

अध्यक्ष पाँडेले प्रविधिमा आइरहेको व्यापक परिवर्तन तथा फिनटेक कम्पनीहरुको उदयसँगै परम्परागत बैंकिङ व्यवसायको भविष्य नै चुनौतीपूर्ण भएको छ । साथै, दीर्घकालीन तथा अल्पकालीन समस्याहरु हल गर्नका लागि पनि बिग मर्जर आवश्यकता रहेको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकले पनि बैंकहरुको संख्या घटाउन बिग मर्जरको नीतिलाई जोडतोडले अगाडि बढाइरहेको छ । सोही नीतिलाई अनुशरण गर्दै यस बैंकले आव २०७३/७४ मा एस डेभलपमेन्ट बैंक लिमिटेड, आव २०७५/७६ मा जेबिल्स फाइनान्स लिमिटेड र आव २०७७/७८ मा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभिसकेको छ र बिग मर्जरको प्रयासस्वरुप गत वर्ष मिति २०७८ वैशाख ३० गते मर्जरका लागि हिमालयन बैंकको साधारणसभाबाट मर्जर प्रस्ताव पारित हुन नसक्दा बैंकको २ वर्षभन्दा बढी बहुमूल्य समय तथा मेहेनत खेर गएको तीतो अनुभव पोख्नुभयो ।

उहाँले बैंकहरुमध्ये एक मेगा बैंक नेपाल लिमिटेडसँग मिति २०७९ जेठ २७ गते मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकबाट मिति २०७९ असार २२ गते सैद्धान्तिक सहमति भएको जानकारी गराउँदै भन्नुभयो– ‘दुवै बैंक मर्ज गरी शिघ्रातिशिघ्र एकीकृत कारोबार सुरु गर्न आवश्यक कार्यहरु द्रुतगतिमा अगाडि बढिरहेको छ ।’

छ पटकसम्म अन्तर्राष्ट्रिय ‘बैंक अफ द इयर’ पुरस्कार विजेता नेपाल इन्भेष्टमेन्ट बैंक मेगासँग मर्जर भएपछि पूँजीमा एक नम्बर बैंक बन्ने स्रोतले बताएको छ । मर्जरपछि ५६ अर्ब पूँजी, ३ खर्ब ३० अर्ब ऋण लगानी र ३ खर्ब ६० अर्ब निक्षेप रहने बैंक स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार मर्जरपछि बैंकको तीन सयभन्दा बढी शाखा सञ्जाल हुनेछ भने २७९ वटा एटिएम र करिब ३ हजार ३१५ कर्मचारी हुनेछन् ।

बैंकको सञ्चालक समितिको ५७७औँ बैठकले बैंकको मुनाफाबाट चुक्ता पूँजीमा ७ प्रतिशत नगद लाभांश रु एक अर्ब २८ करोड, १५ लाख २७ हजार ८९३ तथा ४ प्रतिशत बोनस शेयर रु ७३ करोड २३ लाख एक हजार ६५३ गरी कुल ११ प्रतिशत लाभांश रु दुई अर्ब एक करोड ३८ लाख २९ हजार ५४६ वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्