Logo
Logo
कला

‘म कामलाई सम्मान गर्ने मान्छे हुँ’


441
Shares

अहिलेकी व्यस्त मोडल हुन्, तेजुला खतिवडा । उनी फिल्म र म्युजिक भिडियो विधामा सक्रिय छिन् । ‘जस्टफर यु’, ‘द मोष्ट वाण्टेड’, ‘भुल्नै सकिन’, ‘रक्की’जस्ता नेपाली फिल्म अभिनय गरेर चर्चामा आएकी तेजुला पछिल्लो समय म्युजिक भिडियोहरूमा ब्यस्त हुन थालेकी छन् । विवाद र स्क्याण्डमा आउन नचाहने खतिवडा भन्छिन्, ‘मलाई स्क्याण्डल मन पर्दैन । मेरो प्राथमिकता कामप्रति छ ।’

खतिवडा अभिनित पछिल्लो तीज गीतको भिडियो ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर समेटिएको उक्त गीतको भिडियोमा तेजुलासँगै गायिका सहिमाले पनि अभिनय गरेकी छिन् । उनै मोडल तथा अभिनेत्री तेजुला खतिवडासँग दृष्टिको जम्काभेट :


हिजोआज के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरू गरिरहेकी छु । केही समयअघि मात्र म अभिनित ‘पिरतीको लँुडो’ बोलको म्युजिक भिडियो आएको थियो । उक्त भिडियोबाट राम्रो प्रतिक्रिया आयो । हालै गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत ‘पाउजु बजाउँदै’ भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई पनि दर्शक तथा श्रोताले रुचाइदिनुहुन्छ भन्ने अपेक्षा गरेकी छु ।

फिल्मकी अभिनेत्री म्युजिक भिडियोमा ब्यस्त हुनुको कारण ?
काम भनेको सानोठूलो हुँदैन । काम, काम नै हो । म कामलाई सम्मान गर्ने मान्छे हुँ । फिल्म होस् या म्युजिक भिडियो नै किन नहोस्, चित्तबुझ्यो भने उत्तिकै महत्व दिन्छु ।

बीचमा एकाएक कता हराउनुभयो ?
कलाकारिताबाट मात्र जीवनयात्रा सहज नहुने ठानेर बुटिक व्यवसायतिर केही वर्ष व्यस्त हुन पुगेँ । आफ्नो व्यवसाय सम्हाल्ने कामले गर्दा केही समय फिल्म तथा भिडियोमा नदेखिएकी हुँ । हराएकी चाहिँ थिएन । यही क्षेत्रमा थिएँ । कलाकारितामा रमाउने बानी परेपछि चटक्कै छाड्न नसकिने रहेछ । त्यसैले फेरि यही क्षेत्रमा आएँ ।

पछिल्लो समय फिल्म नपाएर भिडियोमा देखिनुुभएको हो ?
म कामलाई ठूलो र सानो भनेर हेर्दिनँ । सानो पर्दालाई पनि उत्तिकै महत्व दिन्छु । किनकि, म कलाकार हुँ । केही फिल्मका लागि पनि कुरा भइरहेको छ ।

म्युजिक भिडियोमा काम गर्दा गीतको गुणास्तर हेर्नुहुन्छ कि हुन्न ?
गुणस्तर भन्दा पनि उक्त भिडियोमा मलाई सुट हुन्छ कि हुन्न भनेर सोच्छु । यदि, मलाई फिट हुनेछ भने मलाई गीत यस्तै हुनुपर्छ भन्ने छैन । लोक गीतदेखि आधुनिक र पप गीतहरूमा पनि मोडलिङ गर्न तयार छु ।

तपाईँका समकालीन कलाकारहरू अधिकांश विदेश पलायन भइसके, तपाईँले प्रयास गर्नु भएन ?
अहिलेसम्म पलायन हुन्छु भनेर सोचेकी पनि छैन । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यता बोकेर हिँडेकी छु । विदेश भ्रमण कामको सिलसिलामा धेरै पटक गरेँ । तर, विदेशमै पलायन हुने मेरो चाहना भएन र छैन पनि ।

विगतको तुलनामा अहिले किन कम फिल्म बन्दैछ जस्तो लाग्छ ?
कोरोना महामारी नआएसम्म ठीकै थियो । धमाधम फिल्म बनिरहेको थियो । तर, जब विश्व नै कोरोना भाइरसले आक्रान्त बन्यो, त्यसपछि नेपाली फिल्म पनि कम बन्न थाल्यो । तैपनि पछिल्लो समय विस्तारै पुरानै लयमा फर्कने क्रममा छ । अर्कोकुरा, हाम्रा दर्शक भनेका हलिउड र बलिउडका फिल्म हेर्ने बानी परेका छन् । त्यसैले फिल्म निर्माण गर्दै क्वालिटीलाई पनि ध्यान दिनपर्ने देख्छु । फिल्म कम बनोस्, तर क्वालिटीका हुनुपर्छ ।

नेपाली फिल्मका दर्शक घट्नुका कारण के हो ?
मलाई चाहिँ नेपाली फिल्मको दर्शक घटे जस्तो लाग्दैन । घटेको पनि छैन । बरु मेकिङमा ध्यान नदिएर हो । राम्रो फिल्मले राम्रै दर्शक पाएको छ । दोष कसको भन्दा पनि फिल्म गुणात्मक र अहिलेका पुस्ताका रुचिका विषयवस्तु समेटिएको हुनुपर्छ । र, हाम्रा दर्शकलाई पनि आफ्नै नेपाली फिल्म हेर्न प्रोत्साहित गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

फिल्म क्षेत्रमा एकले अर्कालाई सम्मान छैन भन्छन् नि ?
हामीकहाँ अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने संस्कारको कमी छ । पक्कै पनि कलाकारबीच आत्मियता नहुनु र विवादित कुराले समाजमा नकारात्मक सन्देश दिन्छ । तर, म भन्छु, एकअर्काको सम्मान गर्न सकियो भने नेपाली फिल्म क्षेत्र अझ बृहत् बन्छ ।

समकक्षी अभिनेत्रीहरूमा कसलाई आफ्नो प्रतिस्पर्धी मान्नुहुन्छ ?
मेरो कोही प्रतिस्पर्धी छैनन् । म यो क्षेत्रमा प्रतिस्पर्धा गर्न आएकी होइन । म आफ्नै सौख र इच्छाले कलाकारितामा लागेकी हुँ ।

कलाकारितामा लागेर के पाउनुभयो ?
रहर र इच्छाले यो क्षेत्रमा लागेकी हुँ । यो क्षेत्रमा लागेर पाएको सबैभन्दा ठूलो उपलब्धी र फाइदा भनेको दर्शकको माया हो । एक जना कलाकारलाई दर्शकको साथभन्दा अरु ठूलो केही छैन । दर्शकको साथ र माया पाएको खण्डमा नाम र दाम आफैँ आउँछ ।

दर्शकलाई के भन्नुहुन्छ ?
दर्शककै माया र हौसलाले यो स्थानमा छु । मलाई अझ माया गरिदिनुहोला । भर्खरैमात्र म लगायतका कलाकार अभिनित तीज गीतको भिडियो सार्वजनिक भएको छ । हेरेर राम्रो वा नराम्रो जे जस्तो लाग्छ, प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्