Logo
Logo

‘रहर पूरा गर्न मोडलिङ सुरु गरेकी हुँ’


567
Shares

गोरखाकी सुशीला थापा मोडलिङमै करिअर देख्छिन् । त्यसका लागि मेहनत आवश्यक रहेको उनी बताउँछिन् । आठ वर्षदेखि मोडलिङ र अभियनमा सक्रिय सुशीला भन्छिन्, ‘मोडलिङ मेहनत र संघर्ष गर्न सक्नेका लागि राम्रो प्लेटफर्म हो, जहाँ नामसँगै दाम हुन्छ ।’ लोकदोहोरी गीतको भिडियोमार्फत मोडलिङ यात्रा थालेकी सुशीला पछिल्लो समय आधुनिक र मोडलिङमा व्यस्त छिन् ।

करिब डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सुशीला फिल्मी अभिनय पनि रुचाउँछिन् । ‘सकिगो नि’लगायतका कमेडियन सिरियलमा अभिनय गरिसकेकी सुशीला सीताराम कट्टेल ‘धुर्मुस’ निर्मित फिल्म ‘म त मर्छु कि क्या हो’मा अभिनेत्रीका रुपमा देखिएकी थिइन् । केही ‘बेस्ट मोडल’को अवार्डसमेत पाइसेकेकी सुशीला रोनाधोनाले भरिएको फिल्ममा अभिनय गर्न रुचाउँछिन् । ‘मलाई स्याड अभिनय रुचाउँछु’ उनी भन्छिन्, ‘तर, परिआए सबै प्रकारको भूमिका निर्वाह गर्न सक्छु ।’ गोरखा सांस्कृतिक समाजको सहकोषाध्यक्षसमेत रहेकी मोडल तथा अभिनेत्री सुशीला थापासँग दृष्टिको जम्काभेट :

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै डान्स क्लास ज्वाइन गरेकी छु । त्यसका साथै म्युजिक भिडियोको काम पनि फाट्टफुट्ट आइरहेका छन् । फुर्सदमा बस्नुपरेको छैन ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?
सानैदेखि मोडलिङप्रति रुचि थियो । तर, मोडल नै हुन्छु भनेर सोचेकी थिइनँ । तर, मोडलिङमा सोचेभन्दा धेरै गरेकी छु । त्यसैले रमाइलो लागिरहेको छ र, खुसी पनि छु ।

मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानैदेखि मोडलिङप्रति रुचि र इच्छा थियो । त्यसैले साथीहरुलाई मोडलिङको अवसरमा आयो भने भन्नु है भन्थे । आफ्नो इच्छालाई मौखिकरुपमा आफैंले प्रचार गर्नेक्रममा मलाई बुटवलबाट एउटा भिडियोका लागि अफर आयो । त्यसपछि अन्य भिडियोमा अफर आउन थाल्यो । रहर र इच्छा पूरा गर्न मोडलिङ सुरु गरेकी हुँ । तर, अहिले निरन्तर यसै क्षेत्रमा छु ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
आठ वर्ष भयो । तर, त्यस बीचमा कोरोना भाइरसका कारण निरन्तर काम गर्ने अवस्था भएन । लकडाउनका कारण झण्डै दु्ई वर्ष मोडलिङ क्षेत्र ठप्प भएको थियो ।

तपाईँ कस्तो गीतमा बढी मोडलिङ गर्नुहुन्छ ?
लोकदोहोरी गीतबाट मोडलिङ सुरु गरेकी हुँ । तर, जब आधुनिक र डान्सिङ गीतको भिडियो गर्न थालेँ, तब मलाई लोकदोहोरी गीतका लागि अफर आउन छाड्यो । आधुनिक गीतमा मोडलिङ गरेपछि मलाई लोकदोहोरीले बिर्सियो ।

तपाईँलाई मनपर्नेचाहिँ लोकदोहोरी कि आधुनिक ?
यही भन्ने छैन । लोकदोहोरी गीतमा मोडलिङ गर्दा त्यही रमाइलो थियो । आुधनिक गीतमा सुरु गरेपछि यही रमाइलो भइरहेको छ । तर, मैले हालसम्म आुधनिकमै बढी मोडलिङ गरेकी छु ।

अहिलेसम्म कति गीतमा मोडलिङ गर्नुभयो ?
ठ्याक्कै यति नै भनेर गनेकी छैन । तर, डेढ सयभन्दा बढी भयो होला । मैले केही सिरियलमा पनि अभिनय गरेकी छु ।

फिल्ममा चाहिँ अफर आएको छैन ?
मैले एउटा फिल्म पनि गरिसकेकी छु । धुर्मुस सुन्तलीले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’मा अभियन गरेकी छु । अहिले पनि केही फिल्ममा कुरा भइरहेको छ ।

फिल्मको विषयवस्तु चुन्नुपर्दा के गर्नुहुन्छ ?
मलाई रोनाधोना भएको फिल्ममा अभिनय गर्ने इच्छा छ । तैपनि, अफर आयो भने सबै प्रकारको भूमिका गर्न तयार छु । गर्न पनि सक्छु ।

मोडलिङमा करिअर बनाउने अवस्था छ कि छैन ?
त्यो भन्नै सकिन्न । मेहनत र संघर्ष गर्न सकियो भने करिअर बनाउन सकिन्छ । त्यस्तै, रातारात भाइरल भइयो भने दाम पनि कमाउन सकिन्छ । यदि, मोडलिङ वा कलाकारितामै करिअर बनाउँछु भनेर सोच्यो भने मेहनत गर्नुपर्छ ।

मोडलिङ पेसाको राम्रो र नराम्रो पक्ष के हो ?
राम्रो पक्ष भनेको मोडलिङबाट नाम र दाम एकसाथ कमाउन सकिन्छ । नराम्रो पक्ष केही छैन । विवादमा आउने भनेको आफूमा निर्भर हुने हो । आफू राम्रो भयो भने दुनियाँ राम्रो हुन्छ ।

कलाकारिता क्षेत्रमा नामसँगै बदनाम कमाउनेहरु पनि छन् नि ?
हुन सक्छन् । मैले भने नि, त्यो आफूमा भरपर्ने कुरा हो । कलाकारिता क्षेत्रमा कतिपय आफूले राम्रो गर्दागर्दै पनि बदनाम गराउने परिपाटी छ । तर, म त्यो परिपाटीबाट टाढा छु ।

आठवर्षे कलाकारिता यात्रामा तपाईँको त्यस्तो कुनै घटना छैन ?
काम गर्दै जाँदा राम्रो नराम्रो पक्षहरु हुन्छन् । म सँग पनि छन् । तर, नराम्रो पक्षलाई राम्रो काम गरेर पेलेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले त्यस्ता कुराहरु इग्नोर गरेकी छु ।

तपाईँ अभिनित चर्चित म्युजिक भिडियो भन्नुपर्दा ?
थप्रै छन् । त्यसमा पनि केही यस्ता गीतको भिडियोमा काम गरेकी छु, जसलाई दर्शकले सदावहार रुचाइदिनुभएको छ । जस्तै, ‘कति माया गर्छौँ’, ‘देखेर सपना’, ‘नाच्ने हो छेउ छेउमा’, ‘कस्तुरी’लगायत छन् ।

मोडलिङमा लागेर के पाउनुभयो ?
मैले नाम पाएकी छु । यो क्षेत्रमा लागेर केही भए पनि सुशीला थापा भनेर चिनिएकी छु । त्यसबाहेक आफूलाई पुग्ने दाम पनि कमाइरहेकी छु ।

तपाईँलाई प्रेम प्रस्ताव कतिको आउँछ ?
आउँछ, प्रेम प्रस्ताव आउनु नर्मल हो । त्यो कसरी लिने भन्ने आफ्नो ठाउँमा छ ।

तपाई्ँको बुझाइमा प्रेम के हो ?
साथ, सर्पोट र जीवन अनि जीवन जिउने आधार हो प्रेम ।

प्रतिक्रिया दिनुहोस्