काठमाडौं । अस्ट्रेलियामा नेपालको एउटा सुन्दर गाउँ बनाइएको छ । पुतली लज, पराजुली कार्पेट्स, दरबाङ फ्रेसहाउस तथा तरकारी पसल अनि पीपल हार्डवेयर पसल बनाइएको छ ।
तरकारी पसलमा काँक्रा, मुला, गाजर, लौका र सुन्तलासँगै मकैको झुत्ता झुण्ड्याएर राखिएको छ । नजिकै नेपाल प्रहरीको गाडी र माउन्ट एभरेस्ट टुर बस पनि छ ।
अस्ट्रेलियामा नेपाली गाउँ बनाइएको यो ठाउँ हो– भिक्टोरिया राज्यको वालहल्ला । त्यहाँ जम्मा २० वटा घर रहेको जनाइएको छ । वालहल्लाको सडकदेखि घर र होटलसम्मलाई दुरुस्तै नेपालजस्तो बनाइएको छ ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित फिल्मको सेटका तस्वीर तथा भिडियोहरूमा बौद्ध धर्ममा आधारित ध्वजा घरहरूमा सजाइएको देखिन्छ । हलिउड फिल्म ‘आइस रोड टू’को छायाङ्कनको लागि यो नेपाली गाउँ बनाइएको हो ।
अहिले यस गाउँमा ‘आइस रोड टू’को छायाङ्कन धमाधम भइरहेको छ । भिक्टोरियाको राजधानी मेलबर्नदेखि झण्डै दुईसय किलोमिटरमा रहेको उक्त क्षेत्रका होटेल लगायतका स्थानीय क्षेत्रलाई नेपालको हिमाली भेगको स्वरूप दिएर गत बुधवारदेखि छायाङ्कन सुरु गरेको हो ।
अभिनेता लियाम नीसन स्टार फिल्मको कथा नेपालसँग जोडिएकाले वालहल्लालाई नेपाली बजारमा परिणत गरिएको अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले जनाएका छन् । वालहल्लामा २४ जनवरीसम्म फिल्मको छायाङ्कन गरिने बताइएको छ ।
यसबाट लगभग ६ सय बढी भिक्टोरियालाई रोजगारी र छायाङ्कनबाट त्यहाँको राज्यको अर्थतन्त्रमा ३० मिलियनभन्दा बढी फाइदा हुने जनाइएको छ । ‘आइस रोड टू’ एक आइस रोड ड्राइभर लियाम नीसनमा आधारित छ, जो आफ्नो भाइको अस्तु सेलाउन माउन्ट एभरेस्ट अर्थात् सगरमाथाको यात्रामा निस्किएका हुन्छन् ।
नेपाल सरकारले बजेट र नीति तथा कार्यक्रममा नेपाललाई विदेशी फिल्म छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने घोषणा गर्दै पनि आएको छ । सरकारले फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना ल्याएपनि त्यो घोषणामा मात्रै सीमित हुने गरेको छ ।
नेपालमा विदेशी फिल्म छायाङ्कन हुँदै नभएको भने होइन, ठूला लगानीमा बनेका हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडीदेखि बलिउडको उचाँइसम्मको छायाङ्कन यहाँ भएका छन् । नेपालमा छायाङ्कन हुने केही विदेशी फिल्महरूमा नेपालकै कथालाई पनि प्रस्तुत गरिएको छ ।
अहिले अस्ट्रेलियाको वालहल्लामा नेपाली गाउँ बनाएर छायाङ्कन भइरहेको ‘आइस रोड टू’को पनि नेपालमै छायाङ्कन गर्ने तयारी गरिएको थियो । तर, यहाँको छायाङ्कन अनुमति लिने झन्झटिलो प्रक्रियाको कारण अस्ट्रेलियामै नक्कली गाउँ बनाएर छायाङ्कन गरिएको बताइएको छ ।
फिल्म छायाङ्कनका लागि नेपाल उपयुक्त गन्तव्य हो । तर, यहाँको झन्झटिलो प्रक्रिया, असहज बाटोघाटो आदि कारण विदेशी मेकर नेपालमा छायाङ्कन गर्न हच्किरहेका छन् । जसले गर्दा यहाँका कला, संस्कृति र भौगोलिक सुन्दरताको प्रचारप्रसार हुन सकिरहेको छैन ।
फिल्मको छायांकनस्थलको प्राथमिकतामा काठमाडौं, पोखरा, इलाम, मनाङ, मुस्ताङ, रारा ताल, तिलिचो ताललगायत पर्दछन् । फिल्मका निर्माता तथा निर्देशकले सुन्दर लोकेसनलाई मात्र क्यामरामा कैद गर्दैनन् ।
स्थानीय कला संस्कृतिलाई पनि फिल्ममा प्रस्तुत गर्छन् । जसले गर्दा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ । त्यसैले फिल्म छायाङ्कनका लागि नेपाल आउने विदेशीका लागि झन्झटिलो प्रक्रिया हटाउनुको साथै उचित वातावरण मिलाइदिन सके पर्यटनको प्रवर्द्धन र प्रोत्साहनमा फिल्म गतिलो माध्यम बन्ने देखिन्छ ।