गायिका मन्जु उपासना डेढ दशकदेखि निरन्तर गायन क्षेत्रमा क्रियाशील छन् । ‘आँधी’ एल्बमबाट सुरु भएको उनको सांगीतिकयात्रा ‘मनको साथी’ हुँदै हालसम्म निरन्तर छ । हेर्दा नायिकाजस्तै चिटिक्क देखिने गायिका उपासना मोडलिङतिर पनि रुची राख्छिन् । ‘ढाँटे मरिजाम’, ‘मुटुमा चोट’, ‘हेर्दाहेर्दै मान्छे’, ‘चोरी चोरी’, ‘दिइसकेँ यो जोवान’, ‘तिमीले घृणा गरेपनि’, ‘किन दुख्छ मुटु मेरो’जस्ता एक सयभन्दा बढी आधुनिक, भाषाभाषी, तथा लोकदोहोरी गाइसकेकी उपासना भन्छिन्, ‘सुरुमा रुची र रहरले गायनमा लागेँ, अहिले पेसा बनाएकी छु ।’ यिनै गायिका मञ्जु उपासनासँग दृष्टिको जम्काभेट :
हिजोआज गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । मेरो नयाँ योजना भनेको गीतसंगीतभित्रै रहेर नयाँ–नयाँ संगीत सिर्जना गर्ने हो । त्यसैअनुरुप काम गर्दै आएकी छु । साथै, एउटा नयाँ गीत बजारमा ल्याउने तयारी गर्दैछु । मेरो संगीत रहेको केही म्युजिक भिडियोहरु बजारमा ल्याउने तयारीका साथै मेरो आफ्नै म्युजिक स्कुल ‘मञ्जरी संगीत पाठशाला’लाई पनि अगाडि बढाउने योजना बनाउँदैछु ।
गीतसंगीतको कर्म कस्तो चल्दैछ ?
अहिलेसम्म गीतसंगीतको काम राम्रै चलिरहेको छ । संगीत सिकाएर हुन्छ कि आफैंले संगीत भरेर हुन्छ । अलि–अलि कार्यक्रमहरु पनि गर्दै आएकी छु । हालसम्म मलाई गीतसंगीत क्षेत्र राम्रै लागिरहेको छ । काम नभएर खाली बस्नुपरेको छैन । अहिलेसम्म संगीतमै व्यस्त छु ।
बजारमा यहाँको गीत कम देखिन्छ नि ?
बेला मौका पारेर आफ्नै लगानीमा गीतहरु निकालिरहेकी हुन्छु । धेरै गीत बजारमा ल्याउन एक्लैलाई गा¥हो हुन्छ । समय मिलाएर बजारमा मेरो गीतहरु आइ नै रहेको छ । अहिले गीतसंगीतको बजार पनि त्यस्तै छ । कुन गीत कतिबेला आयो या कतिखेर गयो पत्तै हुँदैन ।
हालसम्म कति गीत गाउनुभयो ?
मेरो आफ्नै लगानीमा त्यस्तै ८-१० वटा जति ल्याएँ होला । तर, बढीजसो मैले अरुका गीत गाएकी छु । मेरो स्वर रहेका एक सयभन्दा बढी गीत बजारमा आइसकेका छन् ।
बजार हेरेर लगानी गर्न डराउनुभएको हो ?
बजार हेरेर लगानी गर्न डराएको होइन । आफूले सकेको र सक्ने जतिमात्र लगानी गरेर गीत निकाल्ने गरेकी छु । थोरै, तर स्तरिय गीत गाउँ भन्ने मेरो उद्देश्य र इच्छा हो ।
गायिका बन्न कतिको सहज रहेछ ?
गायिका मात्रै बन्छु भन्दा पनि त्यसैबाट केही गर्छु भन्ने गायिकाहरुलाई गा¥हो हुन्छ । किनभने, कि त धेरै चल्नुपर्छ । चल्यो भने मात्र सहज होला । मेहनत गरेर गाएरमात्रै हरेक इच्छा पूरा गर्न धेरै कठिन हुन्छ ।
बजारमा सुनिएजस्तो गायिका बन्दा कस्तोसम्म भोग्नुपर्यो ?
हरेक क्षेत्रमा केही बन्न वा सफलता पाउनका लागि धेरै मेहनत, संघर्ष र दुःख गर्नैपर्ने हुन्छ । कसैले धेरै गर्नुपर्छ त कसैले थोरै । तर, मिहिनेत गर्नैपर्छ । त्यसैअनुरुप म पनि अहिलेसम्म दुःख गरिरहेको छु । संगीत साधनामा दुःखकष्ट भोगियो, आफैंले गीत निकाल्दा कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने चिन्ता सधैं हुन्थ्यो । तर, अरुको कथा सुन्दा लाग्छ, मैले कम दुुःख भोगेको रहेछु ।
गीत गराइदिन्छु भनेर के कस्ता प्रस्ताव आउने गर्छन् ?
अहिलेसम्म मलाई त्यस्तो केही प्रस्ताव आएको छैन । किनभने सायद म पहिले नै आफैंले एकल एल्बम निकालेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ । त्यही भएर हो कि पछिल्लो समय आफ्नै संगीत स्कुल संचालन गरिरहेको छु । अरुलाई सिकाउँछु, आफू निरन्तर साधना गर्छु र गीतमा लगानी गरिरहेको छु । प्रस्ताव गर्न सक्ने आँट नभएर होला, कोही पनि अगाडि आएका छैनन् ।
प्रेम प्रस्ताव त आए होलान् नि ?
त्यो प्रस्ताव लिएर आउने खासै भएनन् । मैले मेरो भविष्य के हो ? भन्ने बुझिसकेको छु । मलाई कस्तो साथी चाहिन्छ भन्ने आफैंले रोजिसकेको छु । त्यसैले प्रेम प्रस्ताव लिएर आउनेहरु बाटोबाटै फर्किए ।
कस्ता गीतसंगीत मन पराउनुहुन्छ ?
आधुनिक, सेन्टिमेन्टल, गजल र लभस्टोरी गीतहरु मलाई मनपर्छ । मैले गाउने पनि बढीजसो आधुनिक र लभसङ नै हो ।
अन्त्यमा के भन्नुहुन्छ ?
नयाँ गीतहरु तयारी गर्दैछु । त्यसलाई बजारमा ल्याउने योजनामा छु । संगीत साधना निरन्तर रहनेछ । संगीत स्कुलमा विद्यार्थीसँगको सहकार्यमा मेरा दिन बिताउने हो । संगीत कर्मलाई जारी राख्दै अगाडि बढ्नेछु । संगीतबाहेक अहिलेसम्म अन्त मन डुलाएकी छैन ।