Logo
Logo

‘काम गरेपछि प्रतिफल पाइन्छ, हतारिनु हुँदैन’


4.5k
Shares

गायिका सुमी पराजुलीले छोटो समयमै सांगीतिक क्षेत्रमा स्थापित भइन् । ‘ए माया डु यु लभ मी’ बोलको गीतमार्फत गायनयात्रा सुरु गरेकी उनी पहिलो गीतबाटै स्रोता तथा दर्शकको माया र हौसला पाउन सफल भएकी हुन् । सुमी भन्छिन्, ‘म भाग्यमानी गायिका हुँ, जबकि पहिलो गीतबाटै दर्शकको अगाध माया पाएँ ।’ करिब सात वर्षदेखि गायनमा संघर्षरत सुमीले हालसम्म थुप्रै गीतमा स्वर दिइसकेकी छन् ।

संगीत क्षेत्रमा सफलता पाउनलाई ‘नियमित अभ्यास’को आवश्यक रहेको उनको भनाइ छ । सिन्धुपाल्चोक लामासाँघुकी सुमी संगीत साधनासँगै अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । हाल ललितकलामा संगीत विषयमा स्नातक अध्ययनत सुमी भन्छिन्, ‘गीतसंगीत क्षेत्रमा साधना अत्यावश्यक छ ।’ पछिल्लो समय नेपाली गीतसंगीत पनि उत्कृष्ट बन्न थालेको सुमीको बुझाइ छ । गायिका सुमी पराजुलीसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । मेरो अध्ययन पनि संगीतमै हो । त्यसैले मेरो पूर्ण समय संगीतमै वितिरहेको छ ।

पहिलोपटक गीत रेकर्डिङ गर्दाको अनुभव ?
मैले पहिलोपटक गाएको गीत हो, ‘ए माया डु यु लभ मी’, जसमा शब्द संगीत मेरा आदरणीय गुरु रेखा पौडेलको रहेको छ । ‘अक्टेप’ नामक सामूहिक एल्बममा पनि उक्त गीत समावेश गरिएको थियो । पहिलोपटक यो गीत रेकर्ड गर्दा एकदमै खुसी भएकी थिएँ । किनकि, गीतसंगीत मेरो सानैदेखिको रुची हो ।

पहिलोपटक आफ्नो आवाज सुन्दा कस्तो लाग्यो ?
सुरुमा त डर लागेको थियो । गीत रेकर्ड भएपछि सबैले राम्रो लाग्यो भन्नुभयो । तब मात्र मलाई नि राम्रो लाग्यो । त्यसपछि सबैले मलाई हौसला दिँदै भन्नुभयो– फरक आवाज छ, भविष्य राम्रो छ ।

गायिका बन्न सुरुमा कति लगानी गर्नुभयो ?
सुरुमा मैले कलेक्शन एल्बममा गाएकी हुँ । त्यसैले सबैको सहकार्य थियो । त्यसमा चाहिँ खासै लगानी लागेन । त्यतिबेला सिडीको जमाना थियो । हामीले लगानी सिडी बेचेरै उठायौँ । अहिलेसम्म सात÷आठ वटा मेरो आफ्नो सोलो गीत ल्याएकी छु । सुरुवाती दिनमा चाहिँ कुनै पनि ठाउँमा आउनलाई लगानी गर्नु आवश्यक ठान्छु ।

गायिका भएपछि रियाज गर्न कतिको आवश्यक छ ?
एकदमै जरुरत छ । गीतसंगीत आफैँमा साधना हो । त्यसैले साधना गरेर आउँदा राम्रो हुन्छ । नियमित अभ्यासमले नै गायनमा सजिलो हुन्छ । म नियमित रियाज गर्छु ।

साधना गर्ने र भाइरल भएर आएका गायक/गायिकामा फरक के छ ?
धेरै फरक हुन्छ । त्यसो त पछिल्लो समय भाइरलबाट धेरै कलाकार जन्मिएका छन् । पहिला मिडिया पनि कम थियो । जब, सोसल मिडियाको बिगबिगी भएर विभिन्न प्लटफर्महरु आया, तब नयाँ प्रतिभाहरूको पनि आगमन भइरहेको छ । तर, सिकेर, बुझेर आउँदा घोडाझैँ रेसमा दौडिन सकिन्छ । कुनैपनि क्षेत्रमा निरन्तरता दिन साधना आवश्यक छ । यो भाइरल भनेको सायद समयको माग होला । आउँछ, जान्छ ।

गीत संगीतमा लगानी गरेजस्तो प्रतिफल छैन भन्छन् नि ?
कर्म गरेपछि फल अवश्य प्राप्त हुन्छ । ढिलो चाँडो मात्र हो । हामी लगानी गरेपछि आजको भोलि प्रतिफलको आश गछौँ । तर, हरेक क्षेत्रमा सफलता पाउन समय लाग्छ । सुरुमा प्रवेश अनि प्रमाणित भएपछि मात्र प्रतिफल प्राप्त गर्न सकिन्छ । पैसा नै कमाउने हो भने अरु क्षेत्रमा पनि छ । गीतसंगीतलाई व्यवसायभन्दा पनि पुजाको रुपमा लिन आग्रह गर्छु ।

गीत गाएरमात्र बाँच्न सकिन्छ ?
धेरै श्रष्टा यसै क्षेत्रलाई पेशा बनाएर अगाडि बढेका छन् । उहाँहरू लामो समयदेखि यो क्षेत्रमा मेहनत गर्दै आइरहनुभएको छ । कतिपय कलाकारले संगीतबाट घरजग्गा जोडिसक्नुभएको छ । यदि, निरन्तर मेहनत र प्रयास जारी नराखेको भए त्यो सफलता मिल्दैनथ्यो होला । धेरै मन डुलाउनुभन्दा एउटै कुरामा दत्तचित्त भएर साधना गर्नु आवश्यक छ । अर्कोकुरा, कलाकारको भविष्य दर्शक÷श्रोतालेको हातमा हुन्छ । उहाँहरूकै माया, सद्भाव र प्रेरणाले अहिले म यहाँ छ्ु ।

गायक/गायिकाको विदेश जाने लर्को चलिरहेको छ नि ?
विदेशीनु आ-आफ्नै बाध्यता होला । पछिल्लो समयमा देशमा आर्थिक मन्दीले गर्दा पनि धेरै कलाकारलाई अप्ठ्यारो पारेको छ । त्यसैले विदेश जानका लागि गायक/गायिका बने भन्न नमिल्ला । म सानैदेखि गीत गुनगुनाउने गर्थे । तर, गीतसंगीतलाई नै करिअर बनाउँछु भन्ने सोचेकी थिइन । साथीभाइको हौसला र प्रेरणाले यस क्षेत्रमा आकर्षित गरायो । भगवानले पनि मलाई साथ दिएको रहेछ । त्यसैले निरन्तरता दिएँ । अहिलेसम्म मैले विदेशिने सोच बनाएकी छैन ।

नेपाली गीतसंगीत अन्तर्राष्ट्रियसम्म जान सक्छ कि सक्दैन ?
नेपाली गीतसंगीतका भाकाहरू उत्कृष्ट छन् । पछिल्लो समय गायक/गायिकाहरू देशविदेशमा कन्सर्ट गर्न जानुहुन्छ । राम्रै भएरै उहाँहरुलाई बोलाएको होला । यसले के प्रमाणित गर्छ भने यदि स्थान पायौँ भने संसारको कुनै पनि स्थानमा हामी अब्बल साबित गर्न सक्छौं । हाम्रो नेपाली भाषाका गीत अन्तर्राष्ट्रिय कलाकारले समेत गाउनुभएको छ । गीतसंगीतमार्फत नेपाली मौलिक संस्कृतिको पहिचान र नेपाली माटोको सुगन्ध चारैतिर फैलाउने काम भइरहेको छ ।

र, अन्त्यमा के भन्न चाहनुहुन्छ ?
भर्खरैमात्र मेरो नयाँ म्युजिक भिडियो ‘चुम्मा चपक्क’ आएको छ । एकपटक सुनेर–हेरेर माया गरिदिनुहोला । लामो अन्तरालपछि फेरि गीत संगीतलाई निरन्तरता दिन आएकी छु । मेरो कमिकमजोरीहरू औँलाइदिनुभयो भने आगामी दिनमा सुधार गर्दै जानेछु । साथै, यहाँहरूको माया र साथको सधैं अपेक्षा राखेकी छु ।

प्रतिक्रिया दिनुहोस्