काठमाडौं । कलाकारिता क्षेत्रमा पाइला राख्दै गरेकी पात्र हुन्, सविना राउत । कलाकारिता र पत्रकारितालाई सँगसँगै डो-याइरहेकी उनी अभिनित लघुचलचित्र ‘रित्तो गाउँ’ले भरखरै उत्कृष्ट सर्टफिल्म जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ ।
म्युजिक भिडियो, लघुचलचित्र, विज्ञापन मोडलिङ र होस्टिङमा काम गरिसकेकी उनले मुख्य पेसा न्यूज एंकरलाई बनाएकी छन् । टिभीको पर्दामा देखिएर बुबाको ठूलो सपना पूरा गरेकी उनको सपना भने ठूलो पर्दामा देखिनु हो । सामाजिक यथार्थ कथावस्तुमा काम गर्न रुचाउने उनै नवकलाकार सविना राउतसँग दृष्टिको जम्काभेट ।
हिजोआज दिनहरू कसरी बिताइराख्नु भएको छ ?
त्यही, त हो डेली रुटिन, अफिस गयो आयो, त्यस्तै भनौँ ।
अफिस भन्नाले ?
म टेलिभिजनमा काम गर्छु । न्यूज एंकर हुँ ।
अनि कलाकारिता ?
अहिले त कलाकारितालाई पार्टटाइम नै भन्नुपर्ला । समय र अवसर मिलेको बेला गर्छु । अहिले मुख्य पेसा त एंकर नै हो ।
कलाकारितामा कसरी लाग्नुभयो ?
सानैदेखि नाच्न खुब मन पराउँथे । त्यसैले सानै हुँदा बुबाले एउटा क्यासेट ल्याइदिनु भएको थियो । क्यासेटमा गीत बजाएर बुबालाई नाचेर देखाउँथे । सुरुवात त्यहीँदेखि भएको भन्नुपर्ला । औपचारिक रुपमा चाहिँ ०७५ सालमा ‘मेरो सपनामा हराउने मान्छे’ म्युजिक भिडियोबाट सुरु गरेकी थिएँ ।
अहिलेसम्म के–के काम गर्नु भएको छ ?
त्यस्तो धेरै काम गरेको छैन । तर, फरकफरक काम गर्ने अवसर पाएको छु । ५-६ वटा म्युजिक भिडियो र तीनवटा लघुचलचित्र काम गरेकी छु । विज्ञापन मोडलिङ र होस्टिङ पनि गरेकी छु । त्यस्तै ‘ए मेरो हजुर–४’ फिल्ममा जुनियर कालकारको रुपमा काम गरेकी छु ।
तपाइँ अभिनीत लघुचलचित्र ‘रित्तो गाउँ’ले अवार्ड पायो, कस्तो महसुस भएको छ ? र, यसमा कस्ता विष्यवस्तु उठाइएको छ ?
आफूले काम गरेको डकुमेन्ट्री सर्ट फिल्मले अवार्ड पाउँदा खुसी त भइहालिन्छ । तर, त्यति धेरै उत्साहित पनि छुइनँ । यो सामाजिक यथार्थ कथामा बनेको छ । रोजगारीका लागि सबै बिदेसिएपछि गाउँघर युवाविहीन बनेको छ । गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेका छन् । रित्तो गाउँमा यही कथा छ ।
यस क्षेत्रमा भविष्य कतिको देख्नुहुन्छ ?
करिअर त जुनसुकै क्षेत्रमा पनि छ । त्यसका लागि संघर्ष, मिहनत र धैर्यता गर्नुपर्छ । तर, आजभोलि कलाभन्दा पनि बढी भ्यूजको महत्त्व हुन थालेको छ । यसले राम्रा कलाकारलाई नराम्रोसँग प्रभाव पारेको छ । यो कला क्षेत्रकै लागि दुःखद कुरा हो ।
तपाईँलाई चाहिँ भाइरल हुन कतिको मन छ त ?
मलाई भाइरल हुनु छैन । भाइरल भनेको त खहरेको खोलाको बाढीजस्तै हो । आज छ, भोलि छैन । भाइरल भएर सबैले चिन्नुभन्दा कलाका थोरै पारखीहरूले चिनुन् भन्ने लाग्छ ।
नयाँ प्रतिभाहरूलाई यस क्षेत्रमा प्लेटफर्म छ कि छैन ?
खासमा प्लेटफर्म त आफूले बनाउने हो । तर, कतिपय कुराहरूमा ‘न टेक्ने ठाउँ हुन्छ, न समाउने हाँगा नै ।’ कोहीले आफ्ना परिवार तथा सम्बन्धका कारण पनि अवसर पाइरहेका हुन्छन् । आफूसँग प्रतिभा हुँदाहुँदै पनि अवसर नपाउँदाचाहिँ प्लेटफर्म दिने कोही हुनुपर्ने रहेछ भन्ने लाग्छ ।
कलाकारितामा लागेर के पाउनुभयो ?
कलाकारितामा लागेर मैले के पाएँ भन्दा पनि मैले के दिएँ भन्ने महत्पूर्णजस्तो लाग्छ । अहिलेसम्म मेरो त्यस्तो योगदान छैन, तर योगदान दिने प्रयासमा छु । यो क्षेत्रमा रहरले लागेकी हुँ । रहरको क्षेत्रमा काम गर्न पाउनु नै मेरो लागि ठूलो कुरा हो ।
टेलिभिजनका चाहिँ कसरी लाग्नुभयो ?
रहरभन्दा ठूलो बाध्यता हुन्छ । बुबाको निधनपछि जिम्मेवारी मेरो काँधमा आइलाग्यो । दिदी विदेशमा, बहिनी पनि सानै । आमालाई मात्रै सबै व्यवहारको भारी बोकाउनु भएन । त्यसैले काम गर्न थाले । काम गर्दै जाने क्रममा टेलिभिजनमा पुगे । र, छोरीलाई टिभीमा हेर्ने बुबाको एउटा ठूलो सपना पनि पूरा गरे ।
कलाकारिता र न्यूज एंकरमा के फरक पाउनु भयो ?
मलाई त यो दुवै क्षेत्र नै उस्तै लाग्छ । टेलिभिजनमा मुख्य भूमिका निर्वाह गर्ने पात्रहरूमध्ये न्यूज एंकर एक हो । न्यूज एंकर विषयवस्तुको गम्भीरयता बुझेर प्रस्तुत हुनुपर्छ । यस कारण समाचार वाचन एक प्रकारको कला होभन्दा फरक पर्दैन भन्ने लाग्छ ।
कस्तो प्रकारको काम गर्न पाएहुन्थ्यो भन्ने लागेको छ ?
मलाई सामाजिक यथार्थ कथावस्तुमा काम गर्न मन लाग्छ । समाज बुझ्ने अवसर पनि हुन्छ । हिरोनीभन्दा पनि कलाकार बन्न मनपर्छ । धेरै होइन, थोरै गर्ने राम्रो गर्ने । त्यसले समाजमा पनि केही सन्देश दिओस् । त्यसमा चाहिँ जस्तोसुकै जोखिम उठाउनु पनि तयार छु ।
समाज परिवर्तनमा कलाकार भूमिका कस्तो रहन्छ ?
हामीले समाजकै यथार्थ कुरालाई कथावस्तु बनाउने हो । कलाकारलाई समाजको एउटा ऐनाभन्दा पनि फरक पर्दैन । समाज परिवर्तनमा कलाको भूमिका कुनै राजनेता वा राजनीतिक शक्तिको भन्दा कम भूमिका हुँदैन । एउटा राजनेताको विचारको प्रभाव सधैँ रहन नसक्ला, तर कलाले पारेको प्रभाव सधैँ रहन्छ ।
यो कला जीवनसँग चाँहि कतिको जोडिँदो रहेछ ?
वास्तवमा हामी अहिले जसरी जीवन जिइरहेका छौँ, त्यो पनि एउटा कला नै हो, बाँच्ने कला । दुखी हुने भनेको जीवन जिउने कला नभएकाहरू हुन् । वैज्ञानिकहरूले भन्ने गरेका छन्– ‘रात हुँदैन, त्यो त प्रकाशको अभाव मात्रै हो ।’ दुख पनि त त्यस्तै हो, खुसीसँग जिउने कलाको अभाव मात्रै हो ।
विवाहबारे चाहिँ सोच्नु भएको छैन ?
विवाह त होला नि एकदिन । विवाह योजना बनाएर हुन्छ जस्तो लाग्दैन । कतिपय कुराहरू कर्मले मात्रै हुँदैन, भाग्यमा पनि भरपर्छ । भाग्यमा कोसँग कहिले हुन लेखेको छ, उसैसँग होला ।
अबको योजनाहरू चाहिँ के-के छन् ?
खासमा जिन्दगी योजनाविना नै चल्दो रहेछ । हामीले जे योजना बनाएका हुन्छौँ, त्यो हुँदैन । तर, पनि मान्छेले योजना बनाउन भने छाड्दैन । मेरा पनि धेरै सोचाइ थिए, ती सब पूरा भएनन् । अहिले पनि केही गर्ने योजना नभएको होइन, छ । तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नु भएजस्तो ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने चाहिँ छैन । बाँकी भविष्यमै देख्नु हुनेछ ।