काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बिभिन्न परिवर्तनमा मंगलादेवी सिंहले खेलेको भूमिकाको स्मरण गरेका छन् ।
बुधबार काठमाडौंमा नेपाल महिला संघ केन्द्रीय कार्यालय निर्माण गरिने नयाँ भवनको शिलान्याश गर्दै सभापति देउवाले मंगलादेवी सिंह व्यक्ति मात्रै नभइ सिंगो संस्था भएको समेत बताए । उनले मंगलादेवीको नाममा भवन निर्माण हुनु खुसीको कुरा भएको जिकिर गरे । भवनको शिलान्याश मात्रै नभइ समयमा नै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापीत गर्नका लागि मंगलादेवी सिंहले खेलेको भूमिकालाई विर्सन नहुने बताए । उनले संविधानबाट प्राप्त गरेको अधिकारहरुलाई सुदृढ बनाउनका लागि सवैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
संघले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बहुप्रतिक्षित भवन निर्माण गर्न लागेको हो । नयाँ भवनमा संघमा स्थापनाकालदेखि आबद्ध भएका महिला नेताहरुको अनुसन्धान केन्द्रको रुपमा जीवनी झल्काउने तस्बिरहरु, इतिहास बोकेका संघर्षका तस्बिर राखिने बताइएको छ ।