जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव सिफारिस भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । यसअघि उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव छ ।
गत फागुनमा उमेरहदका कारण मधेश प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो । तीन सदस्य पदाधिकारी हुने प्रदेश लोकसेवा आयोगमा अन्य एक सदस्य पद अझै रिक्त छ ।