उनी यति धेरै विस्वस्त छिन् । भन्छिन्, ‘मिस नेपालको ताज मै जित्छु ।’ उनीसँग त्यो आत्मविश्वास पनि छ । यसअघि ‘मिस मगर’ र ‘मिस हङकङ नेपाल’को ताज पहिरिसकेकी अञ्जना पुन अहिले ‘मिस नेपाल–२०२४’को उपाधि पोल्टामा पार्ने दाउमा छिन् । हङकङलाई कर्मथलो बनाउँदै आएकी पोखराकी अञ्जना ‘मिस हङकङ नेपाल–२०२४’की विनर हुन् । जसले गर्दा ‘मिस नेपाल–२०२४’का प्रतिस्पर्धा गर्ने अवसर जुरेको हो ।
‘हक्की र फस्र्यौली स्वभाव’की अञ्जना मोडलिङमा पनि रुची राख्छिन् । ‘म बोल्न डराउँदिन’ उनी भन्छिन्, ‘भित्र जेछु, बाहिर पनि त्यही छु । यो नै मेरो विशेषता हो ।’ यही साउन १९ गते हुने ‘मिस नेपाल–२०२४’को ग्राण्ड फिनालेमा २६ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्येकी नवौं नम्बरकी अञ्जना आफूलाई एक नम्बरमा पार्दै ‘मिस नेपाल’को ताज पहिरिने लक्ष्यसहित निखारिरहेकी छन् । अन्तराष्ट्रिय स्टेजमा ताज पहिरिएर नेपालको नाम र शान कमाउने उनको सपना र लक्ष्य रहेको छ ।
अञजना भन्छिन्, ‘मिस नेपाल’हरुले अहिलेसम्म अन्तराष्ट्रिय मञ्चमा उपाधि जित्न सकेका छैनन् । तर, मैले त्यही लक्ष्य लिएकी छु, जसले नेपालको नाम र शान होस् ।’ उनी आफूलाई भाग्यमानी पनि ठान्छिन् किनकि सबैको माया, साथ र हौसला पाएको उनलाई अनुभव भएको छ । त्यसैले पनि उनी कन्फिडेन्टका साथ भन्छिन्, ‘म जित्छु, जित्छु नै ।’ नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतसमेत रहेकी ‘मिस हङकङ नेपाल’ अञ्जना पुनसँग दृष्टिन्युजले गरेको कुराकानी :
दुई महिने ट्रेनिङ सकिनै लाग्यो । कस्तो अनुभव भइरहेको छ ?
मलाई त एकदमै रमाइलो र सजिलो भइरहेको छ । हरेक दिन नयाँ कुरा सिक्ने अवसर मिलेको छ । कति धेरै टपिकमा हामीलाई प्रशिक्षण दिनुभयो । यति धेरै कुराको जानकारी हुन्छ भन्ने थाहा पनि थिएन । तर, म खुसी छु ।
‘मिस नेपाल’मा सहभागी हुने रुची कसरी जाग्यो ?
सुरुमा ‘मिस नेपाल’प्रति रुचीचाहिँ कसरी भयो भने सन् २०१२/०१३ मा पहिलोपटक हेरेकी थिएँ । त्यसबेला सृष्टि श्रेष्ठले जित्नुभएको थियो । उहाँ ‘मिस वल्र्ड’मा भाग लिनु जानुभएको थियो । त्यतिखेरै मलाई लाग्यो कि ‘मिस नेपाल’ भनेको ब्युटिमात्र नभएर ट्यालेन्ट र राम्रो प्लेटफार्म रहेछ । र, पपुलिटी पनि बढ्दोरहेछ भन्ने लागेर रुची जाग्यो । त्यसपछि नै मैले ‘मिस मगर’मा टेस्टका लागि भाग लिएकी हुँ । त्यतिखेर १६ वर्षकीमात्र थिएँ । पछि विस्तारै ठूली हुँदै गएँ । डेडलाइन पनि हुँदै गयो । ‘मिस नेपाल’मा २७ वर्षसम्म मात्र सहभागी हुन पाइन्छ । म २६ वर्षकी भएँ । त्यसैले अब मैले कोशिस गर्नुपर्छ र सोसाइटीका लागि केही गर्न सकिन्छ कि भनेर यसपटक भाग लिएकी हुँ ।
‘मिस मगर’मा सहभागी हुनुअघि ‘मिस नेपाल’मा भाग लिनेबारे सोच्नुभएको थिएन ?
त्यो बेला ‘मिस हङकङ नेपाल’मा चाहिँ भाग लिन्छु भन्ने सोचेकी थिएँ । ‘मिस मगर’ हुँदा १६ वर्षकी मात्र थिएँ । त्यसपछि साथीहरुले ‘मिस हङकङ नेपाल’मा भाग लिन हौसाए । साथीहरुकै दवावले ‘मिस हङकङ नेपाल’मा भाग लिएकी हुँ । ‘मिस नेपाल’मै यसरी सहभागी हुन्छु भन्नेचाहिँ त्यो बेला सोचेकी थिइनँ ।
‘मिस मगर’पछि ‘मिस हङकङ नेपाल’मा भिड्दा सजिलो भयो होला नि ?
हो, ‘मिस मगर’ भइसकेपछि मलाई मोडलिङका लागि अफरहरु पनि आयो । त्यो बेला म्युजिक भिडियोहरु पनि अफरहरु आयो । मोडलिङ गर्दागर्दै कन्फिडेन्ट पनि बढ्यो र मलाई सजिलो भयो ।
‘मिस नेपाल’मा अडिसन दिएर र नदिइ पार्टिसिपेन्ट हुनुभयो ?
‘मिस हङकङ नेपाल’ भएको हिसावले मैले सिधै पाटिसिपेन्ट हुन पाउँथेँ । तर, मैले अनुभवका लागि अडिसन पनि दिएँ । तर, गोपाल कक्षपति सरले तिमी अडिसन दिनु पर्दैन भन्नुभयो । तर, अडिसन दिँदा नर्भस पनि भएँ ।
‘मिस नेपाल हङकङ’ र ‘मिस नेपाल’को टे«निङमा फरक के पाउनुभयो ?
‘मिस हङकङ नेपाल’को अवधि छोटो थियो । त्यहाँ करिब एक महिनामात्र ट्रेनिङ थियो । ‘मिस नेपाल’मा दुई महिना हुन्छ । टेनिङ त दुवै एउटै लाग्यो । खाश केही फरक पाइनँ । दुइटैमा मिहिनेत गर्नुैपर्छ । मलाई गाह्रो पनि भएको छैन । मेरो रुची भएर पनि होला ।
तपाइँ केमा कन्फिडेन्ट हुनुहुन्छ ?
म आफ्नो होमवर्कमा कन्फिडेन्ट छु । म बोल्न डराउँदिन । मलाई नाटक गर्न आउँदैन । अन्य पार्टिसिपेन्टहरु चाहिँ मिस नेपाल भनेपछि शान्ति भएर बस्नुहुन्छ । म भित्र जे छु, बाहिर पनि त्यही देखाउँछु । चुप लागेर बस्न सक्दिनँ
शोसल वर्कमा पनि तपाइँको रुची हो ?
टिचिङ गर्नुअघि म एनजिओमा काम गर्थे । प्लस-२ सक्नवित्तिकै एनजिओमा पार्टटाइम काम गर्न थालेकी हुँ । उक्त एनजिओबाट एचआइभीबारे चेतना जगाउने काम हुन्थ्यो । युथहरुका लागि पनि काम गरेँ । अहिले पनि मलाई सामाजिक कार्यमा रुची छ ।
नेपालमा बसेर सामाजिक कार्य गर्नु परे के गर्नुहुन्छ ?
मिस नेपालमा मेरो प्रोजेक्ट एडभोकेसी नै सेक्स ह्यारेसमेन्ट सम्बन्धी छ । किनकि, म आफैँ पनि हङकङमा परेकी छु । कतिखेर के हुन्छ भनेर थाहै हुँदैन । त्यतिखेर मलाई यस्तो भयो कि मैले केही पनि गर्न सकिनँ । त्यो बेला मेरो मानसिक स्थिति पनि बलियो थिएन । म जस्तै थु्प्रै केटीहरु होला, जसले ह्यारेसमेन्टलाई लुकाएर राखेको होला । मेरो प्रोजेक्टचाहिँ शेल्फ डिफेन्स सिकाउने हो । यसबारे एउटा संस्था छ । उहाँहरुले एकदमै राम्रो काम गरिरहनुभएको छ । उहाँहरु स्कुलमा गएर शेल्फ डिफेन्सबारे सिकाउने खाशगरी मेन्टली प्रिपियर गराउने गर्नुहुन्छ । बाहिर कतै जाँदा नडराउने र फेश गर्न हिम्मत गर्न सकोस् ।
ह्यारेसमेन्टको कुरा गर्नुभयो । कति वर्षको उमेरमा तपाइँमाथि सेक्सुअल ह्यारेसमेन्ट भएको थियो ?
प्लस टु ग्राजु्एट भएपछि काम गर्न थालेँ भने नि । कामबाट एक दिन घर फर्कँदै गर्दा म ट्रेनमा हुँदा एउटा मान्छेले मलाई प्राइभेट पार्ट देखाइरहेको थियो । म त त्यो बेला तर्सेकी थिएँ ।
तपाइँ आफ्नो कल्चरको बारेमा कति जानकार हुनुहुन्छ ?
हो, त्यही आफ्नो कल्चरबारे जान्नका लागि भनेरै मिस मगरमा माग लिएकी हुँ । मिस मगरमा भएपछि त मगर कम्युनिटीको कार्यक्रममा बोलाउनु हुन्छ । प्रोगाममा मगर कल्चरको भेषभूषा राख्नु हुन्छ । त्यसरी नै मगर कल्चरको बारेमा जानकारी लिइरहेकी छु । मगर कल्चरका नृत्यहरु पनि सिकेकी छु ।
‘मिस मगर’ भएपछि आफ्नो कम्युनिटीका लागि के गर्नुभयो ?
म मिस मगर भएको केही समयमै नेपालमा महाभूकम्प गयो । त्यो बेला म स्कुल पढ्दै थिएँ । त्यसबेला चाहिँ मेरो स्कुलको प्रिन्सिपललाई हाम्रो नेपालमा महाभूकम्प गएको छ । हामीलाई डोनेशन चाहिएको छ भने । पैसा माग्नु भएन । कपडाहरु दिनुस् भने । त्यसपछि थुप्रै कपडा डोनेशन आयो । ६ बोरा कपडा कलेक्शन आयो । डोनेशनमा आएको त्यो कपडासहित केही सहयोग मगर एसोशिएसन र मिस मगर टिम मिलेर नेपाल पठाऔँ । मिस मगर टिम राहत बाँड्न नेपाल आयो । म लगायतका केहीले चाहिँ नेपालबाट प्रमोद खरेल लगायतका कलाकार बोलाएर कार्यक्रम ग¥यौँ । त्यो कार्यक्रमबाट संकलन भएको रकम स्कलरशीप भनेर भूकम्पबाट आमाबाबु गुमाएका पीडित बच्चाहरु सहयोग गरेका थियौँ ।
‘मिस हङकङ नेपाल’ बनेपछि के गर्नुभयो ?
‘मिस हङकङ नेपाल’बनेको ५/६ महिनामात्र हुँदैछ । अहिले ‘मिस नेपाल’मा सहभागी भएकी छु । यही नै हो । हङकङक लागि त केही गर्न सकेकी छैन । ‘मिस नपाल’ जिते भने गरेर देखाउने छु ।
नेपाल आउने–जाने कतिको गर्नुहुन्छ ?
खाशै आउँदिन । लास्ट-टाइम कोभिडभन्दा अगाडि २०१८ तिर आएकी थिएँ । भिजिट नेपालमा जानुपर्छ भनेर आएकी थिएँ । तर, ठ्याक्कै कोभिड भयो । म फर्किहाले।
तपाइँ मोडलिङप्रति पनि रुची राख्नुहुन्छ ?
सुरुमा अलि रहर र रुचीले मोडलिङ गरेँ । केही म्युजिक भिडियोहरु पनि गरेँ । सायद एक्टिङ चाहिँ गर्छु होला ।
यदि, अवसर आयो भने कस्तो फिल्ममा काम गर्न चाहनुहुन्छ ?
सुरुमा त सिरियस रोल गर्दिनँ । सुरुमा फ्यानहरुलाई आकर्षित गर्नका लागि पनि रोमान्टिक फिल्ममा काम गर्न चाहन्छु । रियलमा चाहिँ आफैँलाई ‘फन्नी पर्सन’ लाग्छ । तर, फिल्ममा एक्टिङ गर्न चाहिँ समय लाग्छ होला ।
‘मिस नेपाल’को उपाधि जित्छु जस्तो लागिरहेको छ ?
म मा त्यो आत्मविश्वास छ । सबैको माया र हौसला पाइरहेकी छु । यस अर्थमा पनि म आफूलाई लक्की ठानेकी छु । त्यसै पनि मलाई लागेको छ कि मिस नेपालको उपाधि मै जित्छु ।