Logo
Logo

भारतका राज्यमन्त्रीलाई बस दुर्घटनाको ‘ब्रिफिङ’


2k
Shares

काठमाडौँ । आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहेका भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन् ।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पु¥याइएको गृहमन्त्रीले बताए । उनीहरुको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको जानकारी दिँदै मन्त्री लेखकले दुर्घटनाबाट नेपाल सरकार अति दुःखी भएको बताए ।

गृहमन्त्रीले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । उक्त अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ ।

राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरे । ‘दुर्घटना मेरा आफन्तको पनि मृत्यु भएको छ ।’ उनले भने, ‘उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद ।’

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्