काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आज ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फ्ररेन्स फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
मन्त्री राणाले संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्व दिएको र उक्त समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी दिए । उनले नेपाल विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा रहेको पनि स्पष्ट गरे ।
नेपालले आगामी सन् २०२६ सम्ममा अल्पविकसित मुलुक (एलडिसी स्टाटस) को स्तरबाट माथि उठ्ने विषयमा तयारी गरिरहेको र यसका लागि स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटिएस) बनाएको जानकारी दिँदै मन्त्री राणाले एलडिसीबाट स्तरवद्धि गर्ने योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘नेपाल अल्पविकसित मुलुक (एलडिसी स्टाटस) को स्तरबाट माथि उठ्ने कुरा छ । साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि हामी सबै एकताबद्ध हुनुपर्छ । गत महिना मात्र सार्वजनिक एक प्रतिवेदनले नेपालमा दिगो विकासका लक्ष्यहरूमध्ये ४१ प्रतिशत जति पूरा हुने बाटोमै रहेका देखाएकाले यसका लागि सबैको संयुक्त प्रयास जारी रहनुपर्छ’, उनले भने ।
उनले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै यसका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतमा नेपालको नागरिक समाजले पनि योगदान पुर्याउन सक्ने धारणा राखे ।