Logo
Logo

निगमका कार्यकारी अध्यक्षलाई कारबाही गर्ने तयारी  


756
Shares

काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण नेपाल वायु सेवा निगम अन्तर्राष्ट्रिय उडानमा जहाजविहीन अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजमध्ये तीन वटा ग्राउन्डेड छ । व्यवस्थापनको गैरजिम्मेवारीका कारण निगम जहाजविहीन हुने अवस्थामा पुगेको हो ।

जहाज ग्राउन्डेड गर्दै निगमलाई धराशायी बनाएपछि कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले कारबाही गर्ने तयारी  गरेको छ । अधिकारीलाई एकै सातामा तीन स्पष्टीकरण सोधिएको छ । पर्यटनमन्त्री बद्री पाण्डेले दुईपटक र निगमको सञ्चालक समितिले एकपटक स्पष्टीकरण सोधेको हो । 

कार्यकारी अध्यक्ष अधिकारीले सरकारलाई समेत नटेरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री पाण्डेले बुधवार अधिकारीलाई बोलाएका थिए । तर, अधिकारी बैठकमा जानकारी नदिई अनुपस्थित भए । 

यसअघि गत आइतबार पनि मन्त्री पाण्डेले अध्यक्ष अधिकारीलाई बैठकमा बोलाएका थिए । तर, आइतबार पनि अधिकारी अनुपस्थित थिए । दुईपटक बैठकमा अनुपस्थित भएपछि मन्त्रालयले अध्यक्ष अधिकारीलाई  स्पष्टीकरण सोधेको हो ।

दुई वटा वाइडबडी ग्राउन्डेड गरेपछि समितिले कार्यकारी अध्यक्ष अधिकारीलाई गत १३ गते स्पष्टीकरण सोधेको थियो । नजिकिँदै गरेका चाडपर्वकै मुखमा ढिलाइ गर्दै नियमित गर्नुपर्ने विस्तृत मर्मतसम्भार मा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेकोलगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधेको हो । 

जहाज ग्राउन्डेड भएपछि अहिले निगमले दैनिक ४ करोड हाराहारी नोक्सानी बेहोरिरहेको छ । बद्री पाण्डे पर्यटनमन्त्री हुनुअघि अधिकारीले प्रेम आले, जीवनराम श्रेष्ठ, सुदन किराती र हितबहादुर तामाङसँग काम गरिसकेका छन् । सबै मन्त्रीसँग अधिकारीको सम्बन्ध तिक्ततापूर्ण नै रहेको बताइन्छ ।

अधिकारीलाई पाँचवटै मन्त्रीको कार्यकालमा कम्तीमा २१ पटक स्पष्टीकरण सोधिएको छ । सबैभन्दा पहिले पूर्वमन्त्री आलेले ०७९ जेठमा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएको भन्दै अधिकारीलाई तत्कालीन मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो । उनी सर्वोच्च अदालतको अल्पकालीन आदेशबाट निगमको नेतृत्व गर्दै आएका छन् । उक्त मुद्दाको पेसी सरेको सरै छ ।

निगममा ३४ वर्ष काम गरेर ५८ वर्षको उमेरहद मापदण्डअनुसार अवकाशमा गएका अधिकारीलाई नेकपा समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा निगमको नेतृत्व दिइएको थियो । त्यसताका प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई ०७८ कार्तिकमा ४ वर्षका लागि नियुक्त गरेका थिए । अधिकारी आइसकेपछि ४५ अर्ब ऋण व्ययभार रहेको निगमको आर्थिक दायित्व ५३ अर्ब रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्