काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
ओली असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, यूएन तथा अन्तर्राष्ट्रिय संस्थाहरुकाे महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सकलगायत छन् ।