काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक एवं ‘राई इज किङ’ राजेशपायल राईले निर्माणाधीन नेपाली फिल्म ‘वसन्त’को गीत गाएका छन् । जुन फिल्म लोक गायनका स्टार प्रकाश सुपतले निर्देशन गर्दैछन् । आ-आफ्नै स्थानमा दुवै स्टार हुन् । यी दुई स्टारकाे सहकार्यले निर्माणअघि नै फिल्म ‘वसन्त’ चर्चामा आएको छ ।
सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल केही महिनायता म्युजिकल वर्ल्ड टुरका क्रममा छन् । यसैक्रममा केही समय नेपाल आएका बेला उक्त फिल्मका गीतमा स्वर दिएका हुन् ।
‘स्टेज किङ’का राजेशपायल देश विदेशमा सबैभन्दा बढी कार्यक्रम गर्ने गायक समेत हुन् । साथै, पछिल्लो समय पाश्र्वगायनमा समेत उनको एकछत्र राज चल्दै आएको छ । भनिन्छ, ‘राजेशपायलको स्वर विना नेपाली फिल्म अधुरो हुन्छ ।’
प्रकाश सपुत पनि आफैमा राम्रा गायक हुन् । तर, राजेशपायलको जादूमयी स्वरका कारण आफ्नो फिल्ममा गाउन लगाएको सपुतको भनाइ छ । फिल्म ‘वसन्त’को शीर्ष भूमिकामा निर्देशक सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको अभिनय रहने बताइएको छ । फिल्ममा संगीत र पटकथा भने सपुतकै रहने भएको छ ।
फिल्मको टिजरसँगै प्रदर्शन मिति आगामी चैते दशैंलाई तय गरिएको छ । बताइएअनुसार ‘वसन्त’ एक युवाको लेखक बन्ने सपना र लक्ष्यमा आधारित रहेको छ ।