काठमाडौं । गोर्खाली समुदायको लगानीमा रहेका गोर्खाज फाइनान्स लिमिटेडका ९९ प्रतिशत संस्थापक शेयरधनी गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकी विरुद्धमा उभिएका छन् ।
अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरीत काम गरेर आफूहरूको करोडौँको लगानी डुबाउन खोजेको भन्दै संस्थापक शेयरधनीहरु अध्यक्ष बुढाथोकी विरुद्ध उभिएका हुन् ।
गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा गत २९ पुस २०८१ मा अध्यक्ष बुढाथोकीले बोलाएका थिए । तर अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरीत चलाएको भन्दै विरोधको तयारी गरेपछि साधारणसभा छोडेर भागेका छन् ।
शेयरधनी तथा गोर्खा समुदायका अगुवा पुञ्जन मुकारुङ राईका अनुसार २९ पुस २०८१ मा गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा बोलाइएको थियो ।
काठमाडौं बसुन्धाराको एक पार्टी प्यालेसमा १० बजे बोलाइएको साधारणसभामा अध्यक्ष बुढाथोकी, निर्देशक नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा ११ बजेतिर आएका थिए । तर साधारणसभामा उपस्थित सत प्रतिशत सेयर धनी उनीहरूविरुद्ध उभिने सूचना पाएपछि हल छोेडेर भागेका थिए ।
अध्यक्ष बुढाथोकी १२ बजे आउने भनिएपनि एकाएक कम्पनी सचिव दीपक न्यौपानेले साधारणसभा गणपुरक नपुगेको भन्दै स्थगित गरेको सूचना टाँस गरेका थिए । सूचनामा गणपुरक नपुगेको भनेर सूचना टाँस गरेपनि अध्यक्ष संस्थापक शेयरधनी शतप्रतिसत र ८० प्रतिशत भन्दा शेयरधनीहरु उपस्थित थिए ।
अध्यक्ष बुढाथोेकीले गरीरहेको वित्तीय संस्था सम्बन्धी ऐन विपरीत काम विरुद्ध आक्रामक रूपमा उभिने तयारी गरेपछि अध्यक्ष फरार भएको संस्थापक शेयरधनी टंकबहादुर लिम्बुको भनाई छ ।
‘यो संस्थामा हाम्रो रगत र पसिनाको कमाई राखेका छौं । तर उनले वित्तीय संस्था सम्बन्धी ऐन विपरीत डुबाउने प्रयास गरिरहेका छन् । त्यो विरुद्धमा उभिने थाहा पाएपछि उनी फरार भएका छन्,’ उनले भने, ‘अनेकौं शक्तिको आडमा उनले सोझा लाहुरेहरुको आडमा संस्थाको दुरुपयोग गर्न खोजेका छन् । त्यो गर्न हामी दिन्नौं ।’
गोर्खाज फाइनान्स लिमिटेडका ७ सय ४६ जना संस्थापक शेयरधनीहरु छन् । ती मध्ये ७ सय ३७ जना संस्थापक शेयरधनीहरुले विहिबार (२ माघ २०८१)मा विज्ञप्ति जारी गरेर अध्यक्ष बुढाथोकी, सञ्चालक समितिका निर्देशक(पब्लिक) नगेन्द्रकुमार अग्रवाल, निर्देशक (पब्लिक) निलम बोहोरा माथि कारबाहीको माग गरेका छन् । ५ मध्ये दुई निर्देशक कल्पना खापुङ र युवराज राई भने साधारणसभामा उपस्थित भएका थिए । अध्यक्ष बोहोरा सहित निर्देशकद्धय अग्रवाल र बोहोराले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरीत काम गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
चुक्ता पुँजी ८६ करोड रहेको गोर्खाज फाइनान्स लिमिटेडमा गोर्खालीहरुको लगानी रहेको छ । यसैगरी झण्डै ६ अर्व निक्षेप समेत गोर्खाली समुदायको रहेको छ । गोर्खाज फाइनान्स लिमिटेड अध्यक्ष गौरव बुढाथोकि शेयर संख्या जम्मा १९९ कित्ता संचालकद्घय नरेन्द्र कुमार अग्रवालको १४० कित्ता तथा निलम बोहराको १२२ कित्ता रहेको छ । उनिहरु सर्वसाधारण शेयरधनी बाट प्रतिनिधीत्व गर्ने संचालकहरु हुन् ।
सिइओ नियुक्तीमा आर्थिक चलखेलको दाबी सहित उजुरी
अध्यक्ष बुढाथोकीले वित्तिय नियम विपरीत काम लगाउन दबाब दिएपछि गोर्खाज फाइनान्स लिमिटेडका तत्कालिन सिइओले सन्तोषकुमार घिमिरेले २३ असोज २०८१ मा राजीनामा दिएका थिए । घिमिरेका राजीनामापछि गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो ।
प्रक्रियामा विवाद भएपछि राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार गर्न निर्देशन समेत दिएको थियो । तर राष्ट्र बैंकको समेत निर्देशन वेवास्ता गर्दै अध्यक्ष बुढाथोकीले प्रकाशचन्द्र अधिकारीलाई नयाँ सिइओ नियुक्तीको एकतर्फी घोषणा गरेका थिए ।
अध्यक्ष बुढाथोकीले सुरुमा सिइओ सन्तोषकुमार घिमिरेलाई प्रभावित पारेर मनपरी गर्न खोजेका थिए । तर सिइओ घिमिरेले उनको मनपरीमा साथ नदिएपछि घिमिरे विरुद्ध नै उत्रिए ।
अध्यक्ष बुढाथोकीकै दबाबमा सिइओ घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष बुढाथोकीले १४ पुस २०८१ मा सञ्चालक समितिको बैठक भन्दै एकतर्फी रूपमा प्रकाशचन्द्र अधिकारीलाई सिइओ नियुक्तीको घोषणा गरेका थिए । तर बैठकमा सञ्चालक समितिका निर्देशक(प्रमोटर) युवराज राई र निर्देशक (प्रमोटर) कल्पना खापुङले नोट अफ डिसेन्ट लेखेका थिए । अर्का पब्लिक तर्फका निर्देशकद्धय नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा अनुपस्थित थिए । स्रोतका अनुसार अध्यक्ष बुढाथोकीले बैठकमा उनीहरुको पनि उपस्थिीति देखाएर कृर्ते गरेका थिए । विटानगरमा रहेका अग्रवाल र बोहोरालाई पछि दबाबामा परेर कुरयर्समा मार्फत माइन्युट पठाएर हस्ताक्षर गर्न लगाएका थिए ।
गौरव बुढाथोकी कुनै बेला हेटौंडातिरका बदनाम पात्र थिए । नेपाली कांग्रेसका सभापति इन्द्र बानियाँको व्यवसायमा एकाउन्टेन्टको जिम्मेवारीमा रहेका बुढाथोकीले बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनी निकालिएका थिए ।उनै बानियाँ अहिले गोर्खा सैनिकहरुको लगानीमा रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार लगानी गरेर पब्लिक मार्फत् गोर्खाज फाइनान्सको अध्यक्ष बनेका बुढाथोकीले नयाँ सिइओ प्रकाशचन्द्र अधिकारसँग आर्थिक लेनदेन गरेर सिइओ बनाएको भन्दै राष्ट्र बैंकमा उजुरी समेत परेको छ ।
संस्थापक शेयरधनीका प्रबिन गुरुङका अनुसार साधारणसभा फेस नगरेर अध्यक्ष बुढाथोकी फरार भएका छन् । लाहुरेहरुको करोडौँको लगानी डुबाउन प्रयास भइरहेको उनको भनाई छ । स्रोतका अनुसार ७ सय ४७ संस्थापक शेयरधनी मध्ये ७ सय ३७ संस्थापक शेयरधनी भूतपूर्व गोर्खा सैनिक हुन् । उनीहरुले बुढाथोकीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।