काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण असोज ५ गतेबाट सुरु हुने भएको छ । बुधबार आयोजना गरिएको पत्रकार भेटघाटमा पाँचौ सिजनमा गरिएको फरम्याट परिवर्तन र कोच परिवर्तनबारे जानकारी गराइएको हो ।
नयाँ कोचमा उदय सोताङ र मिलन नेवार द भ्वाइस अफ नेपालको पाँचौं सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ । अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौ सिजनमा पनि निरन्तरता पाएका छन् ।
यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुवन्धित राजेश पायल राई यो सिजनमा पनि दोहोरिएका छन् ।
यसअघि द भ्वाइस किड्समा कोचका रुपमा दर्शकको मन जितेकी गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन ५ मा पनि कोचमा अनुवन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ यो सिजनमा नयाँ कोचका रुपमा आएका छन् ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् ।
‘गत बर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘यसपटक धेरै ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन, ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत छन् ।’ ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु व्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
‘भ्वाइस अफ नेपाल पाँचौ सिजनसम्म पुग्ने पहिलो फेन्चाइज गायन रियालिटी शो भएकाले यो सिजन दर्शकसँग सेलिब्रेट गर्ने किसिमले प्रविधि र फर्म्याटमा थुप्रै रोचक परिवर्तनहरु गरेका छौं ।’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने– यो सिजनलाई उत्कृष्ट बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौँ ।’