Logo
Logo
कला

‘जस्तोसुकै गीत गर्दिनँ किनकि म चुँजी छु’


1.1k
Shares

दुनियाँमा गीतसंगीत नरुचाउँने सायदै होलान् । पाँचथरकी निलम रोजु राई पनि सानैदेखि गीतसंगीतप्रति आकर्षित भइन् । तर, गीतसंगीतलाई करिअर बनाउँछु भन्ने सोचेकी थिइनन् । तर, उनै निलम अहिले नेपाली गीतसंगीतमा रमाइरहेकी छन् । ८ वर्षको समयकालमा ‘संगीतकार महिला’का रुपमा चर्चा बटुलेकी निलम भन्छिन्, ‘जुन क्षेत्रमा हिँड्यो, त्यहीँ रमाइलो हुँदोरहेछ ।’ ०७२ सालदेखि गीतसंगीतमा सक्रिय रहेकी निलम संगीत सिर्जनासँगै गाउँछिन् पनि ।

निलमले हालसम्म तीन दर्जन बढी गीतमा स्वर दिइसकेकी छन् । तर, उनी आफूलाई ‘गायिका’भन्दा संगीतकार भन्न रुचाउँछिन् । ‘खाशमा संगीतकार हुँ, त्यो पनि भुँइफुटुवा’ निलम भन्छिन्, ‘न्याय दिन सक्छुजस्तो लागेका गीतमात्र गाउँछु ।’ निलमले हालसम्म अढाइ सयभन्दा बढी गीतमा संगीत दिइसकेकी छन् । जसमा अधिकांश स्थापित गायक÷गायिकाले स्वर दिएका छन् । संगीतकार निलम आफूलाई ‘चुँजी’ मान्छिन् । चित्त नबुझेसम्म एउटै गीत पटक-पटक रेकर्ड गराउँछिन् उनी । त्यसैले निलमद्वारा संगीतवद्ध गीत निखारिएका हुन्छन् । संगीतकार तथा गायिका निलम रोजु राईसँग दृष्टिको जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
खाशै व्यस्त छैन । हालैमात्र केही गीत ल्याएकी थिएँ । केही प्रोजेक्टका लागि कुरा भइरहेको छ । त्यसबाहेक अडियो तयार भएर भिडियो बनाउन बाँकी मेरो गीतहरु छन् । ती गीतको भिडियो बनाउने सोच बनाउँदैछु ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
गीतसंगीत क्षेत्रमै केही गर्छु भनेर औपचारिक रुपमा लागेको आठ वर्ष भयो । तर, त्यसअघि पनि अप्रत्यक्ष रुपमा गीतसंगीतमा सक्रिय थिएँ । जब २०७२ सालमा एउटा गीत रेकर्ड गरेँ, त्यसपछि निरन्तर यही क्षेत्रमा छु ।

गीतसंगीतप्रति कसरी आकर्षित हुनुभयो ?
गीतसंगीतले आकर्षित नगर्ने र मननपराउने संसारमा कमै होलान् । म पनि सानैदेखि गीतसंगीतप्रति आकर्षित भएँ । तर, यो क्षेत्रमै लाग्छु भन्ने सोचेकी थिइनँ । स्कुल पढ्दै गर्दासम्म गीतसंगीतबाहेक तीनवटा सोच बनाएकी थिएँ । जसमा धेरै पढेर विद्ववान बन्ने, त्यो बन्न नसके जसरी हुन्छ पैसा कमाउँने । पैसा कमाउन सकिनँ भने मन्दिरको पुजारी बन्ने सोच बनाएकी थिएँ । तर, तीनवटै बन्न नसकेपछि गीतसंगीतमा लागेकी हुँ ।

गीतसंगीतमा करिअरको सुरुवात कसरी भयो ?
स्कुल पढ्दैगर्दा नै गीतहरु लेख्थेँ । मनमनै संगीत गर्थे र, गुनगुनाउँथेँ । त्यहीक्रममा ‘यो मनमा सायद’ बोलको गीतमा संगीत गरेँ । जुन गीत राजेशपायल राईसँग आफैँले गाएँ । त्यसपछि मेरो संगीतयात्रा औपचापरिक रुपमा अगाडि बढेको हो ।

पहिलोपटक के उद्देश्य लिएर काठमाडौं आउनुभएको थियो ?
जागीर खाएर भाइबहिनीहरुलाई पढाउनु भनेर पहिलोपटक २०६२ सालमा काठमाडौं आएकी हुँ । र, जुन उद्देश्यले आएँ, त्यहीअनुसार निजी कम्पनीमा जागीर खाएँ । त्यससँगै संगीत सिक्दै गएँ किनकि, त्यो बेला संगीतप्रति मेरो मोह जागिसकेको थियो ।

तपाइँ गायिका कि संगीतकार ?
गीत गाउँछु । तर, गाउनुभन्दा बढी संगीत गर्छु । त्यसैले म आफूलाई संगीतकार नै भन्न रुचाउँछु ।

तपाइँ आफूलाई ‘भुँइफुटुवा संगीतकार’ भन्नुहुन्छ, किन ?
म भुँइफुटुवा संगीतकार हुँ किनकि, मैले संगीत नै नसिकीकन मनमनै संगीत गर्थेँ । जबकि, १२/१३ वर्षकै उमेरमा गाउँघरमा हुँदा गीतका शब्दहरु लेख्थेँ र मनमनै लय निकालेर गुनगुनाउँने गर्थे । यसरी गीत लेख्दै, संगीत गर्दै जाँदा अहिले यो स्थानमा पुगेकी हुँ ।

पहिलोपटक आफ्नो गीत सुन्दा कस्तो लाग्यो ?
पहिलो गीत आफ्नै शब्द तथा संगीतमा थियो । तर, रेकर्डिङ गरेर सुन्दा पटक्कै चित्त बुझेन । तीन पटकसम्म एउटै गीत रेकर्ड गरेँ किनकि म चुँजी छु । चित्त नबुझेसम्म एउटै काम गरिरहनुपर्छ मलाई । अहिले पनि चित्त बुझेन पनि त्यही गर्छु ।

तपाइँले संगीत गर्न थाल्दा अरु संगीकार महिला थिए कि थिएनन् ?
संगीत क्षेत्रमा पुरुष र महिला भनेर समाजमा लैंगिक क्याटगोरी छुट्याइन्छ भन्ने मलाई थाहा थिएन । तर, जब संगीत क्षेत्रमा लागेँ, तब मलाई संगीतकार महिलाको उपमा दिन थाले । तर, मेरो उद्देश्य त्यो थिएन, जबकि, संगीतकार महिला भनेर चिनिन सकौँ । मैले त्यहीबेला थाहा पाएको शान्ति ठटाल संगीतकार महिला हुनुहुन्छ रे । तर, अहिलेसम्म उहाँसँग मेरो प्रत्यक्ष भेटघाट भएको छैन ।

हालसम्म कति गीत संगीत गर्नुभयो र गाउनुभयो ?
मैले २५० भन्दा बढी गीतमा संगीत गरेकी छु । त्यसमध्ये करिब तीन दर्जन गाएकी छु । शब्द र संगीत गरेर पनि जुनसुकै गीत गाउँदिन । मेरो स्वर र गलाले न्याय दिन सक्छ भन्ने लागेका गीतमात्र गाउने गरेकी छु ।

संगीत क्षेत्रमा संघर्ष गर्न कतिको कठिनाइ भयो ?
सुरुका दिनमा हरेक क्षेत्रमा संघर्ष गर्न कठिनाइ हुन्छ । त्यसमा पनि संगीत क्षेत्रमा अझ मिहिनेत गर्नुपर्छ । तर, मैले पछिल्लो समय जस्तोसुकै गीत गर्दिन । विशेषगरी नेपालीपन झल्किने गीतहरु गर्दै आएकी छु । साथै, झट्ट सुन्दैखेरी यो नेपाली गीत है भन्ने खालका नेपाली मौलिकता र नेपालीपन झल्किने गीतहरुको रिसर्चसमेत गर्दै आएकी छु ।

तपाइँले गाउनुभएको चर्चित गीतहरु भन्नुपर्दा ?
मैले गाएका प्रायः गीतहरु दर्शक/श्रोताले रुचाएका छन् जस्तो लाग्छ । त्यसमा पनि ‘यो मनमा सायद’, ‘ढाका टोपी’, ‘पानी पानी रे’, ‘मलाई हजुरले’, कति सुहायो’लगायत छन् ।

यहाँसम्म आइपुग्दा के पाउनुभयो ?
सबैभन्दा ठूलो कुरा दर्शक तथा श्रोताको माया पाएकी छु । त्यसबाहेक नाम र मानसम्मान पाउँदै आएकी छु । हालसम्म ‘ईमेज अवार्ड’, ‘हिमालय इन्टरनेशनल म्युनिक अवार्ड’, ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’जस्ता कार्यक्रममा सर्वोकृष्ट संगीतकारको अवार्ड पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्