काठमाडौं । ‘आर्थिक लेनदेनमा विश्वासघात’ गरेको आरोपमा पक्राउ गरेका अभिनेता अनमोल केसीलाई प्रहरीले आज (आइतबार) अदालतमा उपस्थित गराउँदैछ ।
शुक्रबार पक्राउ परेका अभिनेता केसीलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी प्रहरीले गरेको हो ।
फिल्म ‘रावायण’ मा अभिनयका लागि १० लाख रुपैयाँ लिएर सुटिङमा नआएर धोका दिएको भन्दै निर्माता सुप्रिया कटवालले जाहेरी दिएपछि उनी काभ्रेबाट पक्राउ परेका थिए ।
उनी हाल चिरायु अस्पतालमा छन् । पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ परेका भीभीआईपीहरू हिरासत नबसेर अस्पताल भर्ना हुने प्रचलनजस्तै बन्दै गएको छ । अदालतले अनुमति दिए अनमोल हिरासतमै रहनेछन् । तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आजै छुट्ने सम्भावना पनि छ ।
निर्माताले फिल्म ‘रावायण’ सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन् । ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् ।
फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए । तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका हुन् ।