गायिका शिला विष्टले संगीत र गायनमै २५ वर्ष विताइसकिन् । बालगायिकाको रुपमा सांगीतिकयात्रा प्रारम्भ गरेकी शिलाले हालसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छन् । ललितपुर कुपण्डोलकी शिलाले ०५३ सालमा रेडियो नेपालको बालगीत प्रतियोगितामा प्रथम भएपछि सांगीतिक यात्रा तय गरेकी हुन् ।
‘फूलै फूल मकै देख्छु नाङ्लाभरी’ बोलको गीत गाएर प्रथम भएकी शिला त्यसयता गायनमै अनवरत छिन् । तर, शिलाले संगीतका लागि जति सघर्ष गरिन्, त्यसअनुरुप चर्चामा छैनन् । र, उनी चर्चामा आउन पनि रुचाउँदिनन् । ‘म काममा विश्वास गर्छु, चर्चाको पछाडि लाग्दिनँ’ शिला भन्छिन्, ‘त्यसैले लुकेर बसेकी छु । काम गरिरहेकी छु ।’ सांस्कृतिक संस्थानको गायन कलाकारको रुपमा १५ वर्षदेखि जागीरे रहेकी शिलाले संगीतमै पद्मकन्याबाट स्नातक र ललितकला क्याम्पसबाट स्नाकोत्तर गरेकी छन् । आफ्नो जीवन नै संगीतमा समर्पित गरेकी गायिका शिला विष्टसँग एमपी सुब्बाको जम्काभेट :
आजभोलि के गर्दै हुनुहुन्छ ?
अफिस (जागीर) चलिरहेकै छ । बेला–बेला अफिसको कामले बाहिर गइरहनुपर्छ । त्यसबाहेक गीत रेकर्डिङहरु भइरहेको छ । समग्रमा गीतसंगीतमै व्यस्त छु ।
अफिस भन्नाले के गर्नुहुन्छ ?
म राष्ट्रिय नाचघरको जागीरे हुँ । जहाँ, १५ वर्षदेखि गायन कलाकारको रुपमा सेवा गर्दै आएकी छु । राष्ट्रिय नाचघरको म एक्लो महिला कलाकारको जागीर हुँ ।
गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
सानैदेखि गुनगुनाउँथे । बालगीत गाएदेखि गन्ती गर्ने हो भने २५ वर्ष भयो । २०५३ सालमा रेडियो नेपालले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम भएकी थिएँ । त्यसयता निरन्तर गीतसंगीत क्षेत्रमै सक्रिय छु ।
बालगीत प्रतियोगितामा गाएको गीत सम्झिन सक्नुहुन्छ ?
मैले ‘फूलै फूल मकै देख्छु नाङ्लाभरी’ बोलको गीत गाएकी थिएँ । शब्दरचना कसको थियो, त्योचाहिँ बिर्सेँ । संगीत विके राना मगरले गर्नुभएको थियो ।
सानैमा गीतसंगीतप्रति कसरी आकर्षित हुनुभयो ?
म सानो हुँदा मेरो बाबा–आमा अलगिनुभयो । त्यसपछि मामा घरमा बस्नुपर्ने भयो । मेरो मामा बलरामप्रसाद ढकाल संगीतको रियाज गरिरहनु हन्थ्यो । गाइरहनुहुन्थ्यो । उहाँले गाएको देखेर/सुनेर गायनप्रति प्रभावित भएँ । र, मैले पनि गाउन सुरु गरेँ ।
तपाइँ कुन जनराका गीत गाउनुहुन्छ ?
सबै प्रकारका गाउँछु । बालगीतबाट गायन सुरु गरेकी हुँ । भजनदेखि ‘आइटम सङ्स’सम्म गाउँदै आएकी छु । खाशगरी, आधुनिक र फिल्मी गीत बढी गाउँदै आएकी छु । साथै, विभिन्न भाषाका गीतहरु पनि गाउँदै आएकी छु ।
विभिन्न भाषा भन्नाले ?
नेपाली त भइहाल्यो । त्यसबाहेक नेवारी, मैथिली, भोजपुरी, चौधरी, थारु भाषा चलचित्रहरुमा गाएकी छु ।
संगीतको औपचारिक अध्ययन ?
स्कुल पढ्दैदेखि संगीत सिक्दै आएकी हुँ । कलेज सुरु गरेपछि पद्मकन्या क्याम्पसबाट संगीतमा स्नातक गरेँ । त्यसबेला नेपालमा संगीतमा स्नातकसम्म मात्र पढाइ हुन्थ्यो । त्यसपछि ललितकला क्याम्पसबाट संगीतमै स्नाकोत्तर गरेँ । ललितकलाबाट मैले संगीत र चाइल्ड डेभलवमेन्टमा मास्टर डिग्री गरेकी हुँ । साथै, इन्दिरा कलानिधि संगीत विद्यालय (इलाहवाद)बाट ६ वर्षे मेडललिस्ट हुँ ।
हालसम्म कति गीत गाउनुभयो ?
बालगीत, चलचित्र र आधुनिक गरी ६ सयभन्दा बढी गाइसकेकी छु । हिजोआज पनि सातामा कम्तिमा दुईदेखि तीन वटासम्म गीत गाउँदै आएकी छु ।
अहिलेसम्म कति फिल्ममा गाउनुभयो ?
थुप्रै फिल्ममा गाएँ । यति नै गाएँ भनेर ठुयाक्कै भन्न सक्दिनँ । मैले गाएको पहिलो फिल्म हो, ‘तिम्रो माया उन्नासय, मेरो माया सय’ । उक्त फिल्मको ‘यस्ता बेइमानसित’ बोलको गीत हो । जुन गीत त्यो समय हिट भएको थियो । त्यो समयमा निर्माता अस्गर अलिले पत्याएर गाउन दिनुभएको थियो । अहिले पनि उहाँलाई सम्झिन्छु ।
२५ वर्षयता गीतसंगीतमा सक्रिय भएर पनि चर्चा खाशै छैन नि ?
म काम गर्छु । मलाई काममा विश्वास छ । त्यसैले चर्चाको पछाडि लाग्दिनँ । काम गरिरहेकी छु । चर्चा त मरिसकेपछि होस् । जसरी तारादेवी, अरुणा लामाहरु मरिसकेपछि चर्चामा आउनुभयो । बाँचेसम्म काम गर्ने हो ।
गायिकाको रुपमा चिनाउने गीत कुन हो ?
यही भन्ने छैन । मैले गाएका थुप्रै गीत लोकप्रिय छन् । तर, गीत हिट भएर पनि मान्छेहरुले चिन्दैन । कमैले मात्र चिन्छन् । नचिन्नेहरुले कतै जाँदा ‘तपाइँको नाम कतै सुनेसस्ता लाग्यो’ भन्छन् ।
यहाँसम्म आइपुग्दा धेरै गुमाउनुभयो कि कमाउनुभयो ?
मेलै केही गुमाएको छैन । कमाएकी मात्र छु । यो क्षेत्रमा लागेर नाम कमाएकी छु । इज्वत र प्रतिष्ठा कमाएकी छु । दर्शकको माया कमाएकी छु । यी कुरा पैसा कमाएपनि किन्न सकिँदैन र पाइँदैन पनि । त्यसैले पनि यिनै कमाइबाट खुसी छु ।
यहाँसम्म आइपुग्दा परिवर्तन के पाउनुभयो ?
अहिले आम परिवर्तन भएको छ । मैले संघर्ष सुरु गर्दा गीतको राग सुन्न संगीतकारसँग रिल क्यासेट मागेर पर्खेर सुन्न पर्दथ्यो । अहिले त्यो जमाना छैन । डिजिटल प्रविधि र इन्टरनेटको सुविधा छ । अर्को कुरा, अहिलेका कलाकारले दुःख र मिहिनेत गर्नै पर्दैन । त्यससँगै नयाँ पुस्ताका कलाकारमा श्रद्धा भन्ने चिज नै छैन । यहाँ कसैले कसैलाई सम्मान गर्नै छाडिसके ।