साहित्यकार एवं निर्मात्री अनु शाह फिल्ममा लगानी गर्न भनेपछि हिजोआज तर्सिन्छिन् । भन्छिन्- ‘भो अब फिल्ममा लगानी गर्नु छैन ।’ सानैदेखि साहित्यप्रति रुची राख्दै आएकी अनुले साथीहरुको लहलहैमा तीनवटा फिल्ममा लगानी गरिन् । ‘भीमदत्त’, ‘सुक्का माना’ र ‘उफ् यो मन’जस्ता फिल्मकी निर्मात्री अनु भन्छिन्, ‘साथीहरुको लहलहैमा फिल्ममा लगानी गरेँ । तर, एक पैसा लगानी उठेन । अनुले कलाकारिता क्षेत्रमा लागेर करिब १४ करोड रुपैयाँ डुबाएको बताइन् ।
२०५२ सालदेखि साहित्य एवं कलाकारितामा सक्रिय अनु शाहका दुई सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । ‘अञ्जुली’, ‘अनुराधा’, ‘जे मन लाग्छ गरे हुन्छ’ र ‘पानीको फोका’जस्ता एकल गीति एल्बमका गीतकार अनु भन्छिन्, ‘फिल्ममा मात्र नभएर गीतसंगीतमा पनि लगानी डुबाएकी छु । गीतसंगीतमा रहरले र फिल्ममा साथीहरुको करले डुबाएँ ।’ अमेरिकाको नर्थ वेस्टर्न बिश्व विद्यालयबाट बालमनोबिज्ञानमा स्नातकोत्तर गरेकी काठमाडौं सितापाइलाकी (हाल अमरिका) बस्नै आएकी अनु भन्छिन्, ‘अब साहित्यलाई मात्र निरन्तरता दिनेछु ।’ साहित्यका सबै विधामा कलम चलाउँदै आएकी साहित्यकार एवं गीतकार अनु शाहसँगको जम्काभेट :
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
-मेरो कविता संग्रह ‘अनुराधा’ हालै सार्वजननिक भएको छ । साथै, फिल्म ‘उफ् यो मन’को सेन्सर प्रक्रियामा छु ।
तपाइँ साहित्यकार हो कि फिल्म निर्मात्री ?
खाशमा साहित्यकार, गीतकार र कलाकार हुँ । तर, साथीहरुले फिल्ममा लगानी गर्न लगाएर डुबाए । सुरुमा लगानी गर्न लगाए, तर, फिल्म बाहिर आउनै दिएनन् । फिल्म बजारमा ल्याउन नदिएपछि मेरो लागनी डुब्यो ।
कति वटा फिल्ममा लगानी गर्नुभयो ?
तीनवटा फिल्ममा लगानी गरेँ । फिल्म ‘भीमदत्त’ मेरो सहनिर्माण हो भने ‘सुक्का माना’ र ‘उफ् यो मन’मा सोलो लगानी गरेकी छु । ‘उफ् यो मन’ अहिले सेन्सर प्रक्रियामा छ । ‘सुक्का मानो’ र ‘उफ् यो मन’ सन् २०१६ मा निर्माण सुरु भएको हो । ‘सुक्का माना’बाट लगानी उठाउने आशा मरिसक्यो । फिल्म ‘भीमदत्त’बाट एक रुपैयाँ हातमा परेन । ‘उफ् यो मन’बाट अलिअलि आशा छ ।
फिल्ममा मात्र कि गीतसंगीतमा पनि लगानी डुबाउनुभयो ?
गीतसंगीतमा पनि मेरो लगानी डुबेको छ । २५÷३० वटा म्युजिक भिडियोमा लगानी गरेकी छु । तर, कतैबाट रिर्टन भएन । तर, गीतसंगीत मेरो रुचीको विषय हो । फिल्मचाहिँ साथीहरुकै लहलहैमा लागेर डुबाएँ ।
फिल्ममा लगानी गर्ने तपाइँको स्रोत के थियो ?
मेरो सात वर्षको कमाइ र जग्गा बेचेर लगानी गरेकी हुँ । म थिएटर कलाकार हुँ । रेडियो नाटकहरु पनि गर्थेँ । मैले राष्ट्रिय नाचघरमा चार वर्ष जागीर खाएँ । फिल्ममा लगानी गर्न थालेपछि काठमाडौं बनस्थलीको तीन रोपनी जग्गा बेचेँ । त्यसले नपुगेर मधेश (सर्लाही)को सात विघा जग्गा बेचेँ । साथीहरुले फिल्मी मोहमा पारेपछि पुर्खौली जग्गा बेचेर लगानी गरेँ । तर, निर्देशक र कलाकारबीचको द्वन्द्वले फिल्म बाहिर आउनै दिएन्न । मेरो लागनी डुबाइदिए ।
फिल्म र गीतसंगीतमा अहिलेसम्म कति डुबाउनुभयो ?
हालसम्म १४ करोड रुपैयाँभन्दा बढी मेरो लगानी डुब्यो । तर, हात प¥यो शून्य ।
यो क्षेत्रबाट उपलब्धीचाहिँ के गर्नुभयो नि ?
नाम कमाएकी छु । त्यसैले तपाइँहरु जस्ता पत्रकारले चिन्नुभएको छ । तर, नामले खान दिँदैन । अर्को कुरा, गीतसंगीत र साहित्यप्रतिको रहर र इच्छा पूरा गर्दै आएकी छु ।
फेरि फिल्ममा लगानी गर्ने हो कि ?
भो अब मलाई फिल्ममा लगानी गर्नु छैन । बेकार साथीहरुको लहलहैले करोडौँ डुब्यो । फिल्ममा लगानी नगरेपनि संगीत र साहित्य क्षेत्रमा भने निरन्तर रहने छ ।
लगानी उठाउने कुनै विकल्प सोच्नुभएको छ ?
फिल्म ‘उफ् यो मन’चाहिँ च्यारिटी र प्रिमियर गर्ने सोच बनाएकी छु । ‘सुक्का मानो’बाट लगानी उठाउने आशा मरिसक्यो । त्यसैले अहिलेसम्म जति डुब्यो, स्वाहा भयो ।
तपाइँको साहित्यिक यात्रा कसरी प्रारम्भ भएको थियो ?
मलाई सानैदेखि गीत र कविता साहित्यमा रुची थियो । त्यसैक्रममा पत्रपत्रिकाहरु कविता, गजल र गीत लेख्न थालेँ । विस्तारै रेकर्डिङ गर्न थालेँ । मेरो साहित्ययात्रा पत्रपत्रिकामार्फत सुरु भएको हो ।
साहित्यको कुन विधामा कलम चलाउनु हुन्छ ?
साहित्यको सबै विधामा मेरो रुची छ । र, सबै विधामा कलम चलाउँदै आएकी छु । जस्तै, कविता, गीत–गजल, कथा र उपन्यास सबै विधामा कलम चलाउँदै आइरहेकी छु । मेरो चाँडै उपन्यास आउँदैछ । उपन्यासको नामकरण गरेको छैन, अहिले सम्पादनमा छ ।
तपाइँलाई गीतकारका रुपमा चिनाउने गीत कुन हो ?
मेरो थुपैै गीत चलेका छन् । पहिलोपटक चर्चामा आएको चाहिँ ‘पानीको फोका हुँ तिम्रो बलेसीको’ बोलको गीत हो । यो २०६० सालतिरै चर्चामा आएको गीत हो । २०५२ सालदेखि ०६० सालबीचमा आएका मेरो गीतहरु चर्चित छन् । अहिलेसम्म दुई सयभन्दा बढी मेरो गीतहरु रकर्ड भइसकेको छ । जसमा नेपालमा अधिकांश चर्चित गायक÷गायिकाहरुले गाएका छन् ।
तपाइँ खाशमा साहित्यकार कि कलाकार ?
मेरो रुचीको विषय साहित्य हो । त्यसैले साहित्यकार, गीतकार एवं कलाकार हुँ । साथीहरुले गर्दा फिल्म निर्मात्री पनि भएँ । तर, रुची र इच्छाले बनाएको साहित्यकार एवं गीतकार हुँ ।