Logo
Logo

काठमाडौंमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु


441
Shares

काठमाडौं । काठमाडौँमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा कूल ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे ।

उक्त समारोहमा उनले कलाले मुलुकको पहिचान विश्वसामु पु¥याउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको बताए । मन्त्री लिम्बूले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरुका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा नमूना कार्य भएको बताए ।

कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एवम् अन्तरराष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटकपटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको बताए ।

कार्यक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तरराष्ट्रिय जलरङ समाजका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दीपेन्द्रमान बनेपाली लगायतले कलाको महत्वबारे प्रकाश पारेका थिए ।

राससकर्मी ढुङ्गाना पुरस्कृत
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यस्तै राससकर्मी नारायण ढुङ्गानालाई रु १० हजार राशिसहित अन्तरराष्ट्रिय जलरङ पत्रकारिता अवार्डबाट सम्मान गरिएको थियो ।

जलरङको माध्यामबाट कला सृजनाको विकासमा पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै ढुङ्गानालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । सो क्रममा वाटरकलर ‘योङ आर्टिष्ट अवार्ड’बाट जीवन पौडेल र ‘इन्टरनेसनल आर्ट प्रमोसनल अवार्ड’बाट चर्चित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरुको चित्र प्रतिस्पर्धाबाट म्यान्माका कलाकार मयन्ट नइङलाई तीन सय डलरसहित स्वर्ण अवार्डबाट पुरस्कृत गरिएको छ भने एक सय ५० डलरसहित भारतका सिलम्ब्रासन के लाई कास्य अवार्र्ड प्रदान गरिएको छ ।
यस्तै बङ्गलादेशका अरिफर रहमान टोप्पु, मेक्सिकोका बेत्रिज ए.एच.अर्टेजा र नेपालका थमन सिंह सुनारलाई उत्कृष्ट अन्तरराष्ट्रिय वाटरकलर अवार्ड प्रदान गरिएको छ । बबरमहलमा मास्टर र अतिथि कलाकारबाट कला डेमोस्ट्रेसन भइरहेको छ ।

कार्यक्रममा झन्डै विदेशीसहित दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहेको छ । जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारहरुलाई नगरकोट लगेर सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गराई कला सिर्जना गराइने छ ।

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरु जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको आयोजक अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताए ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कार्यक्रम गरिसकेएको छ ।

प्रतिक्रिया दिनुहोस्