यतिबेला भारतीय फिल्म ‘ट्वेल्थ फेल’ चर्चाको शिखरमा छ । फिल्मको कथावस्तुलाई लिएर सामाजिक सञ्जाल गर्मिएको छ । प्रशंसाले सामाजिक सञ्जालका टाइमलाइन भरिएका छन् । दर्शकले यसलाई ‘उत्प्रेरक’ फिल्म मानेका छन् ।
फिल्मको कथावस्तु मनोजकुमार शर्मा र श्रद्धा जोशीको वास्तविक जीवनमा आधारित छ । मनोजको भूमिकामा विक्रान्त मेस्सी र श्रद्धाको भूमिकामा मेधा शंकर छन् । फिल्मले मनोजको बायोपिक भनेको छ । जसले आइपीएस बन्नका लागि गरेको संघर्षको कथा भन्छ ।
फिल्मले मनोजलाई साथ दिएकी श्रद्धाको कथा पनि भन्छ । फिल्ममा मनोज र श्रद्धाको कथा मात्रै छैन । संघर्षको कथा छ । साथको कथा छ । सफलताको कथा छ । इमान्दारिताको कथा छ । प्रेमको कथा छ । यही कारण यो फिल्म युवापुस्तामा लोकप्रिय बनेको हो ।
फिल्मको कथावस्तुसँगै यसका पात्रहरूको पनि चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा मनोज र श्रद्धा खोज्न थालेका छन् । केटाहरू श्रद्धाको खोजीमा छन् । केटीहरू मनोजको । ‘ट्वेल्थ फेल’बाट सिक्नुपर्ने कुरा– सपनामा अडिग रहन । हार नखान । संघर्ष नछाड्न ।
हामी जे देख्छौँ, त्यही खोज्छौँ । दुई दशकअघि आइफोन कसैको खोजीमा थिएन । किनकि, आइफोन नै बनेको थिएन । सन् २००७ मा मात्रै एप्पलका तत्कालीन सीईओ स्टिभ जब्सले आइफोन बनाउने घोषणा गरेका थिए । तर, अहिले सबैको खोजीमा छ, आइफोन ! सबैलाई चाहिएको छ । किनकि, सबैले देखेका छन् ।
जीवन संघर्षको मैदान हो । जुन मैदानमा अनेकौं अप्ठ्यारा परिस्थितिहरू छन् । काँडा छन् । तगारो छन् । हार छन् । तिनीहरूसँग पौँठेजोरी गर्नुपर्छ । जिते खुशी, उमंग । हारे जीवन, शिक्षा । फेरि भिड्ने साहस । जित्ने संकल्प । मनोजले पनि त्यही गरेका हुन् ।
‘ट्वेल्थ फेल’मा पनि मनोज र श्रद्धाको ‘लभ स्टोरी’ देख्यौँ । त्यसैले त्यस्तै पार्टनरको खोजी सुरु भयो । विलियम शेक्सपियरले ‘रोमियो एण्ड जुलियट’ पढ्दा÷हेर्दा त्यस्तै पार्टनरको खोजी ग¥यौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पढ्दा पनि त्यस्तै जोडी चाहिएको थियो ।
हामी दुई कुरामा बाँचिरहेको छौँ । एक, वास्तविकता । अर्को देखावटी । हामीलाई देखावटीमा मनपर्छ । देखावटीमै बढी बाँच्छौँ । चलचित्र र उपन्यासमा जब राम्रो जोडी देख्छौँ । आफ्नो पनि त्यस्तै होस् भन्ने चाहना राख्छौँ । ज्ञान समेत अरुलाई देखाउन लिन्छौँ ! अरुलाई देखाउन पढ्छौँ ! तर, यसले चाहिँ फाइदै गर्छ ।
राजनीतिमा गान्धी, नेल्सन मन्डेला, मार्टिन लुथर किङ, नेपोलियन बोनापार्ट, अलेक्जेन्डर बन्ने चाहना राख्छौँ । साहित्यमा विलियम शेक्सपियर, लक्ष्मीप्रसाद देवकोटा, स्टीफन किङ, गोर्की र जेके रोलिङ । फुटबलमा पेले, म्याराडोना, मेस्सी, रोनाल्डो । अरु धेरै क्षेत्रमा छन्, जसकोबारे पढ्यो, त्यस्तै बन्न मन लाग्ने ।
अरुमा आफूलाई किन खोज्छौँ ? त्यो कहीँ देखेर । कहीँ पढेर । उसको बारेमा जानेर । तर, हामी आफूमा आफू कहिल्यै खोज्दैनौँ । आफूलाई चलचित्रमा खोज्ने होइन । उपन्यासमा खोज्ने होइन । अरुमा खोज्ने होइन । चलचित्रले आफूलाई खोज्ने बन्नुपर्छ । उपन्यासले खोज्ने हुनुपर्छ ।
आफू अरुजस्तो बन्नु र अरु आफूजस्तो बन्नुमा आकाशपाताल फरक छ । रिलको पात्र रियलमा खोज्नु बेकार छ । बेकार छ, अरुको जस्तै जीवनसाथी खोज्नु । अरुमा आफू खोज्न आफैलाई दुःखी बनाउनु मात्रै हो ।
ढुंगाबाट मूर्ति बन्छ । तर, सबै ढुंगा मूर्ति बन्दैन । मूर्ति बन्न छिनोको हजारौँ चोट सहनुपर्छ । हम्मरको ठक्कर खाने हिम्मत गर्नुपर्छ । जुन ढुंगाले चोट र ठक्कर खाने हिम्मत गर्छ । त्यो ढुंगामा मात्रै सुन्दर मूर्ति बन्छ । देवताको पङ्क्तिमा उभिन्छ । सबैले ढोक्छन् । पूजा गर्छन् । मूर्ति नबनेको ढुंगा त ठेस लाग्दा पनि मिल्काइन्छ ।
बाँसुरी पनि त्यस्तै हो । मालिङ्गोबाट बन्छ, बाँसुरी । बाँसुरी बन्न मालिङ्गोले काटिने हिम्मत जुटाउनुपर्छ । शरीरका विभिन्न ठाउँमा झिरले प्वाल पार्दा सहनुपर्छ । जुन मालिङ्गोले कष्ट झेल्छ । ऊ मात्र बन्छ, बाँसुरी । दुनियाँलाई मन्त्रमुग्ध पार्न धुन दिन्छ । नत्र जहाँबाट उठेको थियो त्यहीँ बिलाऊँ छ ।
सबैलाई लाग्छ, राम्रो बनौँ । सम्पन्न बनौँ । मान, प्रतिष्ठा, ख्याति कमाऔं । तर, सबै मूर्ति बन्ने खोपिन तयार हुँदैनन् । बाँसुरीजस्तो झिरमा उनिने हिम्मत गर्दैनन् । गर्दैनन्, मनोजले जस्तो संघर्ष ।
जीवन संघर्षको हो । जुन मैदानमा अनेकौं अप्ठ्यारा परिस्थितिहरू छन् । काँडा छन् । तगारो छन् । हार छन् । तिनीहरूसँग पौँठेजोरी गर्नुपर्छ । लाप्पा खेल्नुपर्छ । जिते खुशी, उमंग । हारे जीवन । शिक्षा । फेरि भिड्ने साहस । जित्ने संकल्प । मनोज पनि त्यही गरेका हुन् ।
मान्छे कोही पूर्ण हुँदैनन् । हुँदैनन् भरिपूर्ण । अनेक कमजोरी हुन्छन् । त्यसलाई सच्याउनुपर्छ । सुधार्नुपर्छ । दुनियाँमा कोही पनि छैनन्, जो सबै कुराले पुगिसरी छन् । सबै कुरामा सन्तुष्ट छन् । चाहे त्यो व्यक्ति विश्वकै धनाड्य होस् या शक्तिशाली नै किन नहोस् । छैनन्, पूर्ण । सन्तुष्टि । खुशी ।
संघर्षबिना जीवन हुँदैन । त्यही संघर्षको मैदानमा भेटिएका हुन्, मनोज र श्रद्धा । मनोजले श्रद्धाको साथ पाएको हो । हौसला मिलेको हो । दुःख बाँडेको हो । खुशी साटेको हो । मनोबल बढेको हो । हिम्मत जुटेको हो । स्वर सम्राट् नारायण गोपालको गीतलाई नै सम्झाउने गरी– ‘…एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा ।’
साँच्चै जीवनमा असल साथीको महत्व अति हुन्छ । मनोजलाई दिएको श्रद्धाको साथले पनि प्रस्ट्याउँछ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दुवै दिन आँउछ । राम्रो हुनु राम्रो कुरा हो । नराम्रो हुनु पनि राम्रै हो । पाठ सिकाउँछ । आफ्ना र पराइ चिनाउँछ ।
हामी आफूलाई स्वीकार गर्न तयार छैनौँ । म फलानो जस्तो किन भइन ? फलानोले जस्तो प्रगति गर्न किन सकिनँ ? फलानोले जति किन पढिनँ ? यसरी अरुसँग तुलना गरेर आफूलाई दुःखी बनाइरहेको हुन्छ । तर, म जे छु ठिक छु भनेर स्वीकार गर्न तयार हुँदैनौँ ।
अरुमा आफू खोज्ने होइन, आफूमा आफूले आफूलाई नै खोज्ने हो । मन्डेलाले असल नेताको मात्रै खोजीमा लागेको भए अझै अन्त्य हुँदैन थियो होला, रङ्गभेदी शासन । शेक्सपियरले र लक्ष्मीप्रसाद देवकोटाले राम्रो पुस्तक मात्रै पढेको भए ‘रोमियो जुलियट’ र ‘मुनामदन’ पढ्न कहाँ पाइन्थ्यो र ?
छाडिदिनुहोस्, ‘ट्वेल्थ फेल’को मनोज र श्रद्धा बन्न खोज्न । आफ्नो बेग्लै कथा बनाउनुहोस् । उनीहरूको भन्दा उत्कृष्ठ चलचित्र बन्ने गरी ।
केटीहरू ‘सपनाको राजकुमार’को खोजीमा हिँड्ने । केटाहरू डुकुलट्ठक बन्ने ! चियाको चुस्की र चुरोटको खिलीमा रमाउने ! अनि गर्लफ्रेन्ड चाहिँ श्रद्धाजस्तो चाहिने ! श्रद्धा खोज्न पहिला मनोज बन्नुपर्छ ! अनि मजोन ‘सपनाको राजकुमार’ होइन ‘सपनाको मजदुर’ हुन् । त्यसैले असल मान्छे खोज्ने होइन, असल बन्नुहोस् । तपाईँलाई भेटाएर कसैको खोजी पूरा हुनेछ ।