ललितपुर बुङ्मतीमा जन्मेकी मोडल आराध्यालक्ष्मी खड्गी ‘जोली’ टाइपकी छिन् । हाँसी-मजाक, ख्यालठट्टा गर्न मन पराउने उनी आफूलाई ‘मनकी रानी’ भन्न रुचाउँछिन् । ‘नृत्य गर्नकै लागि’ भगवान्ले धर्तीमा पठाएजस्तो लाग्छ, उनलाई । भन्छिन्, ‘एकदम रिस उठेको बेला गीत बज्यो भने पनि म त्यसैमा मग्न हुन्छु । पैतालाहरूमा नृत्यभाव तरंगित हुन थाल्छ ।’
आराध्याद्वारा ‘कोरियोग्राफी डाइरेक्सन’ गरिएको ‘सरर बग्यो हावा…र ‘यो मनमा सधैंभरि…’ गत वर्ष ‘वल्र्ड बुक अफ रेकर्ड्स’मा अंकित भइसकेको छ । ‘करिअर’ नृत्य केन्द्रित भएपनि उनीभित्र कलाका अन्य पाटा पनि छन्, जसलाई उनी नृत्यसँगै डोहो¥याइरहेकी छिन् । प्रस्तुत छ, उनै आराध्यासँग दृष्टिको जम्काभेट :
दिनहरू कसरी बित्दै छन् ?
बिहानी वर्कआउट । स्कुल, प्राक्टिस । स्टेज पर्फमेन्स । बिहानैदेखि दिनभर नै व्यस्त हुन्छु । दिनहरू नृत्यमय हुँदै सुटिङमा पनि बितिरहेको छ ।
स्कुल भन्नाले ?
स्कुलहरूमा डान्स टिचर पनि छु । पहिले–पहिले पढाउँथें पनि । समय अभाव हुन थालेपछि डान्सलाई मात्र फोकस गरेकी छु । अहिले तीन वटा स्कुलमा डान्स टिचर छु ।
खासमा आराध्या को हो ?
एउटी मेहनती केटी । काममा लगाव राख्ने । ‘सबै काम गर्न सक्छु’ भन्ने आत्मशक्ति भएको एउटा कलाकार हुँजस्तो लाग्छ ।
सबै काम भन्नाले ?
अभिनय, कोरियोग्राफी, निर्देशनमा संघर्षरत छु । सुरु सुरुमा -याम्प मोडलिङ पनि गरें । यी पक्षमा भर्खरै बामे सर्दैछु भन्नुपर्छ । तर, नृत्य मेरो प्यासन हो । नृत्यबिना म अधुरै हुन्छु ।
भनेपछि नृत्य नै मुख्य विधा ?
हो । यसमा शंकै छैन । नृत्यकै कारण कलाका अन्य पाटाहरू पछ्याउँदै छु । यसैमार्फत मेरो कलायात्रा फराकिलो बन्दै छ ।
नृत्य नै किन ?
सानैदेखिको लगाव हो । नाच्न पाएपछि सबै भुल्छु ।
त्यसो भए नृत्य गुरु को हुन् त ?
भन्ने नै हो भने कसैबाट पनि मैले नृत्य सिकेको छैन । मभित्र स्वतःस्फुर्त जन्मिएको कला हो । सानैमा टीभी हेर्दा नाचेको देख्थें, म पनि सँगसँगै नाच्थें । टीभीमा जस्तै हुबहु नाच्थें । सबै हौसला दिन्थे । स्टेपहरू आफैंले बनाउँदै गएँ । भन्नैपर्दा मेरो गुरु म आफैं हुँ । समय नै मेरो गुरु हो ।
अर्को प्रसंग, आराध्या म्युजिक भिडियोतिर पनि निकै व्यस्त हो ? अहिलेसम्म कति वटामा खेलियो ?
हजूर ! कति म्युजिक भिडियो पुगे ? ठ्याक्कै संख्या याद भएन । तर, अहिलेसम्ममा ८०–९० जति पुगे कि भन्ने लाग्छ । यात्रा भर्खरै सुरु हुँदै छ कि जस्तो लाग्छ । गर्न धेरै नै बाँकी छ ।
पहिलो म्युजिक भिडियो याद छ ?
एकदम । चर्चित गायिका अञ्जु पन्तको नेपाली गीतबाट म्युजिक भिडियो करिअर सुरु गरेकी थिएँ ।
नेपाल भाषामा त तपाईँ टपमध्यमै पर्नुहुन्छ, होइन ?
सबैले नोटिस गर्नुहुन्छ । खुसी लाग्छ । मेरो कामप्रति विश्वास गर्नु नै ठुलो कुरा हो । म कुन स्थानमा छु, मैले आफैं कसरी मूल्यांकन गर्ने ? तर, आज म जे जति छु, त्यो दर्शकको मायाकै कारण हो । यो माया यसरी नै पाइरहुँ ।
अभिनय र नृत्यमा केही फरक छ ?
नृत्य पनि अभिनयकै पाटो हो । अनुहारमा भाव भएन भने नृत्यको अर्थ रहँदैन । यी दुवै पाटा नवरसभित्रै पर्छजस्तो लाग्छ । त्यसैले शब्दमा फरक भए पनि अभिनय र नृत्यको भाव एउटै हो । अर्को अर्थमा सिक्काका दुई पाटा हुन् ।
नृत्यले के दियोजस्तो लाग्छ ?
सोचेभन्दा धेरै नै दिएको छ । सबैभन्दा ठुलो कुरा अग्रजहरूको माया पाएकी छु । लोकले पुजेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यजस्ता अग्रज कलाकारसँगको सामिप्यतामा अभिनय गर्न पाएकी छु । उहाँहरूले मेरो नृत्यमा फरकपना देख्नु भएरै अवसर दिनुभएको छ । त्यो मेरो लागि जीवनभर आशीर्वादका रूपमा रहिरहनेछ ।
‘इन्द्रायणी’ नामक नेपाल भाषाको लघु चलिचत्रले त अन्तर्राष्ट्रिय पुरस्कार नै पायो नि, हैन ?
हो, त्यस चलचित्रमा मैले मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएकी छु । ‘इन्द्रायणी’ ९ मिनेटभन्दा अलि लामो होला ! जुन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत नै भएको थियो । त्यो क्षण मेरो लागि ठुलो अवसर थियो ।
भनेपछि अभिनयतिर पनि मोह छ ?
अवश्य । उचित अवसरको पर्खाइमा छु । आफूमा आत्मविश्वास पनि छ । नेपाल भाषाका चलचित्रमा अभिनय गर्ने मौका पाएकी छु । अफर पनि आइरहेका छन् । मूलधारका चलचित्रमा अभिनय गर्ने अझ बढी चाहना छ ।
कस्तो भूमिका मन पर्छ ?
एकदम फाइटर टाइपको । तर, चाहेजस्तो हुन्न । आइप¥यो भने एउटा कलाकारले जस्तोसुकै भूमिका पनि निर्वाह गक्र्नुपर्छ । म त्यसैको प्रतीक्षा छु ।