काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईले आफ्नो एउटा गीचको स्टुडियो भिडियो सार्वजनिक गरेका छन् । ‘तक्दिर खोटो भो’ बोलको आफ्नो नयाँ गीतलाई राजेशपायलले स्टुडियोमा छायाँकन गरेर युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
त्यसो त राजेशपायलका गीतहरु कतिखेर सार्वजनिक भइरहेको हुन्छ भन्ने उनैलाई समेत थाहा हुँदैन । हरेक दिनजसो राजेशपायलले गाएका गीतहरुको भिडियो आइरहेको हुन्छ ।
नेपाली सांगीतिक क्षेत्रका एकमात्र ‘मेगास्टार’ मानिएका राजेशपायलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत भने विशेष गीतहरु मात्र सार्वजनिक गर्दै आएका छन् । यसैक्रममा ‘तक्दिर खोटो भो’ बोलको यो गीतलाई बिहीबार साँझ आफ्नो अफिसियल च्यानल ‘राजेशपायल राई’मार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा याम राईको शब्द र संगीत तोरेम्पा हाङको रहेको छ । राजु कार्कीले एरेञ्ज गरेको ‘तक्दिर खाटो भो’ बोलको यस गीतलाई किङ स्टुडियोमा छायाँकन गरिएको हो । यस गीतको रेकर्ड पनि किङमै गरिएको हो ।
यस गीतको छायाँकन, सम्पादन र निर्देशन धन खालिङले गरेका हुन् । भिडियोमा गीतको भावनाअनुसार बाँसुरी, सारंगी र भ्वाइलेन जस्ता वाद्यवादनहरु समेटिएको छ ।
देश–विदेशको सांगीतिक कार्यक्रममा अति व्यस्त रहँदै आएका राजेशपायल चाँडै सांगीतिक वल्ड टुरमा निस्कँदैछन् । केही समयअघि मात्र अमेरिकाबाट आफ्नो सांगीतिक यात्रा छोट्याएर आएका उनी हङकङ, कतार, साइप्रस, मकाउ, ओमन लगायतका देशमा सांगीतिक प्रस्तुतीका लागि जाँदैछन् । त्यसका लागि उनले स्याडुअलसमेत सार्वजनिक गरिसकेका छन् ।