काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘प्रधानमन्त्री’ बन्ने भएका छन् । उनी रियलमा नभएर ‘रिल’मा प्रधानमन्त्रीको भूमिका देखिने भएका हुन् ।
नेपाली फिल्म ‘नमेटिने घाउ’को आइतबार निर्माणको घोषणा गरिएको छ । जुन फिल्ममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलकै प्रमुख आतिथ्यमा भएको थियो ।
त्यसो त ओली यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’मा पनि अभिनय गरेका थिए । यो फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्दैछन् ।
एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।