Logo
Logo

फिल्ममा देखिँदै ओली र हर्क साम्पाङ  


5k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई चलचित्रमा देखिने भएका छन् । 

एमाले अध्यक्ष ओली नेपाली फिल्म ‘नमेटिने घाउ’ र हर्क ‘खजुरे ब्रो’मा देखिने भएका हुन् । ‘नमेटिने घाउ’को आइतबार निर्माणको घोषणा गरिएको छ । जुन फिल्ममा ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । फिल्मको निर्माण घोषणा ओलकै प्रमुख आतिथ्यमा भएको थियो ।

त्यसो त ओली यसअघि दीपेन्द्र दाहालको ‘रातो सूर्य’मा पनि अभिनय गरेका थिए । यो फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्दैछन् ।

एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछन् । 

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । 

धरानमा मेयर हर्कले भने ‘खजुरे ब्रो’ मा अतिथि भूमिकामा अभिनय गरेका छन् । उनको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो । धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।  

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’ बनेको हो । फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका रहनेछ । 

फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ । फिल्मको अहिले धरान आसपासका स्थानमा छायाङ्कन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्