काठमाडौं । स्विट्जरल्यान्डको हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
हिमचुली एसोसिएसन तथा नेपाल–स्विस चेम्बर अफ कमर्सको आयोजनामा प्रदर्शनी माघ ११ देखि सुरु भएको हो । प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एक्रेलिक तथा तैल रङद्वारा सिर्जित १९ चित्र राखिएका छन् । यसका साथै उस्टर र जुरिकमा नेपाली कलाका बारेमा कार्यपत्र प्रस्तुत तथा कार्यशाला सञ्चालन गर्ने कार्यक्रमसमेत रहेको कलाकार आचार्यले बताए ।
कोरोना महामारीको समयमा आफूले गाउँमा बसेर सिर्जना गरेको कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरिएको उनले बताए । चित्रकला बिक्रीबाट प्राप्त रकम नेपालमा अपांगता तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा खर्च गरिने छ ।