काठमाडौं । गायक भीम लिम्बूको पालाम ‘मिन्जिमा ए’ अहिले चर्चामा रहेको छ । भीम लिम्बू र मनु नेम्बाङले गाएको ‘मिन्जिमा ए’ केही समयअघि युट्युबमा रिलिज गरिएको हो । ‘मिन्जिमा ए’ पालमले चर्चा बटुलिरहेका बेला गायक भीम लिम्बू हङकङमा एकल साँझमा प्रस्तुत हुने भएका छन् ।
गायक भीम लिम्बू यही फेब्रुअरी ९ तारिखमा हङकङस्थित याक एण्ड यति रेष्टुरेण्टमा एकल साँझमा प्रस्तुत हुन लागेका हुन् । सेनेहाङ समाज हङकङले चाइनिज नयाँ बर्षको अवससरमा आयोजना गर्ने ‘भीम लिम्बू लाईभ इन हङकङ’ नामक कार्यक्रममा गायक भीम लिम्बूले एकल प्रस्तुती दिन लागेका हुन् ।
याक्थुङ युथ एशोसिएसन (वाईवाईए)का अध्यक्षसमेत रहेका ताप्लेजुङका भीम लिम्बू एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । गायनसँगै समाज सेवामा समेत सक्रिय भीम लिम्बूले केही वर्षको ग्यापपछि पालाम ‘मिन्जिमा ए’ ल्याएका थिए । पूर्वेली गीतसंगीतका लागि चर्चित भीमले लिम्बू मौलिक संस्कृतिमा आधारित तथा लिम्बू समुदायको पहिचान बोकेको पालाम भने पहिलोपटक गाएका हुन् ।
गायक भीम लिम्बूका एक दर्जनभन्दा बढी चर्चित गीचहरु छन् । ‘माया मेरो झुटो रे’, ‘हातै काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता चर्चित गीतका गायक भीम लिम्बूले हङकङमा आफ्ना यी लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
यसअघि नेपाललगायत विभिन्न देशमा आफ्नो कला प्रस्तुत गरिसकेका गायक भीम लिम्बूले पछिल्लोपटक हङकङमा एकल गायनमा प्रस्तुत हुन लागेका हुन् । हङकङ कार्यक्रमका लागि सम्पूर्ण तयारी गरिसकेको उनले बताए ।