सानोमा उनीसँग केही सपना र लक्ष्य थिएन । रेडियो भने सुन्न रुचाउँथिन् । त्यही रेडियो सुन्ने आदतले आज उनी कुसल उद्घोषक बनेकी छन् । र, उद्घोषणमै उनी करिअर देख्न थालेकी छन् । पछिल्लो समय सेसेमी लिम्बू कुरुम्बाङ एक कुसल कार्यक्रम उद्घोषकका रुपमा चिनिन्छिन् । बीबीए अध्ययनरत सेसेमी विभिन्न इभेन्ट तथा सेमिनारहरु सञ्चालन गर्दै आएकी छन् ।
उद्घोषण कलालाई उनी ‘सिर्जनात्मक पेशा’को रुपमा लिन्छिन् । सेसेमी भन्छिन्, ‘सिर्जनात्मक कार्यले जीवन पद्धतिलाई सहज बनाउँछ ।’ काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी तेह्रथुम फेदाप–१ की सेसेमी विभिन्न संस्थामा आवद्ध छिन् । युवा वर्गलाई उत्प्रेरणा दिने कार्य गर्न रुचाउँने सेसेमी भन्छिन्, ‘नेपालको शिक्षा प्रणाली युवा लक्षित हुनुपर्छ ।’ यिनै कार्यक्रम उद्घोषिका सेसेमी लिम्बूसँग दृष्टिको जम्काभेट :
विभिन्न क्षेत्रमा आबद्ध हुनुहुन्छ । पढ्दै गरेको विद्यार्थीलाई कतिको गाह्रो हुन्छ ?
म विद्यार्थी हुँ भनेर सोचेको भए गाह्रो हुन्थ्यो होला । तर, मैले सधैं गरिरहेको कार्य सम्झेर काम गरिरहेको हुन्छु । समयको व्यवस्थापन गर्न सकियो भने गाह्रो हुँदैन । आफूले गरेको काममा इन्जोय र खुसी हुन सक्नुपर्यो ।
उद्घोषण पेशालाई कसरी लिनुहुन्छ ?
केही त्यस्ता कामहरू छन्, जसलाई अझैपनि समाजले यो पेशाको रुपमा लिएको देखिँदैन । हामीले जे सुन्छौँ, त्यही नै बन्दै जान्छ । मलाई उद्घोषण पनि एउटा पेशा बन्न सक्छ भन्ने कुरा थाहा थिएन । सानैदेखि रेडियो सुन्थेँ । मेरो रुचि देखेर मेरो आमाले मलाई ट्रेनिङ लिन जाऊ भन्नुभयो । र, एसईई सकाएपछि उद्घोषण तालिम लिएँ । त्यहाँ मैले उद्घोषणमात्र नभएर व्यक्तित्वविकास, समाचारवाचन, समाचार लेखन र सम्पूर्ण चिजको तालिम प्राप्त गरेँ । त्यसले मलाई छुट्टै ऊर्जा मिल्यो । सबैको साथ र माया प्राप्त हुँदै गयो । त्यसैले पनि उद्घोषणलाई पेशाको रुपमा लिएकी छु ।
मिडियाप्रति युवाको क्रेज घट्टै गएको छ, यसलाई कसरी लिनुहुन्छ ?
मैले सुनेको थिएँ कि, मिडियामा काम गर्दा पैसा दिँदैनन् । तर, मैले आफूलाई आर्थिक शोषण हुन दिएको छैन । प्लटफर्मसँगै धेरैथोरै पारिश्रमिक दियो भने कामप्रतिको सम्मान भएको महसुस हुन्छ । सुरुसुरुमा आफूलाई काममा प्रमाणित गर्नुप¥यो, जसले गर्दा मेहनत गर्न सिकायो । मिडियामा लागेपछि पछाडि हट्नुभन्दा कसरी राम्रो गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ ।
सानै उमेरमा आफ्नो कार्यमा सफल हुनुहुन्छ, टिकाउन कत्तिको गाह्रो भइरहेको छ ?
अहिले नै सफल छु वा छैन भन्दा पनि, मैले गर्ने मेहनत निरन्तर छ । कठिनाइ र अप्ठ्यारोहरु नआएका होइनन् । मेरो परिवारको कुनै सदस्य यो क्षेत्रमा हुनुहुन्न । मेरो एक्लो संघर्ष हो । तर, आफूभित्र भएको आत्मबल र समस्याको सामना गर्दै अझै कसरी उत्कृष्ट बन्ने भन्ने कुरामा चिन्तन गर्दै आएकी छु ।
उद्घोषणलाई पेशा बनाएपछि आफूमा के परिवर्तन पाउनुभयो ?
यदि मैले आफ्नो व्यक्तिगत मूल्याँकन गर्ने हो भने धेरै परिवर्तन आएको छ । पहिला खासै कसैसँग बोल्दिन थिएँ । कुनै समस्या आयो भने त्यसबाट टाढा भाग्थेँ । जब, उद्घोषण पेशालाई नै करिअर बनाउँछु भनेपछि आफूभित्र भएको कमजोरीहरूलाई हटाउँदै गएँ ।
देशका युवापुस्ता विदेशिँदै गएका छन् । यसलाई कसरी हेर्नुहुन्छ ?
विदेशिनुलाई एउटा अनुभव प्रयोगशालाको रुपमा लिन्छु । एउटा छुट्टै परिवेश, भूगोल र समाजमा हामीले नयाँ कुरा सिक्न पाउँछौँ । तर, त्यो भन्दैमा नेपालमा केही छैन भन्ने पनि होइन । खाशमा नेपालमा रोजगारीको समस्या छ । राज्य सिस्टममा चलेको छैन । यसो भन्दैमा विदेशिनु राम्रो होइन । मेहनत गर्यो भने युवाहरु विदेशिनु पर्दैन । म आफैं पनि हरेक ठाउँमा अवसर खोज्ने काम गर्छु, जसले गर्दा म आफैंलाई विदेशिनुबाट रोकेकी छु ।
सिर्जनात्मक कार्यले जीवनलाई कतिको सहजता बनाउँछ ?
सिर्जनात्मक कार्यले जीवन पद्धतिलाई सहज बनाउँछ । तपाइँभित्र भएका प्रतिभालाई उजागर गर्न सुरुमा गाह्रो होला । तर, आफ्नो कुराहरू अभिव्यक्त गर्नु निकै जरुरी हुन्छ । जसले गर्दा प्रतिफल सुखद मिल्छ ।
नेपालको शिक्षा प्रणालीलाई युवाको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?
हाम्रो शिक्षा प्रणाली व्यवहारिकभन्दा पनि सैद्धान्तिक बढी छ । विषयको कुरा गर्दाखेरि विद्यार्थीले कस्ता विषयमा रुचि राख्छन त ? मैले विद्यालयमा पढाईमात्र नभइकन विभिन्न क्रियाकलापमा भाग लिने काम गर्थे । जसले गर्दा आज मलाई अगाडि बढ्न मद्दत पु¥याएको छ । नेपालको अबको शिक्षा प्रणाली युवा लक्षित हुनुपर्छ ।
महिला सशक्तिकरणलाई कसरी बुझ्नुभएको छ ?
महिला सशक्तिकरण एउटा गहन विषय हो । एउटी महिलाले आफ्नो खुट्टामा उभिने, कसैसँग निर्भर नरहेर निडर साथ अगाडि बढ्ने र आफ्नो क्षमता र सोचलाई खुलस्तले सबैसँग बाँड्न सक्ने अवस्था हुनुपर्छ । जसले एउटा सक्षम समाज र देश बन्न मद्दत गर्दछ ।
राजनीतिमा महिलाको भूमिकालाई कसरी लिनुहुन्छ ?
आज हाम्रा दिदीबहिनीहरू हरेक क्षेत्रमा काम गर्दै आइरहनुभएको छ । चाहे त्यो बैंक होस् वा हस्पिटल । प्रशासन वा राजनीतिक, तैपनि नेतृत्व तहमा कमै देखेका छौँ । अहिले पनि हामी पुरुषप्रधान समाजबाट अछुतो छैनौँ । परिवर्तन आफैंबाट सुरुवात हुन्छ, त्यसैले आफूमा भएको अलौकिक क्षमतालाई प्रस्फुटन गर्न जरुरी छ ।
एउटा राम्रो उद्घोषक कसरी बन्न सकिन्छ ?
उद्घोषण एउटा सिर्जनात्मक पेशा हो । जति हामीले मेहनत गर्दै जान्छौँ, त्यति नै राम्रो हुँदै जान्छ । तपाइँले सधैँ मेहेनत गरेर काम गर्नुप¥यो । रिसर्च गर्नुप¥यो । कार्यक्रम सञ्चालन गर्नुअघि ढाँचा थाहा हुनुप¥यो । एउटा कार्यक्रम पूरै ‘मास्टर अफ सेरिमोनी’मा सञ्चालन हुन्छ ।