काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी)को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।
काठमाडौंमा छायाँकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । पाउलोको अफिसियल पार्टनरको रुपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ ।
लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाइन्छ । यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले जनाएको छ ।
कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।
जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ‘पाउलो’लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तर्रास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भइसकेको छ ।