Logo
Logo

भिरमहले सबै बेहोस भयौँ


अष्टलक्ष्मी शाक्य

504
Shares

गाउँमा मह काट्ने दिन रहेछ । माधव पौडेल र म मुलाबारीमा थियौँ । बाहिर केटाकेटी, बुढाबुढी र महिला सबै गाउँलेहरूको हल्लाखल्ला भइरहेको थियो । हुन त दुई चार दिनदेखि नै गाउँमा बुढाबुढीको फुर्सद नै थिएन । मह कट्न डोरी बाट्ने काममा साथीहरू व्यस्त देखिन्थे । मैले ती सबैको रमाइलो झ्यालको प्वालबाट हेरिरहेकी थिएँ । खुलेर हेर्न सकिँदैनथ्यो ।

म भूमिगत थिएँ, मेरा बारेमा गाउँलेहरूलाई चिनाउने कुरै थिएन । त्यो दिन सबै गाउँलेहरू लस्करै रमाइलो गर्दै महभिर जंगलतिर गइरहेका थिए । महभिर पिस्कर र तौथली गाउँका बीचमा पर्ने रहेछ । केटाकेटीले मह थाप्न भाँडाहरू बोकेका थिए । युवाहरूले डोरी बोेकेका थिए । चाहिने सबै सामान तयार गरी युद्धमा जाने योद्धाहरू जस्तै उनीहरू गइरहेका थिए । महिलाहरू गाउँमै बसेका थिए । दिनभरी मह काढेर भागबन्डा गरी साँझमा उनीहरू आआफ्नो भरमा फर्किए ।

त्यो दिन भिरमह कस्तो हुन्छ भनेर थोरै चाखेकी थिएँ । धेरै खानु हुँदैन मात्तिइन्छ भन्ने सुनेकी थिएँ । त्यसैले खान डर पनि लागेको थियो । त्यो रात पानी साह्रै प¥यो । मह राखेको भाँडामा छाना चुहिएर पानी भरियो । मह र पानी बराबरी भयो । दुःख गरेर ल्याएको मह फ्याँक्न पनि सकिनँ । के गरी खाने भन्ने चिन्ता भयो ।

मैले प्रस्ताव राखेँ, ‘पानीरोटी खाऔँ न, हुन्न ?’ दाजु र भाउजूले मान्नुभयो । रोटी बेलेर टुक्रा टुक्रा बनाइ मह पानीमा राखेर पानीरोटी बनायौँ । केटाकेटी, दाजु, भाउजू, प्रभात र मैले पानीरोटी साह्रै मिठो मानेर खायौँ । खाएको एकै छिनमा केटाकेटी एक एक गर्दै निन्द्रा लाग्यो भनेर भुँइमा ढल्न थाले ।

मलाई पनि कस्तो कस्तो हुन थाल्यो । एकछिन पछि भाउजू पनि रिँगाटा लाग्यो भनेर त्यहीँ भुइँमा पल्टिनु भयो । नभन्दै प्रभात र म पनि ढल्न पुग्यौँ । दाजु पनि टाउको दुख्यो भन्दै ढल्नु भयो । अगेना वरपर हामी सबै छरपस्ट हुने गरी ढल्यौँ । केही समयसम्म हामीले केही चाल पाएनौँ ।

साँझतिर बल्ल निन्द्राबाट ब्युँझे जस्तो सबैको होस खुल्यो । भिरमहले मात लाग्छ भनेको कुरा आफैले भोगेँ । शरीर पुरै थाकेको महसुस भयो । वैशाख जेठतिर मौरीले लेकाली फुलहरूको रस महमा भर्ने हुँदा विषालु फुलहरूका कारणले महको मात लाग्ने रहेछ । त्यो कुरा पछि मात्रै मलाई थाहा भयो ।

थुन्छेले छोपिँदा
म पिस्करमा पूर्ण थामीको आश्रय स्थलमा बसेको थिए । दिनभरि बुइँगलमा एक्लै बस्दा न्यास्रो लागेको थियो । साँझ पर्न लागेको थियो । घरका कमरेडहरू कामबाट फर्किनुभयो । म पनि तल झरेँ । सबै अगेना वरपर बसेर दिनभरिको गफ गरिरहेका थियौँ । अचानक ओहो ! भन्दै ढोकामै मान्छे आइ पुगिहाल्यो । मलाई पूर्ण कमरेडले थुन्छेले छोपि हाले, त्यसमाथि उहाँहरूका ओछ्यानले पनि छोपि दिए । मलाई सास फेर्न नसकेर उकुसमुकुस भयो र खोकी लाग्ला जस्तो हुन थाल्यो, हल न चल भएर थुन्छेभित्र म लुकेकी थिएँ ।

मान्छे जाँदैन, गफ पनि कति गरेको हो ! दिदीले कुरा छोट्याउन खोज्दा पनि जाँदैन, उसलाई पक्कै पनि शंका लागेको हुनुपर्छ भन्ने लाग्यो मलाई । बल्ल गयो, जाने बितिक्कै मैले थुन्छे खोलेँ, मेरो जिउ पसिनाले निथ्रुक्क भिजेको, एकछिनसम्म सास फेर्न पनि गाह्रो जस्तो भयो मलाई । ‘कमरेड धेरै गाह्रो भयो, कस्तो मान्छे रहेछ, जा भन्दा पनि जाँदैन, शंका गर्याे त्यो मान्छेले’ भनेर दिदीले भन्नुभयो । जति गाह्रो भए पनि सबै मरी मरी हाँस्यौँ ।

भूत भनेर ढुंगा बर्सिदा
एकदिन कमरेड प्रभात र म डाँडा पारखमा जानुपर्ने भयो । त्यहाँ हाम्रो पार्टीको बैठक राखिएको थियो । हामीले सल्लाह ग¥यौँ, दिउँसो हिँड्न अप्ठेरो हुन्छ, साँझ पर्नासाथ हिड्नुपर्ला, ६ घण्टाको बाटो छ, बिस्तारै हिँड्नु पर्ला ।

पिस्करकै मसिली थामीका घरबाट हामी दुवै जना साँझ पर्नासाथ बाटो लाग्यौँ । मैले राती हिँड्दा सजिलो होस् भनेर कहिले लुँगी, कहिले काहीँ पाइन्ट लगाउँथेँ । रात छिप्पिँदै गयो, अँधेरी रात हिँड्न मलाई मुस्किल जस्तै भई रहेको थियो । अँधेरी रातमा म बाटो अझै ठम्याएर हिँड्न सक्दिनथेँ ।

कुकुर एकनासले भुकिराखेका थिए । सुनसान रात, गाउँको बाटो नआएको बेला मलाई सजिलो लाग्थ्यो किनकि, मैले कमरेड प्रभातका अनुमतिले टर्च बाल्न पाउँथेँ । गाउँ आउन लाग्दा कमरेड प्रभातले ‘टर्च निभाउनुस् है’ भन्नु हुन्थ्यो ।

कहीँ टर्च बाल्दै, कहीँ निभाउँदै छामछुम छामछुम गर्दै हिँडिरहेका थियौँ । हुन त हामी दुवै जनासँग टेक्ने लौरो पनि थिए । हामी राती हिँड्दा लौरो बोकेर हिँड्थ्यौँ । लौरो हिँड्नलाई सहारा, अनि सुरक्षा पनि । गाउँ डाँडापारी थियो, म टर्च बाल्दै निभाउँदै हिडिरहेँ, गाउँ आउन लाग्यो, टर्च निभाएँ ।

गाउँ नजिकै मात्र के पुगेका थियौँ हामीमाथि ढुंगा बर्सिन थाले । ‘भूत ! भूत ! भूत ! नजिकै आउँदै छ हान हान’ भन्ने आवाज हाइरह्यो । नजिक जाऔँ ढुंगाले लागेर टाउको फुट्ला भन्ने डर, फटाहाको घर प¥यो भने अर्को आपत् पर्ने । के गर्ने ? एउटा उपाय त सोच्नै पर्याे ।

कमरेड प्रभात यस्ता कुरामा सिपालु भइसक्नुभएको थियो । ‘हामी भूत होइन, डाँडापाखर जान लागेको हो, डाक्टर हौँ’ भन्दै कराउँदै नजिक जानु भयो, म पनि सँगै गएँ । ‘किन राती हिँडेको त’ भने । ‘हामी त भूत आयो भन्ठानेको, परैदेखि कहिले बत्ती बल्छ, कहिले निभ्छ, झन् नजिक आयो भूत’ भन्दै मान्छे जम्मा भइसकेछन् ।

‘हामी पशु डाक्टर हौँ, डाँडा पारखमा पशु बिरामी परेको खबर आयो, त्यसैले राती नै हिँडेको,’ कमरेड प्रभातले भन्नुभयो । हाम्रो कुरा पत्याएर होला ‘ल जानुस् बिस्तारै’ भनी बाटो खुल्ला गरिदिए । हामी दुवै जना केही पर पुगेपछि मरी मरी हाँस्यौँ । बाटो लामो भएकाले उज्यालो नहुँदै हामी बैठक बस्ने ठाउँमा पुग्नुपर्छ भन्दै कहीँ कतै आराम नगरी जति गाह्रो भए पनि रातभरि हिँडेर ठाउँमा पुग्यौँ । भूमिगत कालमा यस्तै उपाय र शैली अपनाएर हामी पार्टी काम जोगिएर गर्थ्यौँ ।

(शाक्यको पुस्तक मेरो पाइला, मेरो अनुभवमा प्रकाशित सामाग्रीको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्