Logo
Logo

‘एकैनास त सधैँ कहाँ हुन्छ र ?’


3.2k
Shares

कुनै समय रविना अधिकारीका लागि मोडलिङ रहरमात्र थियो । तर, अहिले उनको सोच बदलिएको छ । अहिले उनलाई मिहिनेत गरियो भने मोडलिङ पनि ‘करिअर’ बन्न सक्छ भन्ने लागेको छ । रुविना मोडल मात्र नभएर एक कुशल नृत्यांगना पनि हुन् ।

रहर र साथीहरूको लहलहैमा मोडलिङमा लागेकी रुविनाले रहर र सिकाइमै करिब नौ वर्ष बिताइन् । रुविना भन्छिन्, ‘सुरुमा रहरले मोडलिङ गर्न थालेकी हुँ । तर, अहिले पेसा बनाएकी छु ।’ नाम र दाम दुवै भएकाले मोडलिङलाई नै करिअर बनाउन सकिन्छ भन्ने उनको ठम्याइ छ । चार सयभन्दा बढी म्युजिक भिडियो र सात सय बढी स्टेज शो गरिसकेकी रुविना भन्छिन्, ‘एक किसिमले यो क्षेत्रका लागि म आफैँलाई भाग्यमानी ठान्छु ।’ मोडल तथा नृत्यांगना रुविना अधिकारीसँग रेजिना पाण्डेको जम्काभेट :

तपाईँको मोडलिङ यात्रा कसरी सुरु भयो ?
म यो क्षेत्रमा रहरै रहरमा लागेको हुँ । यो क्षेत्रमा चिनजानकी दिदी लोकगायिका सरिता खनालले आफ्नो गीतमा मोडलिङ गर भनेपछि मैले काम सुरु गरेको हुँ । सुरुमा यो क्षेत्रमा आउन निकै गाह्रो भयो । तर, बिस्तारै घरपरिवारलाई कन्भिन्स गराएर रहरले मोडलिङमा लागेकी हुँ । तर, अहिले क्षेत्र मेरो कर्मथलो बनेको छ ।

मोडलिङमा लाग्नुभएको कति भयो ?
मोडलिङ सुरु गरेको लगभग दश वर्ष हुन लाग्यो । यस अन्तरालमा मैले चार सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेको छु भने सात सय बढी देश–विदेशको स्टेज कार्यक्रम गरेकी छु ।

तपाईँ किन लोकदोहोरी गीतमा मात्र मोडलिङ गर्नुहुन्छ ?
मेरो मोडलिङको सुरुवाती नै लोकदोहोरी गीतबाट भयो । जुनेबेल मैले मोडलिङको काम सुरु गरेकी थिएँ, त्यतिबेला लोकभाका र लोकदोहोरी एकदमै धेरै बन्थे । लोकगीतको चाम पनि थियो । त्यसैबेला मैले एकपछि अर्को लोकदोहोरी गीतमा मोडलिङका लागि अफर आउन थाल्यो । अहिले पनि लोकदोहोरीमै बढी अफर आउँछ ।

मोडलिङको पहिलो अवसर कसरी मिल्यो ?
लोकगायिका सरिता खनालले नै मलाई पहिलोपटक मोडलिङका लागि ब्रेक दिनुभएको हो । उहाँको ‘तिम्रो मन’ बोलको गीतबाट मेरो मोडलिङ यात्रा सुरु भयो ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
काममै व्यस्त छु । कहिले स्टेज कार्यक्रमको तयारी गरिरहेको हुन्छु भने कहिले भिडियो सुटमै व्यस्त हुन्छु । जे भनेपनि फुर्सदमा बस्नु परेको छैन ।

तर, पछिल्लो समय भिडियोमा अलि कम देखिनुहुन्छ नि ?
एकैनास त सधैँ कहाँ हुन्छ र ? यो १० वर्षको बीचमा धेरै मोडलहरु आए र आइरहेका छन् । उनीहरूले पनि काम गरिरहेका छन् । काम विभाजन मात्र भएको हो, पहिला चार वटा गरिन्थ्यो भने अहिले दुई वटा गर्छु ।

देश–विदेशमा अवसरहरू पाइरहनुभएको छ । त्यो आफ्नो प्रतिभाले नै हो ?
अवश्य पनि । मैले देश–विदेशमा थुप्रै स्टेज शोहरु गरिसकेकी छु । मेरो मिहिनेत र कामप्रतिको लगाव देखेर होला, मलाई विभिन्न स्टेज कार्यक्रमका लागि बोलाउनुहुन्छ । २०७३ मा महायात्राले गरेको टुरमा जाने अवसर मिलेको थियो । त्यतिबेला मैले दुबई, कतार, अष्ट्रेलियालगायतका देशहरूमा जाने अवसर पाएकी थिएँ ।

तपाईँ डान्सर भएर मोडल कि मोडल भएर डान्सर ?
म बच्चादेखि नै नाच्थेँ । तर प्रोफेशनल रुपमा चाहिँ मोडल भएपछि डान्सर भएको हुँ । काम गर्दै जाँदा डान्स पनि सिके ।

मोडल बन्नलाई कस्तो गुण चाहिन्छ ?
यस्तै हुनुपर्छ भन्ने निश्चित मापदण्ड छैन । तैपनि, शारीरिक बनावट, हाइट, राम्रो र आकर्षण ज्यान तथा फेसनलाई बुझेको अनुशासित हुनु राम्रो होला ।

फिल्ममा नायिका हुने सोच छैन ?
सोच छ । तर, अवसर आएको छैन । यदि राम्रो फिल्ममा अवसर आयो भने पक्कै सोच्ने छु ।

विवाहको बारेमा केही सोच्दै हुनुहुन्छ ?
उमेर पुगेको छोरी हुँ । घरमा कुरा भइरहेको छ । हेरौँ, दिन आएपनि अवश्य होला नि ।

फुर्सदमा के गर्न मन पराउनुहुन्छ ?
मलाई फुर्सद नै हुँदैन । सुटिङ, नृत्यलगायत आफ्नै कामहरू भइरहन्छ । यदि खाली भइहाल्यो भने साथीभाइ भेट्छु । कतिले अन्तर्वार्ताको लागि बोलाउनुहुन्छ, त्यतातिर जान्छु ।

प्रतिक्रिया दिनुहोस्