Logo
Logo

कम्युनिष्ट आन्दोलन र क्रान्ति आफैँमा आशाको विज्ञान


अशेष घिमिरे, केन्द्रीय सदस्य, नेकपा (एकीकृत समाजवादी)

13.3k
Shares

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन अर्को हप्ता राजधानीको प्रभा भवनमा आयोजना हुँदै छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनलाई साझा दस्ताबेजका रुपमा प्रस्तुत गरिँदै छ ।

यही असार १६ देखि २० गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । नेतृत्वमा रूपान्तरण, हस्तान्तरण कि पुस्तान्तरण भन्ने बहस चलिरहेको छ । नेताहरूबिच महाधिवेशनको रस्साकस्सीमा लागेका छन् । पार्टी महाधिवेशन र भावी नेतृत्वको विषयमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंशः

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै छ । तयारी कस्तो भइरहेको छ ?
देशभरिबाट प्रतिनिधि छनोट भएको अवस्था छ । केही ठाउँमा सानातिना विवाद र कतिपय कुराहरू बाँकी छन् । यो पार्टीको १०औँ महाधिवेशनलाई नेपालको कम्युनिष्ट आन्दोलनको समग्र इतिहासमा कोशेढुंगाको रुपमा, एउटा पानी ढलोको रुपमा विकास गरेर अगाडि बढ्नका निम्ति सिंगो आयोजक केन्द्रीय कमिटी तत्पर छ ।

एमालेबाट व्रिदोह गरेर पार्टी गठन भएको तीन वर्ष पुग्दै छ । तर, महाधिवेशन चाहिँ १०औँ भनियो किन ?
यो पुष्पलालले गठन गरेको पार्टीको निरन्तरता हो । यो मदन भण्डारीले अगुवाइ गरेको र खासगरी, उहाँको नेतृत्वमा अगाडि बढेको जुन विचार थियो (२०४६ देखि २०६३ को जनक्रान्तिसम्मको कालखण्ड), त्यो विचारअन्तर्गत चलेको पार्टी हो । हामीले नै विगतमा एमालेको नवौँ महाधिवेशन गरेका थियौँ । नवौँ महाधिवेशनमा नीति एकातिर, नेतृत्व अर्कातिर भयो । त्यसकारण महाधिवेशनले पारित गरेको नीति नेतृत्वले कार्यान्वयन गरेन । समाजवादी क्रान्तिको दिशामा पार्टी अगाडि बढ्नुपर्ने बेला केपी शर्मा ओलीले लगभग दुईतिहाइको बहुमत रहेको संसद् नै भंग गर्ने काम गरे । पार्टीलाई फाँसीवादी बाटोतर्फ अगाडि बढाउने काम भयो । त्यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो । त्यसैले यो १०औँ महाधिवेशन हो ।

विद्रोहको औचित्य पुष्टि भयो त ?
विद्रोहको औचित्य स्वतःस्पष्ट ढंगले पुष्टि भएको छ । र, यो समयक्रममा थप पुष्टि हुँदै जानेछ । नेपालमा खासगरी २०६२÷०६३ को जनक्रान्तिपछि समाजवादी क्रान्तिको बाटोमा, पुँजीवादविरुद्धको संघर्षको बाटोमा कम्युनिष्ट आन्दोलनलाई हिँडाउनुपर्ने थियो । तर, त्यसो नगरेर अहिले पनि जनवादी क्रान्तिकै कार्यक्रम लिएर, अहिले पनि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छैन भनेर जसरी आम जनमानसमा भ्रम फैलाउन खोजिएको छ ।

र, दक्षिणपन्थी यथास्थितिमा रमाउन खोजिएको छ । यो कुराको विरुद्धमा जुन विद्रोह भएको थियो । यसले स्वतःस्फूर्त रुपमा औचित्य साबित गरेको छ । अब पुँजीवादविरुद्धको संघर्ष खासगरी दुईखाले पुँजीवाद– एउटा विश्वव्यापी रुपमा आएको पुँजीवादी चरित्रमा जुन परिवर्तन आएको छ । जसले उद्यम/उद्यममा लगानी गर्दैन । जसले रोजगारी सिर्जना गर्ने काममा लगानी गर्दैन । त्यसको साटो कुनै पनि वस्तु र सेवाको उत्पादन नगर्ने वित्तीय पुँजीवाद आज हाबी छ । र, नेपालको सन्दर्भमा त्यसको सेवा गर्ने दलाल, पुँजीपति वर्ग, जो वित्तीय पुँजीवादको नियमअनुसार आफूलाई चलाउँछन् ।

तिनीहरू दलाल पुँजीवादको रुपमा अगाडि बढाइरहेका छन् । त्यसका विरुद्ध संघर्ष गर्न समाजवादी क्रान्तिको कार्यक्रम चाहिन्छ । त्यसैले समाजवादी क्रान्तिको कार्यक्रम हिजोको नेकपा एमालेको नामबाट सम्भव भएन । र, आज एकीकृत समाजवादीको नामबाट हामीले अगाडि बढाएका छौँ । यो नै विद्रोहको औचित्य साबित गर्ने पहिलो र अनिवार्य कदम हो । दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्नु र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने असाधारण जिम्मेवारी हाम्रो काँधमा आएको छ ।

समाजवादी क्रान्तिको कार्यक्रम अगाडि बढाउन एकीकृत समाजवादीमा नेतृत्व रूपान्तरण, हस्तान्तरण वा पुस्तान्तरण के को आवश्यकता छ ?
स्वभावतः विचारमा परिवर्तन आइसकेपछि आफैँमा त्यो रूपान्तरण हो । र, नेतृत्वको सन्दर्भमा दुई–तीनखाले कुरा चर्चामा आएका छन् । पुस्तान्तरण भनेको अति वैज्ञानिक र स्वाभाविक प्रक्रिया हो । हामीले यतिखेर ‘पाकाको सम्मान, युवाहरूलाई प्रोत्साहन’ भन्ने नारामा अघि बढ्नुपर्ने बेला छ । किनभने, एक समय निकै धेरै मेहनत गर्नुभएको र नेपालको कम्युनिष्ट आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउनका निम्ति संघर्ष गर्नुभएको नेताहरू हाम्रो पार्टीमा हुनुहुन्छ ।

नवौँ महाधिवेशनको सन्दर्भमा पनि अब युवा पुस्ता तयार भइसकेको छ भनेर उहाँहरू आफैँले धेरै पटक बोलिसक्नुभएको छ । नेपाली समाजले पनि आज एक किसिमले युवा पुस्ताको हस्तक्षेप खोजिरहेको छ । कमिटीका सबै संरचनाहरूमा पार्टीका वडा कमिटीदेखि केन्द्रीय कमिटी, स्थायी कमिटी, पदाधिकारी र सचिवालयसम्म युवा पुस्ता आउन खोजिरहेको छ । नेपालको सन्दर्भमा हाम्रो लडाइँ पुँजीवादविरुद्ध हो । अब हामी समाजवादको तयारीमा समाजवादी संघर्षमा अगाडि बढ्ने भन्ने जुन नयाँ कुरा नेपाली समाजमा गरिरहेका छौँ । त्यसका निम्ति नयाँ पुस्ताको हस्तक्षेप अनिवार्य छ । पाकालाई सम्मान व्यक्त गर्ने, युवाहरूलाई प्रोत्साहन गर्दै अगाडि बढ्ने र सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने बाटोमा हामी लाग्ने छौँ ।

माधवकुमार नेपाल जसले १४ वर्ष एमालेको नेतृत्व गर्नुभयो । प्रधानमन्त्री पनि बनिसक्नुभयो । अहिले एकीकृत समाजवादीको पनि अध्यक्ष हुनुहुन्छ । सम्मानित नेता झलनाथ खनालले पनि एमालेको नेतृत्व गरिसक्नुभयो । प्रधानमन्त्री पनि बनिसक्नुभयो । उहाँहरूले फेरि अध्यक्ष बन्ने गरी तयारी गरिरहेको अवस्थामा पुस्तान्तरण सम्भव होला त ?
जतिबेला उहाँहरूले पार्टी नेतृत्व गर्नुभएको थियो, त्यतिबेला उहाँहरू पनि युवा नै हुनुहुन्थ्यो । पुस्तान्तरण हरेक युवामा हुँदै आएको छ । यो हुँदै जान्छ । अर्को कुरा, उहाँहरूले नेतृत्वको निम्ति जुन आकांक्षा राख्नुभएको छ । त्यहाँ ठूलो तलमाथि पर्ने गरी, पार्टीलाई ध्वंस र विभाजनतर्फ लाने गरी उहाँहरूको भूमिका हुन्छ जस्तो मलाई लाग्दैन । उहाँहरू समेतको सल्लाहमा नेतृत्व सर्वसम्मत ढङ्गले चुनिने परिस्थिति सिर्जना हुन्छ ।

महाधिवेशन प्रतिनिधि कुन हिसाबले आइरहेका छन् ?
महाधिवेशन प्रतिनिधि छनोट उत्साहजनक रुपमा सम्पन्न भएको छ । धेरै ठाउँमा हाम्रो महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत ढङ्गले चयन गरिएका छन् । त्यसमा एक अंश पनि गुटबन्दीको देखिँदैन । यही मूल नेतृत्व हुनै पर्छ, यो हुनै हुँदैन भन्ने भन्ने किसिमको बहस हाम्रो पार्टीको प्रतिनिधि चयनमा कहीँकतै देखिएन । यसको अर्थ हो, हामी सर्वसम्मतिमार्फत केन्द्रीय नेतृत्व पनि चयन गर्छौँ । महाधिवेशन प्रतिनिधिहरूको दबाब त्यसैमा हुनेछ ।

कम्युनिष्ट पार्टीमा ‘जसको नीति, उसैको नेतृत्व’ भन्ने गरिन्छ । साझा दस्ताबेजको रुपमा नीति तयार भएको छ । यस्तो अवस्थामा नेतृत्वमा जो आए पनि खासै फरक पर्दैन होइन ?
नेतृत्वमा जो आए पनि फरक पर्दैन भन्नुको अर्थ नेतृत्व जसरी पनि तयार हुनुपर्छ । जसरी पनि एउटै व्यक्तिमा केन्द्रित भएर यो हुनै पर्छ वा यो हुनै हुँदैन भन्न खोजिएको होइन । सबभन्दा पहिला यो पार्टीको निर्माण नै समाजवादी क्रान्तिका लागि भएको थियो । कतिपय साथीहरूले समाजवादी क्रान्तिको अहिले बेला भएको छैन भन्ने कोणबाट पनि छलफल नभएको होइन । तर, पार्टीको सुरुवातबाट नै समाजवादी क्रान्तिको बाटो लिएर अगाडि बढ्ने कम्युनिष्ट पार्टीको रुपमा यसले आफूलाई घोषणा गरेको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकरणको बाटोबाट यो अगाडि बढ्छ भनिएको थियो । त्यसैले नेतृत्वको सन्दर्भमा पनि पुनर्गठन र एकीकरणको निम्ति को सर्वाधिक ज्यादा उपयुक्त हो ? कसका प्रस्तावहरू सर्वाधिक ज्यादा उपयुक्त ठहरिन्छन् ? के गर्दा यो पार्टी ठीक ढङ्गले र प्रभावकारी रुपमा अगाडि बढ्छ ? नेपाली जनतामा आशाको किरण ल्याउने गरी अगाडि बढ्छ ? भन्ने विषयमा महाधिवेशनमा छलफल हुन्छ । र, हामीले सबैभन्दा उपयुक्त विकल्पको निर्णय गरेर अगाडि बढ्ने छौँ ।

शीर्ष दुई नेताले युवा पुस्ता तयार भइसकेको छैन भनेको सुनिन्छ नि ?
शीर्ष नेताले त्यस्तो भनेको जस्तो मलाई लाग्दैन । उहाँहरू विभिन्न कालखण्डमा नवौँ महाधिवेशनको दौरानमा पनि युवा दस्ता तयार भइरहेको छ भनेर आफ्नो वक्तव्य दिनुभएको थियो । अहिले अध्यक्ष एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्नका लागि पुस्तान्तरण भनिएको होइन । केन्द्रीय कमिटीमा नयाँ पुस्ताको हस्तक्षेप कुन रुपमा देखिन्छ ? आज जुन हिसाबले नेपाली समाजले नयाँ अनुहारबाट नेतृत्व खोजिरहेको प्रवृत्ति हामी देखिरहेका छौँ । त्यसलाई एकीकृत समाजवादीले कुन हिसाबले ग्रहसित गर्छ त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो । त्यसकारण नेपाली समाज एकातिर, एकीकृत समाजवादी अर्कोतिर हुन सक्दैन ।

त्यसैले नेपाली समाजको यो आवाजलाई बुझ्ने गरी उपयुक्त विकल्पमा जानुपर्छ । आज कसैलाई गाली गलोज गरेर, बुढाहरूबाट चल्दैन भनेर केही खाले मानिसहरू राजनीतिमा आएका छन् । अग्रज नेतालाई गाली गरेको भरमा आफू स्थापित भएका छन् । हामी त्यो गाली गलोजको बाटोबाट होइन, उहाँहरूका कमजोरीलाई उजागर गर्दै आज कुन अर्को नेता अब्बल छ भनेर भन्न खोजिरहेका छैनौँ । तर, नेपाली समाजले जुन प्रवृत्तितर्फ उन्मुख गराइरहेको छ । जे कुराको माग गरिरहेको छ । कमिटीमा नयाँ पुस्ताको हस्तक्षेपको जुन किसिमले आशा गरेको छ । त्यो कुरा देखिनेगरी एकीकृत समाजवादीले महाधिवेशनबाट निर्णय गर्छ ।

शीर्ष नेताहरूको व्यवस्थापनको विकल्प के हुन सक्छ ? युवा पुस्ताले त्यो पनि सोचेको छ कि ?
देङले माओबारे टिप्पणी गर्दै एक सन्दर्भमा भनेका छन्–हामी माओबारे त्यो काम गर्दैनौँ, जुन ख्रुस्चेभले स्टालिनका सम्बन्धमा गरे । हामी पनि देङ जस्तै अघिल्ला नेताका कमजोरीबारे धेरै चर्चा गरेर सिंगो कम्युनिष्ट आन्दोलनविरुद्ध विषवमन गर्ने प्रवृत्तिसँग चनाखो नै हुनुपर्छ । तसर्थ, उहाँहरू सिंगो नेतृत्वको टिममा रहनुहुन्छ । उहाँहरूको विकल्प भनेको उहाँहरू ओछ्यानमा सुतेर बस्नुपर्छ भनेर कसैले पनि भनेको छैन । यही, कसैले त्यो भन्छ भने त्यो उपयुक्त पनि होइन । क्रियाशीलताको आधारमा, वैचारिक रूपले ठिक ठाउँमा उभिँदासम्म पार्टीले सर्वोच्च स्थानमा राख्छ नै ।

फेरि, विचारको हिसाबले हिजो ठिक ठाउँमा भएको मान्छे आज ठिक ठाउँमा नभएको पनि हुन सक्छ । किनभने, कम्युनिष्ट राजनीतिमा हरेक पल मानिस ठिक ठाउँमा हुनुपर्छ । १० वर्षअघि ठिक भएको भनेर आज कसैले पनि ब्याज खाने कुरा गर्नु हुँदैन । त्यसलाई विज्ञानले पनि मान्दैन । त्यसकारण आज पनि ठिक हुनुपर्छ । भोलि पनि ठिक हुनुपर्छ । हरेक चोटी ठिक हुने बाटोमा हिँड्दै गर्दा कसलाई कुन जिम्मेवारी उपयुक्त हो भन्ने कुरा महाधिवेशनले फैसला गर्छ । उहाँहरूलाई विश्राम दिने, उहाँहरूलाई चुपचाप बस्ने होइन, महत्त्वपूर्ण, राम्रो, सर्वोच्च र सम्मानित भूमिकामा पार्टीले राख्न सक्छ ।

युवा र अनेरास्ववियूमा देखिएका लफडा हेर्दा युवा पुस्तालाई विश्वास गर्ने ठाउँ देखिन्छ त ?
युवा र विद्यार्थी संगठनभित्र भएको अन्तर्विरोधको सन्दर्भ एउटा हो । त्यो खास कारणले भएको छ । त्यो ठूलो कुरा होइन । महाधिवेशनपछि त्यसलाई सहजै मिलाएर लान सकिन्छ । मुख्यकुरा, सिंगो समाजलाई समाजवादी क्रान्तिको बाटोमा लानुपर्नेछ । पार्टी कार्यकर्तामा, आम मानिसको मनोविज्ञानमा, चाहानामा, मानिसको स्वार्थमा, प्राथमिकतामा, छनोटमा, खानेकुरामा पुँजीवादले जसरी आक्रमण गरेको छ । त्यसविरुद्ध लड्ने एउटा समाजवादी क्रान्तिको योद्धा कस्तो हुने ? कस्तो पार्टी हुन्छ ? कस्तो कार्यकर्ता हुन्छन् ? भन्ने कुरामा छलफल चलाउन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यसैले यो कुरालाई पूरा गर्नका निम्ति कोही न कोही त तयार हुनुपर्छ । तयार भएका छन् र न यो कुरा आएको हो । तयारै नभएको भए यस्तो विषय नै आउने थिएन ।

नेतृत्वको आलोचना गर्दा वा आलोचनात्मक चेत राख्दा नेता–कार्यकर्तालाई किनारा लगाउने काम गरिन्छ भन्ने गुनासो सुनिन्छ । कम्युनिष्ट पार्टीका नेताले नेतृत्व सहज रुपमा हस्तान्तरण गरेको देखिँदैन । यस्तो अवस्थामा सहज रुपमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण हुन्छ भन्ने विश्वास छ ?
पहिलो कुरा त आलोचनात्मक चेतलाई जसले मार्न खोज्छ, त्यो कम्युनिष्ट होइन । यदि, आलोचनाको कुरा सुन्न सक्दैन, पचाउन सक्दैन, आलोचनात्मक चेतनालाई प्रवर्द्धन गर्दैन भने त्यो कम्युनिष्ट नेतृत्व पनि हुँदैन । आलोचनालाई गालीको अर्थमा बुझ्ने र आलोचकलाई शत्रुको हिसाबले व्यवहार गर्ने फाँसीवादी चरित्र हो । हाम्रो पार्टी फाँसिवादविरुद्ध छ । फाँसिवादउन्मुख चरित्रविरुद्ध विद्रोह गरेको पार्टी भएको हुनाले यो हिसाबले काम हुन्छ होला जस्तो मलाई लाग्दैन ।

त्यसैले हाम्रो पार्टी नै आलोचनात्मक चेतनालाई केन्द्रीय कमिटीदेखि तल्लो तहका कमिटीसम्म विस्तार गर्ने, प्रवर्द्धन गर्ने र समझदारी बनाउने गरी स्थापना भएको छ । आलोचनात्मक चेतनालाई निर्मूल गरेर समाजवादी क्रान्ति सफल हुँदैन । दोस्रो, यो कुरा बुझेको नेतृत्व भएको हुनाले उहाँहरूले उपयुक्त निर्णय के हुन्छ भनेर सोच, विचार गर्नुहुनेछ । हाम्रो पार्टीको सचिवालयले नै यो हिसाबले निर्णय गर्ने छ । सचिवालयमा नै औपचारिक हिसाबले छलफल गर्नुहुनेछ । महत्त्वपूर्ण कुरा नीति हो । यो नीतिप्रधान पार्टी हो । नीतिमा एकरूपता ल्याउने नेतृत्वले नेतृत्वमा पनि एकरूपता ल्याउनका निम्ति अनेक उपाय र विकल्पहरूको खोजी गर्ने छ । र, उपयुक्त निर्णयमा पुग्नेछ भन्ने मेरो विश्वास छ ।

महाधिवेशनपछि एकीकृत समाजवादीको स्वरूप कस्तो हुन्छ ? अरू पार्टीभन्दा फरक पहिचान कसरी बनाउँछ ?
मैले हाम्रो पार्टीको अध्यक्षसँग पनि भनेको छु । र, अन्य कार्यक्रममा पनि भनेको छु । यो पार्टीमा नयाँ ढङ्गले प्लास्टिक सर्जरी गरेको देखिने छ । भन्नुको अर्थ यदि कतै मुजा परेका छन्, चाउरी परेका छन्, हाम्रो आकाङ्क्षाहरू, आशाहरू, जोसहरू, समाजवादी क्रान्तिको प्रयत्नहरूमा थोरै पनि तलमाथि परेको छ भने यो महाधिवेशनले ती सबै कुरालाई ठीक ढङ्गले एक ठाउँमा उभ्याउने छ । र, यसका कार्यकर्ता, यसको नेतृत्व पङ्क्ति समाजवादी क्रान्तिका लागि तयार, त्यसको नेतृत्व गर्न तयार हुन्छन् ।

जनताको मुक्तिदाताको रुपमा, जनताको सेवकको रुपमा, जनता सँगैसँगै हिँड्ने जनताका प्रतिनिधिका रुपमा, जनताका सुख, दुःखका साथीका रुपमा, पुँजीवादविरुद्धको संघर्षमा समाजवादी आकांक्षा र धेयलाई पूरा गर्ने बटालियनका हिसाबमा काम गर्ने विश्वास जनतामा छर्ने छौँ । आखिर कम्युनिष्ट आन्दोलन, क्रान्ति आफैँमा आशाको विज्ञान हो । आशा भएन भने क्रान्ति सफल हुँदैनन् । हाम्रा व्यवहारबाट, हाम्रा बोलीबाट के प्रकट गर्छौँ ? त्यो कुरा आम जनतालाई बुझाउने छौँ । एउटा मन्त्री भएर पैसा कमाउन घुस खाने मात्र सोच्छ भने कार्यकर्ता मन्त्री हुने, घुस खाने र पैसा कमाउने उद्देश्यले राजनीतिमा लागेको हुनेछ ।

सिंगो नेतृत्व बलिदानमा लागेर पनि गलत धन्दामा लागेका पनि देखेका छौँ । त्यसले एक किसिमको शिक्षण विधि नेपाली समाजमा छरिरहेको छ । हामी त्यसको विकल्पमा सामूहिकको शिक्षण विधि, गालीगलोज नगर्ने, एकले अर्कालाई सहयोग गर्ने शिक्षण विधि चाहन्छौँ । यो महाधिवेशनपछि समाजवादी शिक्षण विधिसहितको सामूहिक संघर्षमा विश्वास गर्ने, एक अर्कामा भरपर्ने र नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका र अनुहार रहेको पार्टी निर्माण गर्ने छौँ ।

महाधिवेशनपछि एकीकृत समाजवादीको मूल नेतृत्व चाहिँ कसले गर्छ ?
मूल नेतृत्व हामी सामूहिक ढङ्गले तय गर्ने छौँ । महाधिवेशन हलले मूल नेतृत्व चयन गर्छ ।

प्रतिक्रिया दिनुहोस्