Logo
Logo

छोटो कविता तर सशक्त


विमल भौकाजी

2k
Shares

हल खचाखच नभए पनि सिट भने कुनै पनि खाली थिएन, दर्शक–श्रोताहरू भरिभराउ थिए । यसो हेर्दा, नाटक हेर्न बसे जस्तो । हुन पनि त्यो एक नाटकघर नै थियो– शिल्पी थिएटर ।

तर, रङ्गमञ्चमा उपस्थित जो व्यक्तित्वहरू थिए तिनलाई देखेर स्पष्ट हुन्थ्यो– त्यहाँ कुनै नाटक मञ्चन हुँदै थिएन । त्यसो त पाश्र्वमा ब्यानर टाँगिएकै थियो– एउटा पुस्तकको सार्वजनिक समारोहको । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कवि छविरमण सिलवालद्वारा लिखित कवितासंग्रह ‘डोरम्याट’को सार्वजनिकीकरण हुँदै थियो त्यहाँ ।

सो सार्वजनिक समारोहको तौरतरिका बिलकुल अलग पाराको थियो, सामान्यतः परम्परागत समारोहहरू भन्दा । निम्ता गरिएका आगन्तुकहरू थिएटरभित्र पस्नुभन्दा अघि ढोकाको संघारमै प्रत्येकलाई ‘खादा’ लगाएर स्वागत गर्दै एउटा सानो झोला थमाउने गरिएको थियो । र, झोलाभित्र थियो– सार्वजनिक गरिने पुस्तक ‘डोरम्याट’ र त्यसका साथ एक पाकेट बिस्कुट ।

जब निश्चित समयभन्दा केही मिनेट अबेर गरेर पुस्तक सार्वजनिक गर्ने तयारी गरियो, गज्जब ! उद्घोषकले घोषणा गरे– ‘तपाईँहरूसँग भएको झोलाबाट किताब निकालेर उठ्नुहोस् !’

सबै आगन्तुकले उठेर हातमा रहेको किताब एकसाथ उठाएर देखाए । सँगसँगै मञ्चमा भएकाहरूले पनि त्यसै गरे । तर, सुन्दा पनि अनौठो लाग्छ, त्यत्तिको भव्य कार्यक्रममा पनि फिटिक्कै ताली बजेन । बजोस् पनि कसरी, एक हातमा किताब भएपछि ! एक हातले ताली बज्छ र ?

‘पुस्तक सार्वजनिक गरिइदिनुभएकोमा सबैलाई धन्यवाद ! अब मन लाग्छ भने बसेर ताली बजाउन सक्नुहुन्छ ।’ उद्घोषकले यति भनिनु के थियो, हल तालीको गडगडाहटले गुञ्जायमान भयो । सम्भवतः यस खालको पुस्तक सार्वजनिकीकरण भएको यो पहिलोपल्ट देख्दै थिएँ मैले ।

उद्घोषकको बागडोर सँभालेका थिए स्वयं कवि छविरमणले । पुस्तक सार्वजनिक भएलगत्तै उनले भने– ‘कार्यक्रम समापन भएपछि, बाहिर चिया राखिएको छ, झोलामा रहेको बिस्कुटसँग खानुहोला !’

कार्यक्रम स्वयं लेखकले नै सञ्चालन गर्ने परम्परा भने हिजोआज यदाकदा देख्ने गरिएको छ । छविले पनि यसलाई अनुसरण गरे, राम्रो देखिएको थियो । त्यसभन्दा अघि बढेर उनले आफूले पाएको÷लिएको उद्घोषणको अधिकारलाई मजासँग उपयोग गरे ।

शायद, रंगमञ्च भएर पो हो कि उद्घोषकको रूपबाट अझ माथि पुगेर नाटकको निर्देशकजस्तो ठाडै निर्देशन दिए– ‘आज सार्वजनिक गरिएको यो किताबमाथि कुनै समीक्षा गरिने छैन ।’

उनको भनाइको सिधा अर्थ बुझिन्थ्यो– कसैले समीक्षा गर्ने कोसिस गर्याे भने उसलाई कडाभन्दा कडा कारबाही हुन सक्छ । उनले थप यो पनि भने कि समीक्षा नगर्ने भन्नुको अर्थ यो पनि नबुझियोस् कि मञ्चमा रहेका व्यक्तिहरूले मलाई शुभकामना दिऊन् ! आफ्नो लागि आफैँले म कसरी शुभकामना मागूँ ?

बडो दिलदार भएर प्रस्तुत भएका छविले आफ्नो रोचक प्रस्तुतिलाई वाह वाह भन्न बाध्य पारिरहेका थिए । जब कार्यक्रम दोस्रो चरणमा उक्लियो, उनले अचम्म लाग्ने गरी दुईवटा कवि–नामलाई सम्बोधन गरे ।

जुन नामहरू उनको अघिल्लो संयुक्त कवितासंग्रह ‘सहृदयी स्वरहरू’ (२०५९) का सहयात्री कविको नाम थियो । पहिले अनन्त वाग्लेलाई मञ्चमा बोलाए र नवनीत ‘डोरम्याट’बाट एउटा कविता वाचन गर्न लगाए । लगत्तै, रमेशप्रसाद सागरलाई उसरी नै बोलाएर पुस्तकबाटै अर्को कविता वाचन गर्न लगाए ।

यहाँनिर आगन्तुकहरूबीच सामान्य खासखुस चल्यो, जब उनले ‘पी–सेभेन’ समूह बनाएर प्रकाशन गरेको आफ्नो दोस्रो संयुक्त कवितासंग्रह ‘यतै कतै’का सहयात्री कविहरूको नाम लिए ।

अँ, सासखुसको विषय थियो– छविले आफ्नो पहिलो ‘त्रि–समूह’को क्याम्प किन तोडे र सात कविहरूको नयाँ समूह बनाए ? सन्देह गहिरो थियो– राजनीतिक पार्टीहरू फुटे जस्तो मन वा एजेन्डा नमिलेर हो कि ? जवाफ खोज्दाखोज्दै एक अनुपस्थित सहयात्री कविबाहेक अन्यलाई क्रमैसँग मञ्चमा बोलाएर डोरम्याटबाटै छुट्टाछुट्टै कविता वाचन गर्न लगाए । जसमा– टंक उप्रेती, प्रोलास सिन्धुलीय, ठाकुर बेलबासे, आरएम डंगोल, मणि लोहनी थिए ।

कविता–वाचनको कार्यक्रमको सिलसिला छविले आफ्नो मनलाई नढाँटीकन खुलेर बताए– ‘आफ्नो कविता आफ्नै सामुन्ने अरूको आवाजमा सुन्दा त मैले पनि राम्रै कविता लेखेछु भन्ने लाग्यो । केवल भनाइमा मात्रै होइन त्यो भनाइको मर्मलाई आत्मसात् गर्न सकिने किसिमको छविरमणको त्यो विनम्रताले साँच्चिकै कविताको गरिमा बढाएको थियो । त्यसैले त, कार्यक्रम आफ्नो मन्तव्य राख्नेहरूले छविको चाहनाझैँ डोरम्याटको बारेमा कसैले केही बोलेनन् । बोले त छविकै व्यक्तित्वको बखान गरे ।

यसैबीच छविले ‘कालो कफी’को कुरा उप्काए । ठमेलस्थित उनको व्यापारिक कक्षमा आफूलाई भेट्न जानेहरूलाई उनले कालो कफीले स्वागत गर्ने गरेको रहस्य खोल्दै भने– ‘मेरो कफी–शप भनेर चाहिँ कोही पनि नझुक्किनु होला । आगन्तुक साहित्यिक पाहुनाहरूसँगको जमघटको मेसो मात्रै हो त्यो ।’

हुन पनि जोकोही लेखक–कविले उनीसँग भेटघाट गर्ने क्रममा उनको दोकान न्युरोडको पिपलबोटझैँ ठमेलको एउटा सानोतिनो ‘हब’ नै बनिसकेको छ भन्दा अत्युक्ति नहोला । एक हिसाबले, अग्रज कवि कृष्णभक्त श्रेष्ठको वासस्थान रहेको गल्लीको त्यो सानो क्षेत्रमै भए पनि छविरमणको ‘कवि–छवि’ त्यहाँ स्थापित नै भइसकेको छ भने पनि हुन्छ ।

‘डोरम्याट’ सार्वजनिक हुँदा त्यहाँ यसको कुनै चर्चा नचलाइए पनि यहाँ सानो टिप्पणी गर्न आवश्यक ठानेको छु । शीर्षक–कविता ‘डोरम्याट’को पहिलो पंक्तिदेखि नै छविको कविता–लेखन बुलन्द रहेको देखिन्छ ः

“महाराज !
सदियौँदेखि मैले
खाइरहेछु हजुरको लात
भन्नुस् त, अब कतिञ्जेलसम्म चल्नेछ
मेरो छातीमाथि हजुरको क्रिडा ?”

पुस्तकभित्र अन्याय, अत्याचारको प्रतीकात्मक रूपलाई ‘डोरम्याट’ले यसरी कवितात्मक तवरबाट प्रस्तुत गर्न सक्नुले कविताको मूल शक्तिलाई पुष्टि गर्दछ । मूलतः समयलाई सम्बोधन गरिएका कविताहरूले आधिपत्य जमाएको छ पुस्तकभित्र ।

अर्कोतर्फ ‘स्मृतिमा बा’, ‘आमा’, ‘बाको तस्बिरले मलाई हेरिरहेछ’, ‘छोरा’, ‘धूवाँको सिँढी’जस्ता कविताहरूले पाठकको हृदय जित्न सक्ने क्षमता राखेका छन् भने कतिपय कविताहरूमा राष्ट्रप्रतिको चिन्तन भेटिन्छ ।

संग्रहभित्र एउटा छोटो कविता छ, जो यसरी सशक्तताका साथ बोलेको छ–

“रूख काटेर
धन जोड्नेहरूलाई
भन्दै थियो रूखले–
म बोल्न नसकेरै
हेप्छन्, काट्छन्
मेरो हत्या गर्छन्,
थाहा छैन तिनलाई
मैले नै अन्तिममा खरानी बनाउनुपर्छ ।”

कवि छविरमणलाई आयाममा सानो पुस्तक तर गुणवत्ताको दृष्टिकोणले त्यसभित्रका सगर छुने खालका कविताहरूका लागि आकाशजत्तिकै अनन्त शुभकामना !

प्रतिक्रिया दिनुहोस्