Logo
Logo
जम्काभेट

‘यौन साहित्यबारे खुल्ला बहस हुन जरुरी छ’


1.3k
Shares

कविताबाहेक बढी पढिने साहित्य विधा हो, यौन । विश्व साहित्यमै यौनका कथा बढी पढिन्छ । र, चर्चा पनि यसैको हुन्छ । तर, नेपाली साहित्यमा यौनलाई विधा बनाएर कलम चलाउने लेखकहरू कमै छन् । तीमध्येकी हुन्, सीता पाण्डे

त्यसो त पाण्डे साहित्यका प्रायः सबै विधामा कलम चलाउँछिन् । तर, यौन साहित्यकारका रुपमा बढी चिनिन्छिन् । सीता यौन साहित्यका विषयमा खुला बहसको जरुरी रहेको बताउँछिन् ।

सीता भन्छिन्, ‘विश्व साहित्यको तुलना गर्दा नेपालमा पनि यौन साहित्य लेख्ने लेखक र पाठक उत्तिकै छन् । तर, यसबारे खुला बहस गर्न जरुरी छ ।’ सीताका ‘यौन अनुभूति’, ‘असजिला खुशीहरू’, ‘बन्धकी खुशीहरू’ कथासग्रह, ‘अन्तर्द्वन्द्व’ लघु उपन्यास जस्ता कृतिहरू प्रकाशित छन् । पछिल्लो समय अमेरिका बस्दै आएकी उनी हाल नेपालमा छिन् । साहित्यकार सीता पाण्डेसँग रेजिना पाण्डेको जम्काभेट :

नेपाल बसाइँ कसरी बितिरहेको छ ?
भर्खरै अमेरिकाबाट नेपाल आएकी हुँ । त्यसैले साथीभाइ र आफन्तजनसँग भेटघाटमै व्यस्त छु । साथै, साहित्यिक कार्यक्रमहरूमा पनि सहभागी भइरहेकी छु । सायद मेरो दुई महिना अब यसरी नै बित्नेछ ।

लामो समयपछि नेपाल आउँदा नेपाली साहित्यिक क्षेत्रमा के फरक पाउनुभयो ?
पहिलो कुरा लेखकहरूको संख्या बढेको जस्तो लाग्यो । नयाँ साहित्यकारहरूको आगमनसँगै बजारमा नयाँ पुस्ताका धेरै पुस्तकहरू पाउँदा खुशी लाग्यो । केही नयाँ र पुराना साहित्यकारहरूको किताब मेरो हातमा परेको छ । फुर्सदमा समय मिलाएर पढ्ने योजना बनाएकी छु ।

अहिले नेपाली साहित्यिक क्षेत्रमा लेखक धेरै र पाठक कम भए भनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । फरक यत्ति हो कि पहिले किताब किनेर पढ्थे, अहिले युट्युबहरूमा सुन्ने चलन आएको छ । हातहातमै भएको मोबाइलले गर्दा किताब किनेर पढ्ने चलनचाहिँ कम भएको छ ।

अमेरिकामा नेपाली साहित्यको अवस्था कस्तो छ ?
साहित्य आफैँमा एउटा भूगोल हो । त्यसैले यहाँ र त्यहाँ उस्तै छ । अमेरिकामा यहाँबाट गएका साहित्यकारहरू लेखिरहनु भएको छ । पढ्न मन लाग्ने नेपाली सिर्जनाहरू अमेरिकामा पनि पाइन्छ । जसलाई पढ्न मन लाग्छ, उसले खोजी खोजी पढेको हुन्छ ।

तपाईँलाई अमेरिकामा साहित्य लेख्ने-पढ्ने समय मिल्छ ?
कामको व्यस्तताबाट समय निकालेर भएपनि लेख्न र पढ्न छोडेकी छैन । म प्रायः लेखिरहेकी हुन्छु । अमेरिकामा हुँदा नेपाली साहित्यप्रति अझ बढी चासो हुन्छ ।

यौन साहित्यकारका रुपमा चिनिनुहुन्छ । लेखनमा यौनलाई कसरी अँगाल्नुभयो ?
म जुनबेला लेख्ने क्रममा थिएँ, त्यो बेला सबै कुरा साहित्यमा आइरहेको थियो । कथा, कविता, निबन्धजस्ता थुप्रै साहित्यिक रचनाहरू आइरहेका थिए । मलाई लाग्यो, पाठकलाई नयाँ केही दिऊँ । त्यतिबेला यौन विषयमा लेख्ने कम थिए । र, मलाई यौन विषयमा लेख्ने सोच आयो । मेरो पहिलो लेखनलाई पाठकले मन पराइदिनुभयो । त्यसपछि लेख्दै गएँ ।

त्यो समयमा यौनका विषय लेख्दा आलोचना भएन ?
विवाद र आलोचना नभएको होइन । तर, हरेक मान्छेको पछि लागेर साध्य हुँदैन । मैले लेखेँ, डर पनि लागेन । लेख्दै जाँदा देखेको र भोगेको कुरा लेखे । समाजभित्रकै चित्रण उतार्ने प्रयास पनि गरेँ ।

यौनका बारेमा लेखिएका तपाईँका कृतिहरू खुबै बिक्री भयो रे नि ?
हो, पाठककै लागि लेखेकी थिएँ । त्यतिबेला मेरो कृतिहरू ‘असजिला खुशीहरू’ र ‘बन्धकी खुशीहरू’ कथासग्रह, ‘अन्तर्द्वन्द्व’ लघुउपन्यास धेरै बिक्री भयो । ‘यौन अनुभूति’ भन्ने किताब पनि धेरै पढियो । अहिले पनि नयाँ भाइबहिनीहरूले सामाजिक सञ्जालमा मेरो कथाहरू पढिरहन्छन् । मेरो सफलता सायद यही हो ।

यौन साहित्य धेरै लेखिन्छ, तर किन विवादमा पर्छ ?
यसको कारण मान्छेको आडम्वरी सोच हो । विश्व साहित्यको तुलना गर्नुहुन्छ भने नेपाली यौन साहित्य लेखक र पाठक उत्तिकै छन् । तर, हामी बदल्ने कोसिस नै गदैनौँ । अरुलाई आलोचना गर्न पाए पुग्छ । पढ्दै नपढी निष्कर्षमा पुग्नु गलत हो । जसले यौन साहित्य खोजी खोजी पढ्छ, आलोचना पनि त्यही व्यक्तिले गर्छ । सायद यो विषयमा खुल्ला बहस नभएर होला । यौन साहित्यको विषयमा खुल्ला बहस हुन जरुरी छ ।

तपाईँको ‘यौन अनुभूति’ कृति विवादित बन्यो, किन ?
हो, तर त्यही पुस्तक चर्चित भयो । धेरै पाठकको रोजाइमा पनि प¥यो । उक्त कृति प्रकाशन भएको वर्षाैँ भयो, तर अझैपनि खोजी भइरहेको छ । उक्त कृतिमा महिला समानता, महिला अधिकार र महिलाका मनोविज्ञानका कुराहरू लेखेको छु । साथै, आफ्नै बारे पनि लेखेको छु । यौनको विषय लेख्नु कुनै अपराध होइन ।

यौन साहित्य लेख्दा पात्र चयन कसरी गर्नुहुन्छ ?
यही समाजमा भएका घटना, विसंगति र देखे÷भोगेका अनुभवका आधारमा पात्र चयन गरेर लेखेको छु । मैले लेख्ने यौन साहित्यमा समाजभित्रकै पात्रहरू हुन्छन् ।

तपाईँका लागि साहित्य के हो ?
मेरो लागि साहित्य एउटा खम्बा हो । जसमा आड लगाएर आनन्द लिन सक्छु ।

आजभोलि लेखनयात्रा कस्तो चलिरहेको छ ?
लेखिरहेको छु । चाँडै तीन पुस्तक बजारमा ल्याउने तयारीमा जुटेकी छु । निबन्ध र कविता साहित्यका थप दुई पुस्तक पनि तयार गर्दै छु ।

तपाइँ पुस्तक कतिको पढ्नुहुन्छ ?
भ्याएसम्म पढ्छु । नयाँ तथा पुराना लेखकको किताबहरू, देश–विदेशका साहित्यकारहरूको किताबहरू धेरै पढेको छु । मलाई भारतीय साहित्यकार निर्मल बर्माको किताबहरू मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्