Logo
Logo

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल


252
Shares

तनहुँ । यहाँस्थित आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ । क्षेत्रीले भने, “केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ ।”

लामो समयको प्रयासपश्चात अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाउँदैछ ।” अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको उहाँले जानकारी दिए ।

चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहे पनि उपकरण अभावमा सेवा सुरु गर्न ढिलाइ भएको चुमानले बताए । उनले भने, “अस्पतालमा हामीसँग तत्काल शल्यक्रिया सेवा सुरु गर्न जनशक्ति तयारी अवस्थामा छ, तर उपकरण अभावले सेवा सुरु गर्न सकेका थिएनौं ।”

विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्न, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल मै अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुनामले बताए । उनले भने, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनुपर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्