काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेशपायल राई लण्डनमा गुञ्जिएका छन् । सिसेक्पा तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गरेको ‘राजेशपायल राई लाईभ कन्सर्ट’मा प्रस्तुत भएका राजेशपायलले झण्डै तीन घण्टा लगातार दर्शक झुमाए ।
आफ्नो पछिल्लो चर्चित गीत ‘मैले मायाले दिएको चिनो’ गाउँदै स्टेज उक्लिएका राजेशपायललाई न झरी रोक्यो, न त थकानकै महशुस गरे । खुला आकाशमुनि आयोजना गरिएको कार्यक्रममा सिमसिम पानी परिरहेको थियो । तर, असारे झरी न दर्शक रोकिए, न राजेशपायल । राजेशपायलले सांगीतिक माहोल तताउँदै जाँदा दर्शकले रुझ्दै साथ दिइरहे ।
सिमसिमे पानीमा रुझ्दै राजेशपायलले आफ्ना लोकप्रिय र चर्चित गीतहरु गाउँदै जाँदा दर्शकदीर्घामा बेग्लै रौनकता छाएको थियो । कार्यक्रममा राजेशपायलले करिब तीन दर्जन गीत गाएका थिए । नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ एवं ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल नेपालकै व्यस्त गायक पनि हुन् । पछिल्लो समय ‘स्टेज किङ’का रुपमा समेत चिनिएका राजेशपायल व्यस्तताकै दौडानमा लण्डन पुगेका हुन् ।
सांगीतिक वल्ड टुरका क्रममा हङकङ, दवई हुँदै लण्डन पुगेका राजेशपायल यसपछि क्यानडामा प्रस्तुत हुँदैछन् । क्यानडामा उनी २० जुलाईमा सांगीतिक धमाका मच्चाउने भएका छन् । व्यस्त सेड््अलमा रहेका राजेशपायल राई लण्डनबाट सिधैं क्यानडा जानेछन् ।
लण्डनमा सोेचभन्दा राम्रो सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको उनले प्रतिक्रिया दिए । राजेशपायलले भने, ‘लण्डनको कार्यक्रम भव्य र सभ्य भएको छ । आयोजकले अपेक्षा गरेअनुसार नै दर्शकको उपस्थिति थियो ।’
आयोजक संस्था किरात याक्थुङ चुम्लुङ युके अध्यक्ष नरवीर आङ्बोले कार्यक्रम सफल भएको बताए । उनले भने, ‘कार्यक्रम सोचेजस्तै सफल भएको छ ।’ चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष खगेन्द्र लावती, केन्द्रीय महासचिव जुरेन्द्र खजुम, विदेशी विभाग प्रमुखकी कमला लिम्बुलगायतले पनि सोचेजस्तै सबै समुदायका दर्शक आएपछि कार्यक्रम सफल भएको बताए ।
सिसेक्पा तङ्नाम लिम्बू सम्ुदायको महान पर्व हो । सोही अवसरमा चुम्लुङ युकेले ‘राजेशपायल राई लाईभ कन्सर्ट’ आयोजना गरेको हो । वर्षातको मौसम भएपनि कार्यक्रम समग्र सफल भएको आयोजकले जनाएको छ । नोट: तस्बिरहरु भिडियोबाट लिइएको हो