काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण बनेको आरोप संसदमा लाग्यो । संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको हैसियतले सम्बोधन गर्ने क्रममा नक्कली भुटानी शरणार्थीको फाइल खोलेपछि कांग्रेस–एमालेको नयाँ समीकरण बनेको आरोप उनले लगाएका छन् । यसको औपचारिक पुष्टि नभएपनि बाहिर हेर्दा यो विषयले निकै चर्चा पाएको छ ।
झाको पक्राउपछि राजनीतिक रुपमै बेचैनी उत्पन्न भएको छ । पक्राउ परेलगत्तै सत्तारुढ र विपक्षी दलका नेताहरूको घरदेखि सिंहदरबारसम्म भइरहेका पारिवारिक र अफिसियल भेटघाट यसैको तरंग भएको बताइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण, नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै राज्य संयन्त्र र मन्त्री एवं कर्मचारी मिलेर रचिएको सुनियोजित षड्यन्त्रमा ठूला दलका नेताहरूका परिवारका सदस्यहरूको नाम आएपछि बेचैनी भएको हो ।
पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा एकैदिन पक्राउ परेका थिए । उनीहरू एकै ठाउँबाट पक्राउ परेका होइनन् । झालाई असार १३ गते भारतबाट कञ्चनपुरको गड्डाचौकी हुँदै १४ गते काठमाडौँ ल्याएर सार्वजनिक गरियो भने, थापालाई त्यसैदिन बिहान कपनबाट पक्राउ गरिएको थियो ।
थापाबाट केही सूचना चुहिने सम्भावना थिएन । तर, झाबाट भने प्रहरीले अपेक्षा गरेको थियो । तर, पक्राउ परेको करिब १७ दिनसम्म पनि प्रहरीले कुनै पनि प्रमाण फेला पार्न सकेको छैन ।
झाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ । तर, उनले केही बताइरहेका छैनन् । उनले आफूलाई कुनै कुरा थाहा नपाएको मात्र भनिरहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका आरोपी भएपनि उनीबाट अहिलेसम्म केही प्रमाण फेला नपर्नुमा भने अनुसन्धान अधिकृतहरू आश्चर्यचकित भएका छन् ।
उनलाई पक्राउ गर्न प्रहरीलाई एक वर्षभन्दा बढी समय लागेको थियो । २०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी गरिरहेको थियो । अन्ततः विशेष ब्युरोले काठमाडौँ ल्यायो । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा जोडिएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि टार्गेटमा परेका थिए ।
त्यही बेला एआइजी श्याम ज्ञवालीको सरुवा भएको थियो । यी सबै प्रकरणले पनि बेचन झा पक्राउ पछि नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक कनेक्सन खुल्ने अपेक्षा प्रहरीको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे नै पक्राउ परेका थिए ।
बेचन झासँग भारतीय दूतावासका कर्मचारीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुसम्मको सम्पर्क रहेकाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुसम्मको कनेक्सनमा पुगिन सक्ने प्रहरीको अनुमान थियो । तर, झाले केही पनि नबोल्दा त्यो आशा मरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्य आरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी पुर्पक्षका लागि थुनामै छन् ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, बेचन झाको सम्पर्क राजनीतिक दलका उपल्ला तहका नेताहरूसँग देखिएको थियो । विगतमा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालासँग नजिक रहेका झा नक्कली भुटानी शरणार्थी प्रकरणमा भने, आरजु देउवासँग नजिक देखिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँग समेत उनको निकट सम्बन्ध देखिएको थियो । प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेकसमेत बरामद गरेको थियो ।
बयानमा समेत केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको उल्लेख छ । झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो ।
त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो । गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्धसमेत उनै झाले बनाइदिएको प्रहरीको दाबी छ । तत्कालीन गृहमन्त्री खाँण र सचिव पाण्डेलाई गिरोहसमक्ष भेट गराउने व्यक्ति नै झा रहेको अनुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन् ।
यतिबेला झाले बोकेका दुई वटा मोबाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ रहेको बताएपछि मोबाइल ल्याबमा पठाइएको हो ।
मन्त्रीपरिषद्बाट निर्णय गराउन सक्छन् भनेर गिरोहका सदस्यहरूले उनलाई दुई करोडको चेक दिएका थिए । उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् ।
झा पक्राउ परेपछि अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा उनले भनेका छन्, ‘चेक च्यातिदिएँ ।’ अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार बैंकमा पेश गर्दा हस्ताक्षर नमिलेपछि सो चेक सटही भएन । सटही नभएपछि कारोबार गरेको देखिएको छैन । केसीले प्रहरीमा बयान दिँदा २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेको बताएका थिए ।