Logo
Logo

भावी सेनापतिको जन्मकुण्डलीमा ओलीको चासो


9.6k
Shares

काठमाडौं । नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानसेनापति अशोकराज सिग्देलको विवादास्पद जन्मकुण्डलीबारे चासो राखेका छन् । विवादरहित संस्थाको रुपमा रहेको एक मात्र संस्था नेपाली सेनाको चेनअफ कमाण्ड टुट्न नदिनेगरी उनको जन्मकुण्डलीबारे प्रधानमन्त्री ओलीले चासो राखेका हुन् ।

आउँदो साउन २५ गते प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा जानुअघि बिदा बस्ने भएपछि प्रधानमन्त्री ओलीले चासो राखेका हुन् । यसैसाता यसअघिका रक्षामन्त्री हरि उप्रेती र अहिले नियुक्त भएका रक्षामन्त्री मानवीर राईलाई सँगै राखेर नेपाली सेना र भावी संगठन प्रमुख बन्ने प्रधानसेनापतिबारे चासो र चिन्ता प्रकट गरेका हुन् ।

दुई घण्टा रक्षामन्त्री राई र उप्रेतीलाई सँगै राखेर हालका प्रधान सेनापतिको भूमिका र अब हुने बलाधिकृत रथि सिग्देलबारे चासो राखेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी रक्षासचिव किरण शर्माको भूमिकाबारे पनि ओलीले चासो राखेका थिए । सेनाजस्तो संवेदनशील पक्षलाई सरकारले चलाउने कुरा छैन तर, त्यसको कमाण्ड गर्ने व्यक्ति खराब हुनु हुदैन भन्ने पक्षमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ ।

सैनिक ऐनअनुसार प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ र एक महिना पदावधि बाँकी छँदै बिदा बस्ने अभ्यास सेनामा स्थापित रहेकाले यही साउन २५ पछि बन्ने सेनापतिबारे बजारमा आएका विषयवस्तुसँग पनि सरोकार राखिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले भावी सेनापतिबारे जानकारी राखेको थाहा पाएपछि नेपाली सेनाले पनि सिग्देलको जन्ममिति विवाद नभएको बताएको थियो ।

अहिलेको अवस्थामा कुनै ठूलो उथलपुथल नभए त्यही दिन अर्थात् साउन २५ गते नै बलाधिकृत रथी सिग्देलले कायममुकायम प्रधानसेनापतिका रूपमा जंगी अड्डाको नेतृत्व सम्हाल्नेछन् । सरकारले सिग्देललाई कायममुकायमको जिम्मेवारी त्यसअघि नै दिइसक्ने छ । भदौ २५ गते उनले महारथीको दज्र्यानीसहित तीन वर्षका लागि नेपाली सेनाको नेतृत्व सम्हाल्ने छन् । सेनाको आधुनिक इतिहासअनुसार सिग्देल ४५औँ प्रधानसेनापति हुनेछन् ।

२०८० असोज ३० गते जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने औपचारिक प्रक्रिया शुरू गरेको थियो । अनिवार्य अवकाशमा जान लागेका रथी सरोजप्रताप राणा बिदा बसेलगत्तै जंगी अड्डाले पाण्डेको बढुवा सिफारिससम्बन्धी सात दिने सूचना निकालेको थियो ।

त्यसबेला प्रधानसेनापति शर्मा चीन भ्रमणमा जाँदै थिए । शर्मा चीनबाट फर्केलगत्तै बढुवा सिफारिस गर्न सजिलो हुनेगरी जंगी अड्डाले सूचना प्रकाशन गरेको थियो ।

सबै कुरा ठीकठाक ढंगले अघि बढेको भए पाण्डे त्यहीबेला बढुवा भएर शर्मापछि प्रधानसेनापति बन्ने रोलक्रममा बस्थे । अर्का रथी सीताराम खड्काले उमेरहदका कारण २०८० पुस ३ गते अवकाश पाएपछि मात्र सिग्देल रथीमा बढुवा हुने थिए ।

सात दिने सूचना प्रकाशन भएलगत्तै पाण्डेमाथि लागेका गम्भीर आरोप सञ्चारमाध्यममा छताछुल्ल भएपछि समस्या प¥यो । नैतिक हिसाबले हेर्ने हो भने सिफारिस गर्ने प्रधानसेनापति र बचाउमा विज्ञप्ति निकाल्ने निकाय पनि समस्यामा परेको थियो । तर, उनीहरूले नैतिकता देखाएनन ।

पाण्डेले एसएलसी उत्तीर्ण गर्दाको शैक्षिक प्रमाणपत्र र क्याम्पसको शैक्षिक प्रमाणपत्रमा उल्लेख शुरूको जन्ममिति सच्याएर उमेर घटाएको दाबीसहितका कागजात बाहिर आएपछि जंगी अड्डा शुरूमा पाण्डेको प्रतिरक्षामै ओर्लिएको थियो । पछि पाण्डेले राजीनामा दिएर सेनाबाट बिदा भएका थिए । त्यसयता एक प्रकारले सेनामा नक्कली शैक्षिक प्रमाणपत्र र जन्ममितिको विवाद बाहिर आउने गरेको छ । यो विषयलाई प्रधानमन्त्रीले चासोको रुपमा लिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्