Logo
Logo

लिलालाई छेकेर शंकरले लिए विष्णुसँगको बदला


16.6k
Shares

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलसँगको बदला लुम्बिनीको मुख्यमन्त्री नियुक्तिबाट लिएको खुलेको छ । गत वर्ष भदौमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पौडेल पक्षका राधाकृष्ण कंडेलले आफ्नो पक्षका हरिप्रसाद रिजलालाई पराजित गरेको बदला महासचिव पोखरेलले मुख्यमन्त्री नियुक्तिमा लिएको खुलेको छ ।

पोखरेल मुख्यमन्त्री रहेका बेला मन्त्री रहेका नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीलाई पार्टी अध्यक्ष केपि शर्मा ओली समेत ‘कन्भिन्स’ गरेर पौडेलसँग बदला लिएका छन् । सामान्यतया संसदीय परम्परामा दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान छ । यदि संसदीय दलको नेताको सट्टामा अन्यलाई पठाउने भए संसदीय दलको बैठकले निर्णय गर्नुपर्ने हो । तर, लुम्बिनी प्रदेशमा भने पौडेल निकट मानिएका रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य गिरी मुख्यमन्त्री हुनबाट बञ्चित भएका छन् ।

साउन ६ गते नेपाली काँग्रेस संसदीय दलका नेतासहित आफ्नै पार्टीका उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुल्सी चौधरी सहितको बैठक बसेर गिरीलाई नै मुख्यमन्त्रीका रुपमा अघि सार्ने समझदारी भएको थियो ।

यतिसम्मकी मुख्यमन्त्रीका लागि गिरीको दावी पेश गर्ने गरी पत्र समेत तयार पारियो । तर, सोमबार विहान एमाले महासचिव शंकर पोखरेलले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई मुख्यमन्त्रीमा संसदीय दलको उपनेता चेतनारायण आचार्यलाई दावी पेशका लागि तयार रहन निर्देशन दिएपछि अवस्थ फेरियो ।

मुख्यमन्त्री बन्ने पक्कापक्की भएका गिरीले सोमबार दावी पेशका लागि आवश्यक तयारी पुरा गरेर तम्तयार बनिसकेका थिए । अकस्मात पार्टी महासचिवले केन्द्रको निर्देशन भन्दै उपनेतालाई मुख्यमन्त्री बनाउने निर्देशन गरेपछि गिरी आश्चर्यमा परेँ । गिरीले पार्टी अध्यक्ष एव्म प्रधानमन्त्री केपि ओलीलाई फोन गरे । फोनमा ओलीले  ‘यसपाली यस्तै भयो’ भन्ने जवाफ दिए । उसै त केन्द्रीय राजनीतिका कारण प्रदेश नराम्रोसँग प्रभावित बनेको छ ।

त्यसमाथि अघिल्लो दिनसम्म मुख्यमन्त्री बनाउने भनेर पत्र नै तयार भइसकेको र संसदीय दलको नेतालाई पाखा लगाइएकोमा गिरीले असन्तुष्टि पोखेका छन् । ‘म के भएँ, के भईन भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमान्दार कार्यकर्तालाई खटेर काम गर्न उप्रेरित गर्दैन, यो संसदीय मूल्य मान्यता विपरितको काम हो’ गिरीले भने ।

उनले पार्टीले हस्तक्षेप गर्नु राम्रो नभएको बताए । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका गिरी पार्टीभित्र समन्वयकारी नेता हुन् । लुम्बिनीमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलविच कार्यकर्ता विभाजित हुँदा पनि मध्यस्तताको भूमिका निर्वाह गर्ने नेता हुन् ।

एमाले पार्टीको केन्द्रीय निर्देशन अनुसार नै सोमबार एमाले संसदीय दलका उपनेता आचार्य काँग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । अपरान्ह पौने ४ बजे बुटवल स्थित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी गरेका थिए ।

प्रदेश प्रमख शेरचनले आचार्यलाई साँढे ५ बजे मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरी र एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको हस्ताक्षर सहित प्रदेश प्रमुखमा दावी पेश गरिएको थियो । आफ्नो नाम काटिएपछि एमाले संसदीय दलका उपनेता गिरी भने आचार्यको दावी पेशमा सहभागी समेत भएनन ।

‘सामान्यतया संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रचलन हो, यदि त्यसो नभएपनि संसदीय दलको बैठकले निर्णय गर्नुपर्ने हो’ एमाले लुम्बिनीका एक सांसदले भने –‘गिरीमाथि पार्टीले ठूलो अपमान गरेको छ ।’ संसदीय दलको नेता गिरीलाई नै मुख्यमन्त्री बनाउने सहमती गरेर आईतबार नै हस्ताक्षर गरेको काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले बताए । ‘सहमती भइसकेको हो, मुख्यमन्त्री फेर्ने कुरा एमालेको कुरा भयो’ उनले भने ।

यता नेकपा एमालेका सांसद पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले पार्टी केन्द्रको निर्देशन अनुसार उपनेतालाई मुख्यमन्त्री बनाइएको बताए । ‘विधानमा उपनेतालाई मुख्यमन्त्री बन्न नपाउने प्रावधान छैन’ उनले भने ।

विष्णुसँगको बदलामा परेँ गिरी

लुम्बिनी प्रदेशको अधिवेशनमा पार्टी पोलिटब्यूरो सदस्य समेत रहेका लिला गिरीले विष्णु पौडेल पक्षका पाल्पाका राधाकृष्ण कंडेललाई अध्यक्षमा निर्वाचित गर्न भूमिका खेलेका थिए । त्यसअघि २०७९ को निर्वाचन लगत्तै बनेको सरकारमा पोखरेलले गिरीलाई नै मुख्यमन्त्री बनाउन सकरात्मक भूमिका खेलेँ । तर, प्रदेश अध्उक्षमा आफू पक्षका प्यूठानका हरिप्रसाद रिजाललाई गिरीले असहयोग गरेको नोटिश गरेका पोखरेलले मुख्यमन्त्रीमा ‘ह्याक’ गरेर बदला लिएको एमालेकै कार्यकर्ताहरु बताउँछन् ।

गिरीलाई मुख्यमन्त्री हुनबाट रोक्ने मुख्य काम महासचिव पोखरेलले नै गरेको भन्दै एमाले रुपन्देहीका नेताहरुले फेसबुकमै असन्तुष्टि पोखेका छन् । एमालेका युवा नेता देवराज पोखरेलले बिष्णु पौडेललाई फेसबुकमा मेन्सन गर्दै –‘तपाईसँग नाम जोडिएकै कारणले लुम्बिनीमा संसदीय दलका नेतालाई ‘स्याक’ गरियो । आफुसँग नाम जोडिएका कार्यकर्ताहरु कत्लेआम हुँदा, कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो ? भन्दै प्रश्न गरेका छन्  ।

उनले महासचिवलाई लक्षित गर्दै गुटका नाममा लिला गिरीलाई स्याक पारिएको तर्क गरेका छन् । गिरीलाई मुख्यमन्त्री हुनबाट रोकेको भन्दै एमाले महासचिव विरुद्ध लुम्बिनीमा नेताहरुले नै विरोध गरेका छन् । मुख्यमन्त्री नियुक्तिले लुम्बिनीको एमालेमा ब्यापक असन्तुष्टि बढ्को छ । पौडेलसँगको बदला लिदा लिला गिरी अन्तिममा आएर मुख्यमन्त्री हुनबाट रोकिएको सहजै बुझ्न सकिन्छ । उसो त लुम्बिनी प्रदेशमा एमालेभित्रको राजनीतिक उतारचढावमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल जोडेर हेर्ने गरिएको छ । यी दुई शिर्ष नेताको भेगिय स्वार्थको लडाईँ कार्यकर्ता तहसम्म आइपुगेको छ ।

प्रदेशको राजधानी बुटवल र दाङ भन्ने बिषयमा पनि उतिकै लडाईँ रह्यो । यहि लडाईका विच मुख्यमन्त्री रहेका बेला शंकर पोखरेले २०७७ साल असोज २० गते केन्द्रीय निर्देशनको नाममा अस्थायी मुकाम बुटवलबाट दाङको देउखुली उपत्यकालाई स्थायी राजधानी तोक्ने निर्णय गरेँ । यो निर्णय हुने बेला पौडेल अर्थमन्त्री थिएँ । अहिले फेरी रुपन्देहीका प्रदेशसभा सदस्य लिला गिरी मुख्यमन्त्री हुने भनेर पक्कापक्की भएको बेला उपनेता चेतनारायण आचार्यले हात पारेका छन् ।

उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने काम शंरक पोखरेलले नै गरे । संयोग गिरीको मुख्यमन्त्री खोसिदा पनि पौडेल अर्थमन्त्री नै छन् । दुई नेताको नाममा मौलाएको गुटको शिकार इमान्दार र सादगी नेता लिला गिरी भएको कार्यकर्ताहरुको छ । महासचिवले फोन गरेर पार्टीमा हस्तक्षेप गरेको एमालेका कार्यकर्ताहरुको बुझाईँ छ ।

उतिखेर पनि राजधानी दाङ तोकिदा पौडेललाई अर्थमन्त्रीसँग साटेको आरोप लागेको थियो । यसपाली पनि अर्थमन्त्री भएकै बेला पौडेल निकट मानिएका गिरीको मुख्यमन्त्री अन्तिम समयमा खोसिएको हो । पोख्रेलले पौडेल सत्तामा भएको मौकामा बदला लिने गरेका छन् । बदलिएको राजनीतिक समिकरणसँगै प्रदेशको राजनीतिमा फेरी एक पटक तरंग पैदा भएको छ ।

संसदीय दलको नेतालाई चकित पार्दै पार्टी महासचिवको आर्शिवादले मुख्यमन्त्री बनेका चेतनारायण आचार्यका लागि मुख्यमन्त्री समाल्न चुनौतीपूर्ण नै छ । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्य पोखरेललाई अप्ठ्यारो बेलामा साथ दिदै आएकाले अहिले गुन तिरेको बताईन्छ । एमालेभित्र मुख्यमन्त्री नियुक्तिले सृजना गरेको विवादले लुम्बिनीमा पौडेल र पोखरेल गुट थप सशक्त हुने प्रष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्