Logo
Logo

प्रधानमन्त्रीलाई कसले पत्याउने ?


3.3k
Shares

समाज कतिसम्म नकारात्मक भइसक्यो भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा ‘मैले भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भनेर बोल्दा उनको भाषण विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हेरिरहेका श्रोताहरूले पूरै नकारात्मक टिप्पणी गरेबाट प्रस्ट हुन्छ ।

ओलीको हरेक प्रतिबद्धतामा सामाजिक सञ्जाल प्रयोगकर्ताले खिल्ली उडाए । अर्थात्, प्रधानमन्त्री ओलीले गरेको प्रतिबद्धताहरू उनले पूरा गर्लान् भन्ने विश्वास कसैलाई भएन । लोकतन्त्रमा प्रधानमन्त्रीप्रतिको विश्वास धरमराउनु भनेको लोकतन्त्र कमजोर हुनु पनि हो । जब लोकतन्त्र नै कमजोर हुँदै जान्छ, तब यस्ता बकम्फुसे प्रतिबद्धताको कुनै अर्थ हुँदैन ।

पाँचौँपटक प्रधानमन्त्री बनेका ओलीले देश र जनताका लागि के गरे भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जति पटक प्रधानमन्त्री भए पनि हावा गफ गर्दै हिँडेपछि प्रधानमन्त्री नै किन नहोस्, उसको कुरा कसले, किन पत्याउने भन्ने प्रश्न उठ्छ ।

प्रधानमन्त्री भनेको मूली हो, मूलीले भनेकै कुरा घरपरिवारले टेर्न छाडे भने त्यो घर कसरी सुध्रिन्छ ? अहिले नेपालमा राजनीतिको नाममा भइरहेको पनि यही नै हो । देश बनाउन सबैभन्दा पहिला आम नागरिकको विश्वास जित्नुपर्छ । विश्वासले नै जनताको मनोबल बढाउँछ ।

यहाँ त हरेक वर्ष फेरिने प्रधानमन्त्रीले ठूलाठूला भाषण गर्ने, काम भने सिन्को नभाँच्ने प्रवृत्तिले जनतामा निराशा बढेको छ । जनता आशावादी नहुँदासम्म कुनै पनि देश बनेको उदाहरण छैन ।

के लिक्वानले गफै मात्र गरेर सिंगापुर बनाएका हुन् ? के सी जिनपिङले क्रान्तिकारी भाषण गरेकैले चीनले समृद्धि हासिल गरेको होला ? के महाथिरले सुशासनप्रति प्रतिबद्धता जनाएकै कारण मलेसिया बनेको होला ? होइन, उनीहरूप्रति त्यहाँका जनताको विश्वासले ती मुलुकहरूले समृद्धि हासिल गरेका हुन् ।

चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गर्दा सोल्टी होटेलमा भनेको कुरा याद आयो– ‘माओले गरेको एउटा क्रान्तिले मात्र चीन यो ठाउँसम्म आइपुगेको होइन, चिनियाँ कम्युनिष्ट पार्टीप्रति चीनका जनताको आस्था र विश्वासका कारण चीनले आर्थिक समृद्धि हासिल गरेको हो ।’

प्रधानमन्त्री भनेको मूली हो, मूलीले भनेकै कुरा घरपरिवारले टेर्न छाडे भने त्यो घर कसरी सुध्रिन्छ ? अहिले नेपालमा राजनीतिको नाममा भइरहेको पनि यही नै हो । देश बनाउन सबैभन्दा पहिला आम नागरिकको विश्वास जित्नुपर्छ । विश्वासले नै जनताको मनोबल बढाउँछ ।

भन्न त, नेपालका कम्युनिष्ट नेताहरू राणा शासनको अन्त्यदेखि गणतन्त्रसम्म स्थापना गरेको दाबी गर्न पछाडि पर्दैनन् । तर, त्यत्रो क्रान्ति, आन्दोलन र बलिदानीबाट प्राप्त लोकतन्त्र र गणतन्त्रले नेपाली जनतालाई के दियो त ? हरेक क्रान्ति अथवा राजनीतिक परिवर्तनपछि विश्वका धेरै देशले आर्थिक समृद्धि हासिल गरेका छन् । तर, हामी क्रान्तिपछि पनि किन असफल छौँ, त्यतातिर हामीले आत्मसमीक्षा गर्नुपर्छ ।

कमजोरी आफैँभित्र छ । मुखले गिरिबन्धु टि–स्टेट जग्गा प्रकरणमा आफूले भ्रष्टाचार गरेको प्रमाण जुटाए जेल जान पनि तयार छु भन्ने, तर नीतिगत भ्रष्टाचार गर्ने सोचले न देश बन्छ न त आर्थिक समृद्धि नै । नियत ठिक भएको भए न त जग्गा सट्टापट्टा गर्न प्रधानमन्त्री ओली आफैँ अग्रसर हुन्थे, न त अहिले आएर टाउको दुखाउनु नै पर्थ्यो । प्रधानमन्त्रीले गिरिबन्धु प्रकरणमा सदनमा बोलिरहँदा आफू जतिसुकै चोखो छु भने पनि जनताले पत्याएनन् । सामाजिक सञ्जालबाट झटारो वर्षा भइरह्यो ।

किनभने, विगतमा ओलीले मुर्छित सपना बिउँझाउँदा जे–जे प्रतिबद्धता जाहेर गरेका थिए, त्यो कुनै पनि पूरा भएनन् । जसले गर्दा ओलीप्रति एमाले कार्यकर्ताहरूको विश्वास होला, आम जनताको विश्वास नभएकै कारण समाज नकारात्मक बन्दै गएको हो । गर्ने मान्छेले गर्छु भनेर ढोँग गर्दैन ।

‘एक्सन’मा आएर काम गर्छ भन्ने कुराको सानो उदाहरण पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन् । उनलाई गृहमन्त्रीबाट हटाएर प्रचण्डले गल्ती गरे । श्रेष्ठले गृह मन्त्रालय निरन्तर चलाएका भए अहिले ओलीले संरक्षण गरेका धेरै भ्रष्टाचारीहरू जेल पुगिसक्थे । त्यही डरले आधा रातमा सत्ता परिवर्तन भयो । ‘काले काले मिलेर खाम भाले’ भनेको यही हो ।

प्रतिक्रिया दिनुहोस्