Logo
Logo

रेजिनाको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक


378
Shares

काठमाडौं । पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासंग्रह ‘अस्तित्व’ काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच विमोचन गरिएको छ ।

कलमपोखरीको सिटी सेन्टरस्थित फुड कोर्ट (टीटीएफसी)मा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यिक अन्वेषक जयदेव भट्टराई, साहित्यकार तथा पत्रकार मणि लोहनी र कथाकार रेजिनाले संयुक्तरुपमा ‘अस्तित्व’को विमोचन गरेका थिए ।

कृति विमोचन गर्दै वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले समाजमा लुकेको पाटो तथा महिलाले भोगेका पीडा जस्ताको तस्तै उतार्न कथाकार सफल भएको बताए ।

यस्तै, साहित्यकार तथा पत्रकार मणि लोहनीले पत्रकार पाण्डेमा स्थापित कथाकार हुन सक्ने सम्भावना देखिएको विचार व्यक्त गरे भने पत्रकार एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदन र जयदेव भट्टराईले कथाकार रेजिनालाई सफलताको शुभकामना दिए ।

दृष्टि साप्ताहिकले आयोजना गरेको विमोचन कार्यक्रममा कथाकार पाण्डेले आफूले विराट सिर्जना गर्न नसकेपनि समाजका यथार्थ पात्रलाई कथामा उभ्याएको बताइन् । लेखिका पाण्डेको संग्रहका हरेक कथामा महिला पात्र छन्, जो हेपिएका तथा दमन र पीडामा परेका छन् । तिनका दमित इच्छा, सपना र चाहना, असहजता र दुर्दशामय भोगाइ पनि कथामा व्यक्त भएका छन् ।

महिला–पुरुष सम्बन्धलगायत प्रेम, नारी मनका भाव, पुरुष मनोविज्ञान, पुरुषभित्रको रिक्तता र महिलाको बाध्यता चित्रण गरिएका १७ कथा कृतिमा संग्रहीत छन् ।

प्रतिक्रिया दिनुहोस्