Logo
Logo
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री सोडारीले पुरानै अवस्थामा फर्काए मन्त्रालय


819
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पुरानै अवस्थामा मन्त्रालय कायम गरेका छन् । सत्ता नजोगिने देखिएपछि मन्त्रालय फुटाएको एक महिनामै संख्या पुरानै कायम गरेका हुन् । केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरण भएपछि सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।

एमालेको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ७ मन्त्रालयमा १० मन्त्री भएपछि उनले असार १६ गते मन्त्रालयहरू विभाजन गरेर मन्त्रीहरुको जिम्मेवारी तोकेका थिए ।

मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरेर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको थियो । जसअन्तर्गत जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी अक्कलबहादुर रावललाई दिइएको थियो ।

यस्तै, सामाजिक विकास मन्त्रालय विभाजन गरेर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको थियो । शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लक्ष्मी विकलाई दिइएको थियो । स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी ओमविक्रम भाटलाई तोकिएको थियो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई विभाजन गरेर वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

यस्तै, वन, वातावरण तथा सहकारी मन्त्रालयमा एमालेका वीरबहादुर थापा, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयमा एकीकृत समाजवादीकी माया पन्तलाई जिम्मेवारी दिइएको थियो । कृषि तथा भूमि मन्त्रालयका टिका थापा थिइन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी एमालेका हिरा सार्कीले पाएका थिए । भागबन्डा मिलाएर सत्ता जोगाउन ७ वटा मन्त्रालयलाई १० वटा बनाएका सोडारीले पुन साबिककै मन्त्रालय बनाएर मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्