Logo
Logo

पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने कुरा उठेको छैन : अग्नि सापकोटा


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने कुरा नउठेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बाहिर यस प्रकारको बहस उठाउने प्रयास भएपनि पार्टीभित्र सबै नेतृत्वको विकल्प नभएकोमा एकमत रहेको स्पष्ट पारे ।

आजको छलफलमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए । उनीहरूले वर्तमान परिस्थिति र पार्टी निर्माणको एजेन्डामा केन्द्रित भएर धारणा राखेको सापकोटाको भनाई छ ।

प्रवक्ता सापकोटाले भने, ‘बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले मनमा लागेका वैचारिक, राजनीतिक र सैद्धान्तिक सबै कुरा खुला रूपमा राख्नुहोस् भनेर भन्नुभयो । त्यसैले सबैले गुणात्मक ढंगले फरक र विस्तृत रूपमा कुराहरू राख्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक स्थितिको प्रभाव, पार्टी निर्माण लगायत धेरै कुराहरू आएको छ ।’

उनका आजको छलफलमा आगामी दिनमा संघर्षका रूपहरू कस्ता हुन्छन्, सडक र सदनलाई कसरी जोड्ने र कसरी प्रभावकारी बनाउने, जनपरिचालनको रूपहरू कस्तो हुने लगायतका विषय उठेका छन् ।

उनले भने, ‘१६ देखि २५ वर्ष उमेरको जनसंख्या ६१ लाख छ । त्यो जनसंख्यालाई जनयुद्ध र गणतन्त्रात्मक आन्दोलनबारे कम जानकारी छ । अहिले विज्ञान प्रविधिको पनि विकास भएको छ । यसलाई मध्यनजर राखेर पार्टी निर्माणमा लाग्ने विषय उठेका छन् ।’
पदाधिकारी बैठकपछि पार्टीको स्थायी समितिको बैठक बस्ने र त्यसले विस्तृत रूपमा खाका तयार पार्ने उनले जानकारी दिए । त्यसपछि केन्द्रीय समितिले दुवै कमिटीको बहसलाई संश्लेषण गरेर नयाँ योजना तयार गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्