काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक राजेशपायल राई कन्सर्ट र गीत रेकर्डिङमा मात्र नभई सामाजिक कार्य र उद्घाटन कार्यक्रमहरुमा पनि उत्तिकै व्यस्त व्यस्त छन् ।
नेपाली सांगीतिक क्षेत्रकै सर्वाधिक व्यस्त गायकका रुपमा चिनिएका राजेशपायल राई म्युजिकल वल्ड टुरका क्रममा क्यानडाबाट फर्कनेवित्तिकै एक रेष्टुरेण्टको उद्घाटन गरेका छन् ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलले आज (मंगलबार) साँझ ६ बजे काठमाडौं बसन्तपुरको झोंछेस्थित ‘भक्तवा रेष्टुरेण्ट’को उद्घाटन गरेका हुन् । ‘हक्तवा’ अर्थात लिम्बू भाषामा कोशेली रेष्टुरेण्टलाई गायक राजेशपायलको प्रिय मित्रद्वय मनिष आङ्बो र विश्व बागटीले सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेण्टको उद्घाटन गर्दै गायक राजेशपायलले मनिष र विश्वलाई बधाई दिँदै व्यवसायी सफलताको शुभकामना दिए । उक्त रेष्टुरेण्टमा नेपाली र नेवारीलगायतका टिपिकल खाना तथा खाजा उपलब्ध हुने सञ्चालकद्वय मनिष र विश्वले जानकारी दिए । उनीहरुका अनुसार भक्तवा रेष्टुरेण्टमा टिपिकल नेवारी परिकार तथा किराती खाना र लोकल रक्सीसमेत उपलब्ध हुनेछ ।
उद्घाटन कार्यक्रममा राजेशपायलका आलवा चर्चित युवा गायक जगत राना मगर, निर्देशक किरण चाम्लिङ, संगीतकार रमेश थारालगायतको उपस्थिति रहेको थियो ।
नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल अहिले पनि म्युजिक वल्ड टुरमा छन् । हङकङ, दुवई, लण्डन हुँदै क्यानडामा सांगीतिक कार्यक्रम गरेर केही दिनका लागि नेपाल आएका बेला उनले रेष्टुरेण्ट उद्घाटन गर्न भ्याएका हुन् । उनी केही समयपछि सांगीतिक कार्यक्रमका लागि युरोप जाँदैछन् ।