Logo
Logo

‘अस्तित्व’का कथाभित्र दबिएका नारी मन


2.7k
Shares

एउटी नारी के चाहन्छिन्– प्रेम वा सम्मान ? अनि अस्तित्वका लागि नारी कतिसम्म संघर्ष गर्छिन् ? फ्याट्टै भन्न नसकिएला । तर, यति चाहिँ पक्कै हो, ‘नारीलाई प्रेम र सम्मान दुवै चाहिन्छ । तबमात्र आफ्नो अस्तित्वप्रतिको कदर भएको ठान्छिन ।’ यस्तै, नारीभाव उद्देलित कथासंग्रह हो– अस्तित्व ।

कला पत्रकार रेजिना पाण्डे लिखित कथासंग्रह ‘अस्तित्व’ यसै साता सार्वजनिक भएको छ । कथासंग्रहको शीर्षक जे छ, कथाहरू पढ्दै जाँदा त्यही पाइन्छ । अर्थात, ‘अस्तित्व’का कथाहरूमा महिलाको पीडा, वेदना र कुन्ठा बोलेका छन् । उनीहरू यो पुरुषप्रधान समाजमा अस्तित्वका लागि संघर्ष गरिरहेका छन् । तैपनि, यहाँ कतपय नारी आवाजहरू दबिएका छन् वा दवाइएका छन् ।

दृष्टि साप्ताहिकमा ‘जम्काभेट’ स्तम्भमार्फत नारीका विचार, सोच र उद्देलित भावनाहरूलाई जनसमक्ष उजागर गर्दै आएकी रेजिना कथासंग्रह ‘अस्तित्व’मार्फत एक लेखकका रुपमा उदाएकी छन् । रेजिनाको कथासंग्रहभित्र विभिन्न शीर्षकका १७ वटा कथा छन् । ती कथाहरूमा महिलाले बाँच्ने क्रममा भोग्ने प्रेम, विवाह र वियोगजस्ता जीवनका अनेक कष्टहरू पढ्न सकिन्छ ।

‘अस्तित्व’मा समावेश कथाका अंशहरू पढ्दा र हेर्दा लाग्छ, ‘रेजिना अक्षरमा आफ्नो भावना पोख्छिन् र समाजमा नारीप्रतिको दृष्टिकोण परिवर्तन गर्न चाहान्छिन् ।’

संग्रहमा समावेश अधिकांश कथामा नारीपात्र वहकाइएको छ । पात्र वहकिएपनि संघर्षबाट भाग्न नचाहने साहसिक र आफूलाई गर्भिलाका साथ उभ्याइएको छ । त्यसैले रेजिनालाई नजिकबाट चिन्ने र नियाल्नेहरूलाई लाग्न सक्छ, ‘कथामा रेजिना सयंम वहिकिएकी छन् ।’ तर, आम पाठकलाई लाग्न सक्छ, ‘यो समाजमा बाँच्नका लागि अस्तित्व खोजिरहेका आमनारीको कथा हो यो ।’

कथाहरू छोटा–छोटा छन् । हरेक कथामा समाजमा महिलाले भोगिरहेका र भोग्दै आएका यथार्थ कणहरू प्रष्टसँग झन्किन्छ । जस्तै, कथासंग्रहको पृष्ठ ३५ मा ‘अस्तित्व’ शीर्षकको कथा छ । जुन कथाबाटै यो संग्रहको न्वारन गरिएको छ । जसमा एउटी नारीले समाजमा अस्तित्व गुमाएपछि उसको जीवनमा के–कस्ता कठिनाइहरू आए र भोग्नुपर्छ भन्ने दर्साइएको छ । यो एउटा उदाहरण मात्र हो ।

भाषाशैली सरल छ । लेखकले पत्रकारिताको भाषा प्रयोग गरेकी छन् । ‘अस्तित्व’का पानाहरू पल्टाउँदै जाँदा उपन्यासको आभाष हुन्छ । कथाहरूमा संवादलाई प्राथमिकता दिइएको छ । जसले यो कथासंग्रहले पाठकलाई उपन्यासको तृष्णासमेत मेटाउने छ ।

संवादहरूमा सौन्दर्य, प्रेम, विवाह र यौंनका विषयलाई खुल्लारुपमा लिइएको छ । जसलाई लेखक रेजिनाको साहसका रुपमा लिन सकिन्छ । ‘अस्तित्व’ कथासंग्रहको भूमिकामा साहित्यकार मणि लोहनीले भने जस्तै यो ‘प्रेम अभाव र पुरुष मनोविज्ञानका कथाहरू’ हुन् ।

साहित्यकार लोहनीले लेखेका छन्, ‘स्थिति वा स्वभाव कुनैबेला सम्बन्धजस्तो देखिन सक्छ, तर प्रेम आफैंमा कुनै सम्बन्ध होइन । प्रेम र सम्बन्धलाई एकै स्थानमा राखेर बुझ्नु गलत हुन्छ । एकअर्का बीचको सम्मानलाई जोगाउन नसकेर अक्सर सम्बन्धहरू टुट्छन् । र त्यही टुटेको सम्बन्धलाई हामी प्रेम बुझिरहेका छौं । प्रेम सम्बन्धभन्दा माथि हुन्छ । जब हामी प्रेमलाई सम्बन्धमा सीमित राख्न खोज्छौं, त्यहींबाट सुरु हुन्छ– ‘प्रेममा पराजित हुने सिलसिला ।’

रेजिनाका कथाहरूमा प्रेमसँग जोडिएका धेरै घटना–परिघटनाहरू छन् र बिग्रिएका छन् । मानिसको सर्वोत्तम सीप वा क्षमता भनेकै प्रेम गर्न सक्नु र सबैभन्दा ठूलो उपलब्धि प्रेम पाउन सक्नु हो ।

साहित्यकार लोहनीकै शब्द सापटी लिने हो भने, ‘पुरुषहरू अक्सर महिलालाई ज्यादा प्रशंसा गरिदिन्छन् । उनीहरूको अनुहार, कपाल र शरीरका अंगमा अल्मलिन्छन् । प्रशंशा त्यसैको वरिपरि मात्र गरिदिन्छन् । अक्सर पुरुषहरू के कुरा बिर्सन्छन् भने पछिल्लो समय महिलाहरू हरेक सन्दर्भमा क्षमतावान हुँदै अघि बढिरहेका छन् ।’ यस्तै, रेजिनाका अधिकांश कथाले पुरुषले स्वीकार्न नसकेको यही सत्यलाई उजागर गरेको छ ।

सामान्यतया महिलालाई पुरातन सोचबाट बुझ्ने समाजमा बसेर रेजिनाले महिलाहरू शरीरमात्र होइनन्, भन्ने विषयमा स्पष्ट वकालत गरेकी छन् । उनका कथाहरू सम्बन्धमा आएको तिक्तताले भरिएका छन् । प्रेमको अभाव र बासनाका हतारोले भरिएका छन् । र, नरुचाइएका सम्बन्ध र त्यसले दिने चोटहरूले भरिएका छन् ।

रेजिनाका कथाजस्तै अहिलेको समाज र त्यसभित्र रहेका यौन र बासनाहरूले भरिएका छन् । रेजिनाले मानिसको यही चोटयुक्त यात्रा र यसक्रममा निस्किएका ‘आहट’हरूलाई शब्दमा उतारेकी छन् ।

पछिल्लो समय हाम्रो समाज विवाहेत्तर सम्बन्धमा रमाइरहेछ । प्रेमी, पति र साथी होइन, त्योभन्दा पर खुसी हुन खोजिरहेछ । यो समय मानिसलाई प्रेम होइन, तत्कालको तृप्ती चाहिएको छ । खुशी होइन, तत्कालको न्यानो चाहिएको छ । कथा संग्रह यिनै विषय वस्तुमा घुमेको छ ।

धेरैसँग कहींकतै नामहीन सम्बन्धहरू छन् । प्रेमलाई सम्बन्धका रूपमा लिएकै कारण अक्सर मानिसहरू खुसी हुन सकिरहेका छैनौं । प्रेममा सम्बन्ध भित्र्याउनु गलत हो । तर सम्बन्धमा प्रेम मिसाउनु कला हो । जीवन जिउने कला । र यही कला बुझ्न नसकेर धेरै सम्बन्धहरू टुटिरहेका छन् ।

त्यसो त यो समाजमा प्रेम अभावकै कारण कति घर र सम्बन्धहरूमा मानिसले अस्तित्व गुमाएका छन् । कतिपय जोडीहरू रातभर एउटै ओछ्यानमा सुतेर पनि टाढा–टाढा छन् । यस्तै, अस्तित्व हराएका र अस्तित्वका लागि संघर्षरत दविएका नारीका इच्छाहरूको तस्विर हो– ‘अस्तित्व’ कथासंग्रह ।

प्रतिक्रिया दिनुहोस्