काठमाडौं । उनी सधैं हाँसीखुसी छिन् । व्यापार होस् वा नहोस्, आफ्नो घर वा पसलमा जोकोहीलाई सोधी–सोधी खाजा खुवाउँछिन् । ‘ढाका कपडा तथा पहिरन देश–विदेशसम्म बजारीकरण गरेकै छु’ उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बू भन्छिन्, ‘व्यापार भनेको समयअनुसार धेरै–थोरै भइरहन्छ ।’
यस्तै, उत्साह, जोश र जागरले नै कल्पना सफल उद्यमी बन्न सफल भएकी हुन् । ‘द हाईल्याण्ड आर्ट एण्ड फेसन ट्रेनिङ’की सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी कल्पनाले तयार गरेको ढाका पहिरन संसारभर पुग्ने गरेको छ । ‘जहाँ नेपाली, त्यहाँ कल्पना ढाका बुटिकको पहिरन’ भन्ने द हाइल्याण्ड आर्टको नारा नै छ ।
समय अनुसारका पहिरन तयार पार्नु कल्पना ढाका बुटिकको विशेषता हो । ढाका कपडाबाट विशेषतः कल्चरल पहिरनहरु तयार हुने गर्दछ । तर, कल्पनाले ग्राहकको मागअनुसार सबै प्रकारका पहिरनहरु उत्पादन तथा सिर्जना गर्दै आएको छ । त्यसमा सिजनल पहिरनहरु त छँदैछ ।
जस्तै, तीज, दशैँ, तिहार जस्ता चाड पर्वमा डिजाइनिङ पहिरनले हिजोआज विशेषता बोक्न थालेको छ । सारी, कुर्ता, लेहेँगा, मेख्ली, गाउन जस्ता पाटी वेयरहरु सदावहार मानिएपनि चाडपर्वमा बढी अर्डर आउने गरेको कल्पना बताउँछिन् ।
अहिले नेपाली नारीको विशेष पर्व तीज नजिकिँदैछ । यससँगै तीज विशेष सारी, मेख्ली, गाउन लगायतका पहिरनहरु धमाधम अर्डर आइरहेको कल्पना बताउँछिन् । तीजको अवसरमा कल्पना ढाका बुटिकले छुटको व्यवस्थासमेत गरेको छ ।
महिला ग्राहक वर्गका लागि १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कल्पनाले बताइन् । उनले भनिन्, ‘यो छुट तीजका दिनसम्मलाई हो । त्यसो त अरुबेला पनि छुट दिँदै आएकी छु । यो तीजलाई भने विशेष छुटको व्यवस्था गरेकी हुँ ।’
चुच्चेपाटीमा शोरुम
कल्पनाको चाबहिलस्थित चुच्चेपाटीमा ‘आमा कल्पना ढाका बुटिक’ छ । यसअघि यो शोरुम बौद्धमा थियो । ग्राहकको मागअनुसार चुच्चेपाटीमा शोरुम ल्याएको कल्पना बताउँछिन् ।
आमा कल्पना ढाका बुटिकमा परम्परागत दौरा सुरूवालदेखि आधुनिक डिजाइनका कपडा पाइन्छन् । कल्पनाले नेतादेखि फिल्मका अभिनेतासम्मका लागि ढाकाका पहिरन डिजाइन गर्दै आएकी छन् । आमा कल्पना ढाका बुटिकमा तयार गरिएको पहिरन देशभित्र मात्र नभएर विदेशमा पनि उत्तिकै माग आइरहेको हुन्छ ।
ढाकाको सुरुवात
कल्पना योङहाङले विसं २०६४ सालतिर साना तथा घरेलु उद्योगअन्तर्गत ‘द हाइल्यान्ड आर्ट’ नामको कम्पनी दर्ता गरेपछि औपचारिकरुपमा ढाका व्यवसायी सुरु गरेकी हुन् । त्यही बेला कल्पनाले सिटिइभिटीमा ‘टेक्सटायल’ सम्बन्धी अध्ययनसमेत गरिन् ।
पूर्वी नेपालको पाँचथर थर्पुमा जन्मिएकी कल्पना कसरी ढाका उद्यमी बनिन् ? भन्ने धेरैको प्रश्न छ । तर, उनी यहाँसम्म आइपुग्नका लागि अहोरात्र संघर्ष र मिहिनेत गरेकी छन् । मिहिनेत, संघर्ष र धैर्यताले सफलता मिल्छ भन्ने उनी एक उदाहरण हुन् ।
कल्पनाको संघर्ष
२०४४÷४५ सालतिर मोरङ झरेपछि कल्पनाको संघर्षका दिन सुरु भएको हो । त्यो बेला मोरङमा सानोतिनो व्यवसाय गरिन् । तर, सानोतिनो कमाइले धान्न गाह्रो भएपछि २०५० सालमा काठमाडौं आइन् । कल्पनाको बाल्यकाल सुखसयलमै बितेको थियो । तर, कलिलै उमेरमा अभिभावकत्व भूमिका खेल्न सहज थिएन । अहिले आफूले हासिल गरेको सफलतालाई इंगित गर्दै कल्पना भन्छिन्, ‘तैपनि मैले कहिल्यै हिम्मत हारिनँ । जसले गर्दा आज यहाँ छु ।’
काठमाडौं आएपछि कल्पनाले के पो गरिन् ? सुरुमा खासाबाट सामान ल्याएर व्यापारसमेत गरिन् । फर्निचर खोलिन् । पाकिस्तानबाट छालाको ज्याकेट ल्याएर बेचिन् । हुँदाहुँदै उनी ढाका व्यवसायीतिर लागिन् ।
ढाका व्यवसायी नै किन ?
त्यसो त अरु व्यापार गरेर पनि उनी जीवन चलाउन सक्थिन् । तर, ढाका नै रोजिन् । कल्पना भन्छिन्, ‘जीविका चलाउन पुगेपनि मलाई बेग्लै काम गर्ने मन थियो । आफ्नै समुदायमा भएको कुनै चिजमा काम गर्ने सोच आयो । हामी लिम्बूहरूको परम्परागत पेसा ढाका हो । त्यसैले यसैमा काम गर्ने निधो गरेँ ।’
उनका अनुसार पहिले प्रायः सबैजसो लिम्बूका घरमा तान हुन्थ्यो । उनको घरमा पनि थियो । कल्पनाले तान बुन्न घर हुँदै सिकेकी हुन् । तर, सिप भएर पनि लगानी गर्ने पैसा थिएन । उनी भन्छिन्, ‘तर म पछि हटिनँ । इच्छा भए उपाय कति कति । सहकारीबाट १५ हजार रूपैयाँ ऋण झिकेर कम्पनी दर्ता गरेँ । ढाकामा मेरो सुरुवाती लगानी नै यति हो ।’
कल्पनाले सुरुमा जोरपाटीमा ढाका कपडा बुन्ने कारखाना खोलिन् । कारखानामा एउटा तान थियो, जहाँ उनी आफैं कपडा बुन्थिन् । कपडा त बुनियो, कसरी, कहाँ लगेर बेच्ने ? व्यापार गर्न बजार चिन्नुपर्छ । उनलाई त्यो काम निकै कठिन भयो । भोकतिर्खा नभनी खटिन् । कतै कार्यक्रम वा प्रदर्शनी भए आफूले बुनेका कपडा लगेर राख्न थालिन् । बेच्न राख्दैमा कसले किन्थ्यो र ? उनी धेरैपटक निराश भएर घर फर्केकी छन् ।
विस्तारै बजार चिन्दै गइन ्। फेसन शोहरूमा आफ्ना कपडा देखाउन थालिन् । हालसम्म कल्पनाले बुटवल, धनगढी, पोखरा, काठमाडौं, भक्तपुरलगायत दर्जनौँ स्थानमा फेसन शो गरिसेकी छन् । जसले गर्दा कल्पना ढाका बुटिकको एउटा बेग्लै ब्राण्डिङ बनेको छ ।
त्यही ब्राण्डिङका कारण अहिले कल्पना ढाका बुटिकमा देश विदेशबाट माग आइरहेको हुन्छ । ढाका पहिरन प्रवद्र्धनकै लागि कल्पना क्यानडा, जापान, अमेरिकालगायत धेरै एसियाली र युरोपेली देशहरुमा पुगिसकेकी छन् ।
जोरपाटीको कुनामा एउटा तानबाट सुरू भएको द हाइल्याण्ड आर्ट अन्तर्गत कल्पना ढाका बुटिक करोडौंको उद्योग बनेको छ । अहिले कारखाना गोकर्णमा छ । त्यहाँ करिब एक सय तान छन् । जहाँ दर्जनौँलाई रोजगारी दिएकी छन् । कल्प्ना तान बुन्ने तालिम पनि दिन्छिन् । हालसम्म पाँच हजारभन्दा बढीलाई द हाईल्याण्ड आर्टले ढाका बुन्ने तालिम दिइसकेको छ ।
युवाको रोजाइ ढाका
पछिल्लो समय ढाका पहिरन युवा पुस्ताको रोजाइ बन्न पुगेको छ । यसको श्रेय पनि कल्पना योङहाङ नै हुन् । विशेषगरी, ढाकाको सारी, लेहेंगा–चोली, वानपिस, कोट, साडीदेखि जुत्ता चप्पलसम्ममा कल्पना ढाका बुटिकमा तयार हुन्छ । बुटिकमा पाँच सयदेखि ५० हजार रूपैयाँसम्म पर्ने ढाकाका पहिरन पाइन्छ । त्यो पनि डिजाइन अनुसार हुने कल्पना बताउँछिन् ।