‘मेकअप आर्टिस्ट’ एउटा कला हो । जुन कलामार्फत आत्मनिर्भर हुनेक्रम बढेको छ । सौन्दर्य व्यवसायीभित्र पर्ने ‘मेकअप आर्टिस्ट’ धेरैको रुचीको विषयसमेत बनेको छ । रुचीकै कारण ‘मेकअप आर्टिस्ट’ बनेकी मञ्जु कार्की पाण्डे अहिले यसैमा आत्मनिर्भर छिन् । डेढ दशकदेखि यो क्षेत्रमा सक्रिय उनी गन्य ‘मेकअप आर्टिस्ट’मा पर्छिन् ।
झापाकी मञ्जु काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छन् । ब्युटी प्याजेन्ट हुँदै ‘मेकअप आर्टिस्ट’ बनेकी मञ्जु हाल विभिन्न इन्स्टिच्युट, प्याजेन्ट कम्पनीलगायत शैक्षिक सघंसस्था र बिजनेश हाउसहरुमा ‘पर्सनालिटी डेभलपमेन्ट’, ‘कर्पोरेट ग्रुमिङ’का साथै ‘मेकअप आर्टिस्ट’को कोर्ष गराउँदै आएकी छन् । सामाजिक सेवामा समेत सक्रिय ‘मेकअप आर्टिस्ट’ मञ्जु कार्कीसँग रेजिना पाण्डेको जम्काभेट :
यो ‘मेकअप आर्टिस्ट’ भनेकोचाहिँ के हो ?
यो एउटा अनुहारमा गरिने कला हो, जसले मेकअप कसरी गर्ने गराउने भन्ने कलालाई राम्रोसँग प्रस्तुत गर्नसक्छ । र, मेकअप आर्टिस्टलाई त्यसबारे थाहा पनि हुन्छ ।
तपाइँ यो क्षेत्रमा कसरी आउनुभयो ?
‘मैले मेकअप आर्टिस्टको शुरुवात ब्यूटि पेजेन्टबाट गरेको हुँ । म मेकअप आर्टिस्ट बन्न र यहाँसम्म आइपुग्नुमा ब्यूटि पेजेन्टले धेरै मद्दत गरेको छ ।
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
यहि आफ्नै काममा व्यस्त छु । कहिले ब्यूटि पेजेन्टहरुको जर्ज बस्ने त छँदैछ । साथै, विभिन्न कलेज र प्रतिष्ठानहरुमा साथै कार्यक्रमहरुमा मेकअपसम्बन्धी प्रशिक्षण पनि दिँदै आएकी छु ।
‘मेकअप आर्टिस्ट’ बन्ने रहर कसरी जाग्यो ?
म सानैदेखि अलिक चञ्चले स्वभावकी थिएँ । पढदै जाँदा विभिन्न ब्यूटि पेजेन्टतिर सहभागी हुन थालेँ । व्यूटि पेजेन्टहरुमा भाग लिइरहँदा मलाई पनि यो क्षेत्रमा रहर लाग्न थाल्यो । २०१५ तिर मेकअप आर्टिस्टको एकदमै राम्रो चाम थियो । त्यसैले मैले आइटिसी टे«निङ सेन्टरमा वेशिक कोर्ष गरेपछि ‘मेकअप आर्टिस्ट’तिर लागेकी हुँ ।
‘मेकअप आर्टिस्ट’को अन्तर्राष्ट्रिय प्रशिक्षण लिने अवसर कसरी पाउनुभयो ?
‘मेकअप आर्टिस्ट’को काम गर्दै जाँदा त्यो समयमा मलाई राम्रो अवसरहरु आएको थियो । मेकअप आर्टिस्टसम्बन्धी मैले बैंककमा आयोजित व्युटी कन्फ्रेन्समा पनि सहभागी हुने मौका पाएँ । त्यहाँबाट मैले अन्तर्राष्ट्रियरुपमा मेकअपसम्बन्धी ज्ञान हासिल गर्ने मौका पाएकी थिएँ । जसले मलाई यो क्षेत्रमा काम गर्ने थप उर्जा मिल्यो ।
तपाइँले ‘मेकअप’सम्बन्धी प्रशिक्षण दिन थाल्नुभएको कति भयो ?
६ बर्ष भयो । अहिले वेसिक, स्पेशल र एडभान्स कोर्षहरु सिकाउँछु । साथै, ब्राइडल र नर्मल क्याजुअल मेकअपहरुको पनि प्रशिक्षण दिन्छु ।
हिजोआज ‘मेकअप आर्टिस्ट’को अवस्था कस्तो छ ?
राम्रो छ । यहि मेकअप आर्टिस्टको कामले धेरैले रोजगारी पनि पाएका छन् । सयौँ महिलाहरु आत्मनिर्भर बनेका छन् । आजको दुनियाँ फेसनको दुनिँया हो, जो–कोही राम्रो र सुन्दर देखिन चाहन्छन् । साथै, पछिल्लो समय अधिकांश महिला मेकअपबारे ज्ञान लिन चाहन्छन् । जसले गर्दा पनि मेकअप आर्टिस्टहरुलाई रोजगार मिलेको छ ।
तपाइँले ब्यूटि पेजेन्टबाट अवार्ड पनि जित्नुभएको छ ?
मैले पहिलोपटक प्रतिस्पर्धा गरेको ‘मिसेज नेपाल ब्यूटि’मा ‘मिसेज टयालेन्ट’, ‘बेस्ट स्माईल’ तथा ‘मस्ट कफिडेन्स’ गरि तीन टाइटल अवार्ड जितेकी थिएँ । पछि थुप्रै ब्यूटी पेजेन्टमा पनि अवार्डहरु पाएको छु । त्यही जितले नै मलाई यहाँसम्म ल्याउन सहयोग गरेको हो ।
ब्यूटि पेजेन्टमा निर्णायकको भुमिका निर्वाह गर्दा कुन कुरालाई बढी ध्यान दिनुहुन्छ ?
प्रत्येक प्रतिस्पर्धीको आफ्नै रुपरंग, बनावट र सजावट हुन्छ । उनीहरु आफैँ सौन्दयताका खानी हुन्छन् । त्यसैले जर्जको कुर्सीमा बस्दा म उनीहरुको बाहिरी हेराइभन्दा भित्री आत्माविश्वासलाई बढी नियाल्ने कोशिस गर्छु । कुनैपनि प्रतियोगी बिजयी हुनका लागि ब्यूटि विथ बे्रन हुन आवश्यक छ ।
तपाइँ एक पेसाकर्मी हुनुहुन्छ । समाजसेवाप्रति रुची कसरी जाग्यो ?
स्कुल पढदाखेरी नै समाजिक सेवा गर्न थालेकी हुँ । विद्यालय जाँदा–आउँदा कुनै गरीब दुःखीलाई देखेँ भने माया लाग्थ्यो । उनीहरुलाई मेरो खाजा पैसा दिन्थेँ । त्यो कार्यले मलाई सन्तुष्टि मिल्थ्यो । अहिले पनि अटिजम भएका बालबालिकाका लागि आफुले सकेको सहयोग गरिरहेकी छु ।
समाजसेवाको नाममा चर्चा कमाउने सोच हो ?
मान्छेले राम्रो गरेपनि कुरा काट्छन् । गरेन भने पनि कुरा काट्छन् । अहिले समाजलाई जे गरेपनि चित्त बुझाउनै ग्राह्रो छ । हरेक मान्छेलाई आलोचना गर्ने बानी लागिसक्यो । काम गरेपछि कसैले प्रशंसा गर्छ भने त्यो चर्चा कसरी हुन्छ ? म त्यसलाई नराम्रो ठान्दिन ।
भविष्यको योजना के छ ?
जुन काम गरिरहेको छु, यहि कामलाई निरन्तरता दिने योजना छ । अझ धेरै सिक्ने प्रयास गरिरहेकी छु । यहि जानेको कामलाई अरुलाई पनि प्रशिक्षण दिने मेरो योजना त छँदैछ ।
अवसरको खोजीका रहेका महिलाहरुलाई के भन्न चाहनुहुन्छ ?
अवसर कसैले खोजी खोजी दिँदैन । बरु खुट्टा तान्ने काममात्र हुन्छ । त्यसैले अवसर आफैँले खोज्ने हो । आफुलाई जे काम गर्न मन लाग्छ, त्यहि गर्नुहोस् । कसैले केही भन्ना कि भनेर नडराउनुस् । यति चाहिँ होस्, तपाइँको कामले समाजलाई केही मिलोस् ।
फुर्सदमा के गर्न हुन्छ ?
आफ्नै कामहरुको बारेमा खोजी गरिरहन्छु । कसरी हुन्छ, अझ आफ्नो कामलाई निखार्ने प्रयास गर्छु । वाहीयातमा समय वर्वाद गर्दिन ।