Logo
Logo

राजेशपायल ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को सद्भावना दूत नियुक्त


18k
Shares

काठमाडौं । लोकप्रिय गायका राजेशपायल राई ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को सद्भावना दूत नियुक्त भएका छन् । मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राई, सल्लाहकार राई नविन लगायतका टिमले शनिबार अनामनगरस्थित सायरेम स्टुडियोमा एक कार्यक्रमबीच नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय एवं मेगास्टार राजेशपायललाई ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को सद्भावना दूतमा अनुबन्ध गरेको हो ।

यससँगै राजेशपायलले अब ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’ सफल बनाउनका लागि प्रचारप्रसार तथा प्रवद्र्धनका लागि काम गर्नेछन् । साथै, उनले गीतसंगीत तथा सोशल मिडियाबाट समेत ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को प्रचार गर्नेछन् ।

मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको अगुवाईमा मुन्दुम ट्रेलको प्रवद्र्धन र प्रचार हुँदै आएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत प्रत्यक्ष लगानीमा ट्रेल क्षेत्र मर्मत सुधार गर्ने कार्य भइरहेको बताउँदै केन्द्रका अध्यक्ष रमेशकुमार राईले पछिल्लो दिनमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दो रहेको बताए । दातृ निकाय स्वीस सरकारको एसडीसीको समेत लगानी रहेको उक्त केन्द्रले सन् २०२५ मा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’लाई सफल बनाउन जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला एवं कलाकारहरुसँग समेत अन्तरक्रिया र छलफल गर्दै आएको अध्यक्ष राईले बताए । सोही क्रममा लोकप्रिय गायक एवं राई इज किङका रुपमा चर्चित राजेशपायललाई ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को सद्भावना दूत नियुक्त गरिएको उनले बताए ।

‘राई इज किङ’का रुपमा चर्चित गायक राजेशपायललाई सद्भावना दूत नियुक्त गर्न पाउँदा खुसी लागेको बताउँदै उनले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’को प्रचारप्रसारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । राजेशपायलले पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्